सुदुरपश्चिम ट्राफिक प्रमुख दार्चुलामा

2275

दार्चुला, मंंसिर १० गते ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक केदार रजौरे दार्चुला पुगेका छन् । सुदूरपश्चिम ट्राफिक प्रमुखको जिम्मेवारी सम्हालेपछि एसपी रजौरे पहिलो पटक सोमबार दार्चुला पुगेका हुन् ।
जिल्लास्तरको वस्तुस्थितिबारे जानकारी लिन र ट्राफिक सम्बन्धि सचेतना बढाउन आफु जिल्ला भ्रमणमा आएको उहाँले बताउनुभयो । सोमबार दिउसो ३ बजे दार्चुला सदरमुकाम पुग्नेवित्तिकै जिल्लास्थित यातायात व्यवसायी र गाडीचालकहरुसंग एसपी रजौरेले अन्तरक्रिया गरेका छन् ।
ट्राफिक क्षेत्रको अवस्था, आवश्यकता र समस्याबारे छलफल गरिएको छ । सुरक्षित यातायातका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा एसपी केदार रजौरेले जोड दिनुभएको छ ।
हालै सुदूरपश्चिमको डडेल्धुरा र दार्चुलामा भएको सडक दुर्घटनाले सबैलाई गम्भीर बनाएको उहाँले बताउनुभयो । दुर्घटना न्युनिकरणका लागि गाडीचालक सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने एसपी रजौरेको भनाई छ । नेपालमा हालै गरिएको एक अध्ययन अनुसार ७४ प्रतिशत दुर्घटनाको कारण चालकको लापरवाही देखिएको उहाँले बताउनुभयो । सुदूरपश्चिमका ७७ प्रतिशत सवारी दुर्घटना चालकको लापरवाहीका कारण भएको उहाँले तथ्यांक प्रस्तुत गर्नुभएको छ ।
एसपी रजौरे ३ महिनाअघि मात्रै सुदूरपश्चिम ट्राफिक प्रमुखको जिम्मेवारीमा आएका हुन् । सुदूरपश्चिममा ट्राफिक प्रहरीको जनशक्ति र पूर्वाधारको अभाव रहेको उहाँले बताउनुभयो । जनशक्ति र पूर्वाधार अभाव भए पनि नेपाल प्रहरीको समेत सहयोग लिएर प्रदेशभरी ट्राफिक व्यवस्थापन भइरहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !