सीमा नाका बन्द हुदाँ भारतीय रुपैयाँको कारोबार हुन छाड्यो

1265
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, बैशाख २३ गते ।
दार्चुला सदरमुकाम खलंगा क्षेत्रका व्यापारीहरुले भारतीय रुपैयाँ लिनै छाडेका छन् ।
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरि लकडाउन घोषणा गरिएका बेला सीमा नाका समेत बन्द रहेकाले सदरमुकाम खलंगा क्षेत्रका व्यापारीहरुले भारतीय रुपैयाँ लिन छाडेको स्थानीय गोबिन्दी ठगुन्नाले बताउनु भयो । खलंगा क्षेत्रका व्यापारीहरुले सामग्रीहरु किनमेल गर्दा नेपाली रुपैयाँमा मात्रै कारोबार गर्ने गरेको र भारतीय रुपैयाँ लिन नमान्ने गरेको ठगुन्नाको भनाई छ ।
व्यापारीहरुका अनुसार अहिले नाकाहरु बन्द भएकाले नेपालतिर मात्रै कारोबार हुने भएकाले भारतीय रुपैयाँ लिन छाडिएको हो । विगतमा नाका खुला भएका बेला भारतबाट समेत सामग्री आयात गर्ने गरिएको र नाका बन्द हुदाँ भारतीय रुपैयाँको कारोबार नै बन्द भएकाले आफूहरुले भारतीय रुपैयाँको कारोबार गर्न छोडेको खलंगाका एक व्यापारीले बताउनु भयो । ‘नाका बन्द छ, ग्राहकहरुलाई समान बेचेकै पैशाले थप सामग्रीहरु ल्याउनु पर्छ, नेपालको राजधानी लगायतका विभिन्न क्षेत्रमा भारतीय रुपैयाँ लिदैनन, व्यापार प्रभावित हुने भन्दै हामीले भारतीय रुपैयाँ नलिने गरेका हौँ’ ती व्यापारीले भन्नु भयो ।
नाकाहरु खुला हुदाँ समेत सुदूरपश्चिमका क्षेत्र लगायत सीमावर्ती क्षेत्रमा मात्रै भारतीय रुपैयाँको कारोबार हुने गरेको र अन्य ठाउँमा भने भारतीय रुपैयाँको कारोबार नहुने गरेको ती व्यापारीले बताएका छन् । काठमाण्डौँ लगायतका क्षेत्रमा भारतीय रुपैयाँ चल्दैनथ्यो भने सीमा नाकाहरु बन्द भएपछि अहिले सीमावर्ती बजार क्षेत्रमा समेत भारतीय रुपैयाँ नचलेको अर्का स्थानीय गीता धामीले बताउनु भयो ।
विगतमा भारतीय बजार क्षेत्रमा निर्भर खलंगा बजार क्षेत्रमा सबैजसो नागरिकहरुले भारतीय रुपैयाँको खोजी हुने गरेको थियो । मुख्यगरि व्यापारीहरुले भारतबाट आएका नेपाली कामदारहरुलाई भारतीय रुपैयाँ सटही गर्ने गरेको थिए । भारतमा नेपाली रुपैयाँमा कारोबार गर्दा ४ प्रतिशत अर्थात् एक हजारमा ४० रुपैयाँ नेपालीहरुलाई घाँटा हुन्थ्यो । एक हजार नेपाली रुपैयाँ भारतमा ६ सय भारतीय रुपैयाँमा कारोबार हुने भएकाले ४० रुपैयाँ नेपाली रुपैयाँमा घाँटा बेहोर्न नेपालीहरु व्यापारीहरु देखि ग्राहकहरु बाध्य थिए । दार्चुला सदरमुकाम खलंगा क्षेत्रका व्यापारी देखि ग्राहकहरुको मुख्य बजार क्षेत्र भारतीय बजार धारचुला भएकाले भारतीय रुपैयाँको खोजी हुने गरेको थियो ।
यसरी घाँटा हुने भएपछि दुई प्रतिशत मुनाफा दिएर पनि भारतीय रुपैयाँ खोजी हुने गरेको थियो । अहिले नाका बन्दा हुदाँ सीमावर्ती बजार क्षेत्रमा भारतीय रुपैयाँमा कारोबार हुन छाडेको छ । यस्तै ग्रामीण क्षेत्रमा पनि भारतीय रुपैयाँमा कारोबार गर्न छाडेका छन् ।
भारतीय रुपैयाँ नेपाली व्यापारीहरुले लिन छाडेपछि भारतबाट फर्किएका नेपाली कामदारहरुलाई समस्या हुने देखिएको छ । भारतीय ठेकेदारले नेपाली कामदारहरुलाई भारतीय रुपैयाँ दिएकाले भारतीय रुपैयाँ लिन व्यापारीहरुले नमाने पनि उनीहरुलाई समस्या हुने देखिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !