सीमा सुरक्षामा सशस्त्र प्रहरीको संख्या र सक्रियता बढाइने

0
1086

दार्चुला, असार ३ गते ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सीमा सुरक्षामा सशस्त्र प्रहरीको संख्या र सक्रियता बढाइने बताएका छन् । पहिलो पटक नेपाली सेनाको हेलिकोप्टरमार्फत बुधवार दार्चुला भ्रमण पुगेका खनालले आफ्नो कार्यादेशअनुसार सीमा सुरक्षामा सशस्त्र प्रहरी खटिदैआएको बताउनुभयो ।
दार्चुला सदरमुकाम खलंगामा सशस्त्र प्रहरीको ५० नम्बर गुल्म हेडक्वाटरको भवन उद्घाटन गर्दै महानिरीक्षक खनालले यस्तो बताएका हुन् । सशस्त्र प्रहरीलाई सीमाक्षेत्रमा जनस्तरबाट राम्रो सहयोग प्राप्त भइरहेको उहाँले बताउनुभयो । स्थानीय जनता र सरोकारवालासंगको सहयोग र समन्वयमा सशस्त्र प्रहरीले थप सक्रियता जनाउने उहाँको भनाई छ ।
भवन उद्घाटन कार्यक्रममा महानिरीक्षक खनालले सीमाक्षेत्रका वासिन्दालाई सीमा सुरक्षामा ढुक्क हुन आग्रह गर्नुभएको छ । ‘आफ्नो म्याण्डेटअनुसार सशस्त्र प्रहरीले सीमाक्षेत्रमा सुरक्षा गर्छ, जनतालाई सुरक्षाको प्रत्याभूति गराउन संगठन सक्षम र क्रियासिल छ’ उहाँले भन्नुभयो ।
व्यासको छाङरुमा भवन लगायतका पूर्वाधार बनाउन लागिएको उहाँले जानकारी दिनुभयो । निकट भविष्यमै गुल्मको संरचना छाङरुमा राखिने महानिरीक्षक खनालले बताउनुभयो । छाङरुमा गुल्म राखिएपछि तिंकर र कौवाक्षेत्रमा विओपी थप्ने योजना छ । तिंकर चीनसंगको सीमा नजिक पर्दछ भने कौवाक्षेत्र अतिक्रमित नेपाली भूमि गुञ्जी र कालापानीको नजिक पर्दछ ।
सीमाक्षेत्रमा सशस्त्र प्रहरीको संख्या र सक्रियता बढाउन जिल्लास्तरमा गणको संरचना राख्न गृहकार्य भइरहेको छ । जिल्ला सदरमुकाममा गण, छाङरुमा गुल्म र आधा दर्जन स्थानमा विओपी स्थापनाको गृहकार्य भइरहेको दार्चुलाका एक सुरक्षा अधिकारीले बताउनुभयो ।
सशस्त्र प्रहरीका संगठन प्रमुखले व्यासको छाङरुमा एक महिनाअघि स्थापना गरिएको वर्डर आउट पोष्ट (विओपी)को पनि निरीक्षण भ्रमण गर्नुभएको छ । छाङरुबाट फर्किएपछि खलंगास्थित गुल्म हेडक्वाटर भवनको उद्घाटन गरिएको हो ।
व्यासको छाङरुमा स्थानीय जनता र सुरक्षाकर्मीका लागि अस्पताल निर्माणको पहल पनि भइरहेको छ । यसका लागि व्यास गाउँपालिकाको १ नम्बर वडा कार्यालयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग पहल भइरहेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पनि व्यासमा अस्पतालको आवश्यकता रहेको बताउनुभयो । अस्पताल सञ्चालनका लागि हामीले पनि समन्वय गर्छौ, डाक्टरलगायतको जनशक्ति हामी उपलब्ध गराउछौ’ उहाँले भन्नुभयो ।
खलंगास्थित सशस्त्र प्रहरीको गुल्ममा कार्यरत सुरक्षाकर्मीलाई सम्बोधन गर्दै महानिरीक्षक खनालले देश र जनताको सेवामा सक्रिय भइरहन निर्देशन दिनुभएको छ ।