सीमा क्षेत्रका नागरिकहरुका लागि विषेश प्याकेज ल्याउछौः गृहमन्त्री थापा

0
854
सशस्त्र प्रहरीको भवनको शिलान्यास गर्दै गृह मन्त्री

बिरा दत्त भट्ट, दार्चुला । 

असोज १० गते ।  सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुका लागि विषेश प्याकेज ल्याउने सरकारको तयारी रहेको गृहमन्त्री राम बहादुर थापा(बादल) को भनाई छ । कालापानी क्षेत्रको भ्रमण पश्चात दार्चुला सदरमुकाम खलंगामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

“सीमा क्षेत्रका नागरिकहरुको उचीत ढंगले ब्यवस्थापन नगरे सीमा सुरक्षा हुन सक्दैन, त्यस विषयमा सरकारको ध्यानाकर्षण भएको छ, सीमा क्षेत्रका जनताका लागि विषेश कार्यक्रम ल्याउन लागेका छौ ” गृहमन्त्री थापाले भन्नुभयो ।

देशको सीमा सरकार एक्लैले सुरक्षा गर्न नसक्ने भएकाले सीमामा रहेका जनताहरुलाई विषेश प्याकेज ल्याई जनता आत्मनिर्भर र सुरच्छित भएमा सीमा पनि सुरच्छित रहने गृहमन्त्री थापाको भनाई छ ।

सरकार सीमा समस्या समाधाका लागि कार्य गरिरहेको र विगत ६ दशक देखि रहेको सीमा समस्या सरकारले समाधान गर्न चाहेको उहाँको भनाई छ ।

सशस्त्र प्रहरीको ५० नम्बर गुल्म उद्धघाटन र भवनको शिलान्यासका लागि शुक्रबार दार्चुलाको छाङरु पुगेका गृहमन्त्री थापा शुक्रबार राती कालापानी नजिकको गाउँ छाङरु मै बसेका थिए ।

शुक्रबार गुल्मको उद्धघाटन र भवनको शिलान्यास गरि गृहमन्त्री थापाले छाङरुका जनताहरुको घरदैलोमा पुगेर समस्या बुझेका थिए । जनताहरुको समस्या बुझेर सरकारले समस्याको समाधान गर्ने आश्वासन दिएको गृहमन्त्री थापाले जानकारी दिनुभयो ।

कालापानी क्षेत्र त्रिदेशिय सीमा क्षेत्र भएकाले रणनितिक क्षेत्र भएको र कैलाश मानसरोवर क्षेत्र जोड्ने पर्यटकीय सम्भावना बोकेको भु–भाग समेत भएकाले सरकारले यस क्षेत्रलाई महत्व दिएको गृहमन्त्री थापाले बताउनुभयो ।

साथै विगत केहि बर्ष देखि बन्द रहेको सीमा प्रशासन कार्यालय छाङरुलाई समेत पुनः सञ्चालन गरिने उहाँले बताउनुभयो ।

त्रिदेशिय सीमा क्षेत्र, पर्यटकीय तथा ब्यापारीक मार्ग समेत भएकाले छिट्टै अध्यागमन कार्यालयको स्थापना गर्ने थापाले बताउनुभयो ।

पर्यटक र ब्यापारबाट ब्यास क्षेत्र समृद्ध बन्न सक्ने भएकाले सरकारले त्यस तर्फ ध्यान दिने उहाँको भनाई छ ।

“छाङरु, तिंकर पारी भारतका गाउँहरुमा भारत सरकारले जनताहरुलाई विभिन्न क्षेत्रमा आरक्षण दिएको बुझे, सीमामा बस्ने नेपालका जनताहरुलाई पनि विषेश आरक्षण दिई नागरिकहरुको चाहाना अनुसार रोजगारीको सिर्जना गर्छौ” थापाले भन्नुभयो ।

एक रात छाङरुमै विताएका गृहमन्त्री थापाले “ ब्यास क्षेत्रमा सञ्चारको समेत समस्या रहेको बताएका छन् । स्काई फोन सेवा रहेछ, त्यो पनि राम्रो काम गर्ने रहेनछ, छिट्टै सरकारले ब्यास क्षेत्रमा सञ्चारको ब्यवस्था गर्ने प्रक्रिया अघि बढाएका छौ” उहाँले भन्नुभयो ।

गृहमन्त्री थापाको ब्यास क्षेत्रको भ्रमणले जनताहरुलाई सरकारको उपस्थिती सीमा क्षेत्रमा निरन्तर हुनेछ भन्ने सन्देश गएको प्रतिनिधीसभा सासंद गणेस सिँह ठगुन्नाको भनाई छ ।

ब्यास क्षेत्रमा नेपाल सरकारका मन्त्रीहरुले विगतमा हवाई मार्गबाट अवलोकन गरेको भएपनि ब्यास क्षेत्रमा पाईला टेकेर त्यहाँका नागरिकहरुको समस्या बुझ्ने पहिलो उच्च स्तरीय ब्यक्ति गृहमन्त्री थापा हुन् ।

मन्त्रीथापाको टोलीमा दार्चुलाबाट निर्वाचित प्रतिनिधी सभा सदस्य गणेस सिह ठगुन्ना, गृह सचिव महेश्वर न्यौपाने, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र थापा, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सुर्य सुबेदी, सुरक्षा सल्लाहकार इन्द्रजित राई, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेल, नेपाली सेनाका साहयक रथी पवनराज घिमिरे, वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसन अधिकारी रहेका थिए ।