सीमा निरीक्षण टोलीबाट व्यासक्षेत्र भ्रमण

0
967
फाईल फोटोः छाङरु क्षेत्र

दार्चुला, असार २२ गते ।
सरकारको उच्चस्तरीय सीमा निरीक्षण टोलीले आइतवार व्यासक्षेत्रको भ्रमण गरेको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत टोलीले महाकाली नदी किनारक्षेत्र र छाङरु गाउँसम्म भ्रमण गरेको हो ।
सरकारले सीमाक्षेत्रको अवस्थाबारे अध्ययन गरी प्रतिवेदन बनाउन परराष्ट्र मन्त्रालयका सहसचिवको नेतृत्वमा केही महिनाअघि उच्चस्तरीय समिति बनाएको थियो । उक्त समितिले दार्चुलाको सीमाक्षेत्रमा पहिलोपटक भ्रमण गरेको हो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले सरकारीस्तरबाट नियमित रुपमा सीमाक्षेत्रको निरीक्षण र अनुगमन भइरहेको बताउनुभयो । ‘सरकारीस्तरबाट नियमित रुपमा निरीक्षण र अनुगमनको काम भइरहन्छ, त्यसै सिलसिलामा एउटा टोलीले दार्चुलाको सीमाक्षेत्रमा भ्रमण गरेको हो’ उहाँले भन्नुभयो ।
मंगलवार अपरान्ह सेनाको हेलिकोप्टरमार्फत दार्चुला पुगेको टोलीले व्यासको छाङरुमा करिब १ घण्टासम्म स्थानीयवासीसंग छलफल गरेको छ । सीमाक्षेत्रको अवस्थाबारे स्थानीयसंग छलफल गरी जानकारी संकलन गरिएको जिल्लास्थित सुरक्षा स्रोतले बतायो ।
सरकारी टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञवहादुर हमालले गर्नुभएको थियो । टोलीमा रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद भट्टराई, नापी विभागका महानिर्देशक प्रकाश जोशी, वन मन्त्रालयका सहसचिव डा. राजेन्द्र केसी सहभागी रहेको सुरक्षा स्रोतले बतायो ।
अनुगमन टोलीमा नेपाली सेनाका सहायक रथी सहदेव खड्का र सशस्त्र प्रहरीका डिआइजी खडगवहादुर राईसहित एक दर्जन सरकारी अधिकारीको सहभागिता रहेको स्रोतको भनाई छ ।
छाङरुमा भएको छलफलमा ३० जना स्थानीय वासिन्दाको सहभागिता रहेको थियो । ‘उच्चस्तरीय टोली शुक्रवार आउने खवर थियो तर मौसम नखुलेका कारण त्यो दिन हेलिकोप्टर आएन’ व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोक सिंह बोहराले भन्नुभयो, ‘गाउँपालिकामा महत्वपूर्ण काम भएकोले म सुन्सेरा पुगेको छुँ, आइतवार छाङरुमा स्थानीयसंग छलफल गरिएको खवर छ ।’
छाङरुबाट साढे ६ बजे सेनाको हेलिकोप्टर खलंगा फर्किएको थियो । आइतवार साँझ निरीक्षण टोलीले जिल्लास्थित सुरक्षा प्रमुखहरुसंग छलफल गरेको स्रोतले बतायो । सीमाक्षेत्रको अवस्था, सुरक्षा व्यवस्थापन, दुई देशका अधिकारीहरुबीच सीमाक्षेत्रमा भइरहेको समन्वय र व्यासक्षेत्रका जनतालाई सहज रुपमा सुविधा उपलब्ध गराउनेबारे छलफल गरिएको स्रोतको भनाई छ ।

सीमा निरीक्षण टोली सोमबार विहान दार्चुलाबाट फर्किएको छ । विहान ६ः५० बजे सेनाको हेलिकोप्टरमार्फत उच्चस्तरीय समिति फर्किएको स्रोतले बतायो ।