सीमा विबादका कारण नेपाल–भारत सीमा क्षेत्रमा लाग्न थाले यस्ता प्रतिबन्ध

0
901
दार्चुला सदरमुकाम खलंगा र भारतीय बजार धार्चुला

दार्चुला । दार्चुलाको कालापानी क्षेत्रमा नेपाली नागरिकलाई जानबाट रोक्दै आएको भारतले पछिल्ला दिनमा आफ्नै नागरिकलाई पनि त्यहाँ जानबाट रोक्न थालेको छ ।

भारतको उत्तराखण्ड प्रदेशमा लकडाउनका कारण लगाइएका प्रतिबन्ध लगभग अन्त्य भइसकेको अवस्थामा सीमा क्षेत्रमा भने विभिन्न प्रकारका प्रतिबन्ध जारी राखिएको छ । जसअनुसार यतिबेला भारतीय प्रशासनले कालापानी क्षेत्रमा जान आफ्ना नागरिकलाई रोक लगाएको छ ।

नेपाल–भारत सीमा विवादका कारण कालापानी क्षेत्रमा भारतीयलाई जान भारतको स्थानीय प्रशासनले रोक लगाएको हो ।

महाकाली पारी भारतका हिन्दु धर्मावलम्बी लामो समयदेखि आफन्तको मृत्युपछि अस्थी विसर्जनका लागि महाकाली नदीमा जाने गरेका भए पनि केही साता यता भारतीय प्रशासनले कालापानी क्षेत्रमा प्रवेश नै नदिएका कारण कयौं भारतीयले महाकालीमा अस्थी बिसर्जन गर्नसमेत नपाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय अखबार दैनिक भास्करका अनुसार नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा दावी गर्दै नयाँ नक्सा जारी गरेपछि भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाबासीलाई कालापानी जान समस्या भएको हो । पछिल्लो समय भारतीय अर्धसैनिक बल, भारतीय सेनाका अतिरिक्त अरु कसैलाई पनि कालापानी क्षेत्रमा जान अनुमति नदिइएको पिथौरागढ जिल्लाको प्रशासनले जनाएको छ ।

नेपाल र भारतबीच पछिल्लो सीमा विवाद अघिसम्म कालापानी जान भारतीयलाई कुनै प्रकारको रोक थिएन । भारतका रक्षामन्त्री राथनाथ सिंहले उद्घाटन गरेको सडकसमेत अहिले सुनसान रहेको जनाइएको छ ।

धारचुलाका ‘सव–डिभिज्नल मजिस्ट्रेट’ (एसडिएम) अनिल शुक्लाले दैनिक भास्करसँग भनेका छन्, ‘माथिबाट आदेश आएको छ कि कसैलाई कालापानी जान अनुमति जारी नगर्नू भनेर, लकडाउन पूर्ण रुपमा खुलेपछि पनि यस्तो अनुमति जारी हुँदैन ।’

यस्तो रोक किन लगाइएको हो भन्नेबारे अनिलले थप खुलाउन चाहेनन् । स्थानीयबासी भने नेपालसँगको सीमा विवादकै कारण सो क्षेत्रमा जान रोक लगाइएको बताउँछन् ।

बस्ती भारतको, भाषा नेपालको !

नेपालको दार्चुला जिल्लासँग मिल्दो नाम भएको भारतीय बस्ती छ, धारचुला । भारतीय बस्ती भनिए पनि त्यहाँ नेपाली भाषी अधिक छन् ।पछिल्लो दिनमा भारतले हालै निर्माण गरेको सडकमा सैन्य गतिविधि बढेको र नेपालतिर पनि सीमा क्षेत्रमा गतिविधि बढ्न थालेको छ।

सडक नेपालको जमिनका पनि बनेका कारण सीमा क्षेत्रमा विवाद सिर्जना भएको छ । जसको सीधा प्रभाव सीमाक्षेत्रमा रहेका जनतामा परेको छ ।

यो क्षेत्रमा नेपाल–भारतका बस्तीबीच भौगोलिकसँगै सामाजिक, साँस्कृतिक र भाषिक एकता समेत पाइन्छ । यो क्षेत्रमा पनि राजनीतिक नक्सा केबल औपचारिकता जस्तो मात्रै छ ।

सो क्षेत्रमा दुई देशबीच वैवाहिक सम्बन्ध समेत कायम भएको छ । अहिले सो सीमा क्षेत्रमा कडाइ गर्दै भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्न दिइएको छैन ।

महाकाली नदीमा बनेका पुलमार्फत सहज रूपमा उनीहरू नेपाल–भारत आउजाउ गर्ने गर्दथे । यो आवागमन यति सहज थियो कि एक अर्को देशका विद्यार्थीहरू बिहानबेलुका नै ट्युसन पढेर आउने जाने गर्दथे ।

सो क्षेत्रमा अझै पनि नेपाली रेडियो सुन्नेहरूको ठूलो संख्या छ । धार्चुला आसपास नेपाली रेडियो लोकप्रिय छ । यहाँका मानिसको भाषादेखि परम्परासमेत नेपाली समाजसँग मिल्दोजुल्दो छ । साँस्कृतिक समानता मात्रै नभएर धेरै कुरामा यहाँका जनता एकअर्कामा निर्भर छन् ।

स्थानीयवासी मात्रै होइन, भारतीय सेना र अर्धसैनिक बलका जवान समेत नेपाली सिम कार्ड प्रयोग गर्छन् । किनकि तवाघाटभन्दा माथिको क्षेत्रमा भारतका कुनै पनि मोबाइल नेटवर्कले काम गर्दैन ।

सिमखोला गाउँका कवीन्द्र नाम गरेका व्यक्ति भन्छन्, ‘कोरोनाका कारण नेपाल–भारतलाई जोड्ने सबै पुल बन्द गरिएको थियो । तर अब यसरी पूर्ण रूपमा बन्न गर्नु कोरोना मात्रै नभएर दुई देशबीचको सीमा विवादको परिणाम हो ।’

यतिबेला भारत–नेपाल सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीका गतिविधि केही तीव्र बनेका छन् र नयाँ बनेको सडकमा लगातार काम भइरहेको छ ।

नेपालतर्फ पनि सीमाक्षेत्रमा गतिविधि सुरु भएको छ । नेपालले सशस्त्रको बीओपी स्थापना गरेको छ भने सो क्षेत्रलाई सडकमार्गबाट जोड्न सेनाले काम सुरु गरिसकेको छ ।

दैनिक भास्करबाट