सुरक्षा पोष्ट निर्माणका लागि ११ करोड बजेट

0
2125

दार्चुला, पुष ३ गते ।
सरकारले व्यासमा सुरक्षा पोष्ट निर्माणका लागि ११ करोड रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ । मंसिर २३ गतेको मन्त्रिपरिषद् बैठकले जमिन दर्ताको स्वीकृतिसंगै सुरक्षा पोष्टको भौतिक पूर्वाधार निर्माण गर्न ‘११ करोडसम्मको बजेट अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत उपलब्ध गराउन व्यवस्था मिलाउने’ निर्णय गरेको छ ।
सुरक्षा पोष्टका लागि १५ रोपनी सरकारी जमिन सशस्त्र प्रहरीको नाममा दर्ता गर्ने निर्णयसंगै बजेटको निर्णय पनि गरिएको छ । सशस्त्र प्रहरीको हेडक्वाटरले १४ करोड ६ लाख १४ हजार १ सय ७० रुपैयाँ सुरक्षा पोष्ट स्थापनाका लागि बजेट मागेको थियो । गृह सचिव प्रेमकुमार राइले भने ११ करोड बजेट व्यवस्थापनका लागि प्रस्ताव गरेका थिए ।
‘मन्त्रिपरिषद्ले ११ करोडसम्मको बजेट व्यवस्था गर्ने’ निर्णय गरेको छ । आवश्यकताअनुसार बजेट थपघट हुने सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका गुल्मपति डिएसपी डम्बरवहादुर विष्टले बताउनुभयो । ‘हामीलाई १ करोड बजेट त प्राप्त भइसकेको छ, निर्माण कार्य अगाडि बढेपछि आवश्यकताअनुसार बजेट प्राप्त भइहाल्छ’ गुल्मपति विष्टले भन्नुभयो ।
ठेक्का प्रक्रियामार्फत सुरक्षा पोष्टको भौतिक संरचना निर्माण गरिने उहाँले बताउनुभयो । ‘यसका लागि प्राविधिक तयारी थाल्छौ र माथिल्लो निकायबाट स्वीकृति लिन्छौ’ डिएसपी विष्टले भन्नुभयो । सशस्त्रको सुरक्षा पोष्टअन्तर्गत एक सयजनाको जनशक्तिका लागि आवाशीय भवन बनाउने प्रस्ताव छ । ब्यारेक भवन, खाद्यान्न भण्डार, घेरपर्खाल, सुरक्षा निगरानी पोष्ट, प्रवेशद्वार र प्रतिक्षालयको संरचना बनाइने छ । यसैगरी, जमिन संरक्षण, जेनरेटर खरिद, सौर्य प्रणाली जडानको कार्य पनि गरिने छ ।