सुदूरपश्चिमका १६ सिटमध्ये संघका ६ सिटमा माओवादीको दाबी

0
520

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी संसदीय निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ६ सिटमा दाबी गरेको छ । सुदूरपश्चिममा संघका १६ निर्वाचन क्षेत्र छ । जसमध्ये माओवादीले ६ सिटमा दाबी गरेको हो ।

अहिले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नकेपा (एकीकृत समाजवादी) सहितको सत्ता गठबन्धन छ । आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा सत्ता गठबन्धन मिलेर निर्वाचनमा जाने सहमति भइसकेको छ ।

संघ र प्रदेशमा देशभर सत्ता गठबन्धनका साझा उमेदवार हुनेछन् । आफूहरुले कम्तिमा पनि संघमा ६ र प्रदेशमा १३ सिटमा दाबी गर्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इञ्चार्ज खगराज भट्टले बताए ।

सत्ता गठबन्धनमा माओवादी दोस्रो ठूलो दल भएकाले पनि आफूहरुको दाबी स्वभाविक भएको भट्टको भनाइ छ । उनका अनुसार कञ्चनपुर–१, दार्चुला, अछाम, डोटी र कैलाली गरी माओवादीले संघका ६ सिटमा दाबी गर्नेछ । केन्द्रको सहमतिअनुसार केही सिटमा स्थान परिवर्तनसमेत हुने सम्भावना छ ।

नेता भट्टले भने, “एमालेसँग वाम एकता हुँदा हामीले पाएको सिट छाड्ने कुरा भएन । त्यसबाहेक अन्य कुरा केन्द्रीय नेतृत्वले टुङ्ग्याउला । गठबन्धन भनेपछि एक दलले चाहेर मात्रै हुँदैन । सबैलाई न्याय र सम्मानजनक उपस्थिति चाहिन्छ ।”

माओवादीले डोटी दाबी गरेमा त्यहाँ भने सकस हुने देखिन्छ । एकीकृत समाजवादीका प्रेम आले र कांग्रेस नेता वीरबहादुर बलायरको डोटी एकै क्षेत्र हो । माओवादी नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको समेत डोटीको सोही क्षेत्र भएकाले उनले संघमा दाबी गरे मिलाउन कठिन हुने देखिन्छ ।

मिलाउन समस्या देखिने अर्को क्षेत्र दार्चुला हो । दार्चुलामा माओवादीले संघ नछाड्ने संकेत देखाएको छ ।

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले पनि यसपटक प्रत्यक्षमा चासो देखाएका छन् । अन्य जिल्लाभन्दा दार्चुलामा माओवादीको उपस्थिती बलियो रहेको गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले देखाएको छ ।

माओवादीले दाबी नछाडे बडुको व्यवस्थापन कसरी गर्ने भन्ने हुनेछ । कांग्रेसभित्र बडू देउवाइतर समूहका नेता हुन् ।

बाह्रखरीबाट सभार