सीमापुल खोल्न दार्चुला र धार्चुलाका ब्यापारी एकमत

0
1450
दार्चुला र धार्चुलाका ब्यापारीहरुको धार्चुलामा बसेको बैठक

मंसिर २७ गते ।
बिरा दत्त भट्ट, दार्चुला । नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित सीमापुल खोल्न दुबै देशको सीमा क्षेत्रका ब्यापारीहरु एकमत भएका छन् । शनिबार भारतको धार्चुलामा बसेको दुबै देशका ब्यापारीहरुको बैठकले सीमा पुल खोल्न आ–आफ्नो देशको प्रशासनलाई दबाद दिने घोषणा गरेका छन् । ब्यापार मण्डल अध्यक्ष धार्र्चुलाका अध्यक्ष भुपेन्द्र सिह थापाको अध्यक्षतामा बसेको बैठकमा उद्योग बाणिज्य संघ दार्चुलाका पदाधीकारीहरु समेत सहभागि रहेका थिए । सीमा पुल बन्द हुदाँ दुबै देशको ब्यापारीक गतिविधीमा असर पर्नुका साथै नेपालको विद्यालयमा अध्ययन गरिरहेका र भारतको धार्चुलामा बस्दै आएका विद्यार्थीहरु विद्यालय आउनबाट बञ्चीत भएको ब्यापारीहरुको ठहर छ । नेपालबाट सयौँको संख्यामा भारतको धार्चुलामा मजदुरी गरेर घर ब्यवहार चलाउने गरिब बर्गहरु सीमापुल बन्द हुदाँ समस्यामा परिरहेको ब्यापार मण्डल संघ धार्चुलाका अध्यक्ष भुपेन्द्र थापाको भनाई छ । धार्चुलाबाट दैनिक २० लाख भन्दा बढी मजदुरहरुले ज्याला लिने गरेको तथा धार्चुलाका ब्यापारीहरु पनि नेपाली ग्राहकहरुमा निर्भर रहेकाले दुबै देशको हितका लागि सीमापुल खोलीनुपर्ने अध्यक्ष थापाको भनाई छ ।
भारतको धार्चुला ब्यापार मण्डल संघका पदाधीकारी कमल कौशलले नेपाल र भारतका जनता विच रोटी र बेटीको सम्बन्ध रहेकाले सम्बन्धलाई अझ बलियो बनाउन दुबै देशका नागरिकहरु विचको आवतजावत सहज बनाउनुपर्ने बताउनुभयो । कुनै दिन सीमित समयका लागि पुल खोलीदा भिडभाड भइरहेकाले यसले कोरोना संक्रमणको खतरा बढ्ने उहाँको भनाई छ । दैनिक पुल खुल्दा भिडभाड कम हुनेभएकाले कोरोनाको जोखिम समेत कम हुने कौशलको भनाई छ ।
सीमापुल खुलेका बेला हाल धार्चुला बजारमा चिनि र मिश्रीको सबैभन्दा बढी कारोबार भइरहेको धार्चुला ब्यापार मण्डल संघका संयोजक राजन कोहलीले जानकारी दिनुभयो । धार्चुला बजारमा चिनिको मुल्य प्रतिकेजी ७० रुपैयाँ नेपाली रहेकोमा नेपाली बजारमा १ सय भन्दा बढी रहेकोले गरिब जनता यसको मारमा परिरहेको उहाँको भनाई छ । कुनै सामान नेपाली बजारमा सस्तो होला, कुनै सामन भारतीय बजारमा सस्तो छ, सीमा पुल खुलेमा गरिब नागरिकहरु जहाँ सस्तो छ त्यहाँ पुगेर किन्न सक्ने भएकाले गरिब नागरिकहरुको सहजताका लागि पनि सीमानाका खोल्नु आवस्यक रहेको संयोजक कोहलीको भनाई छ ।
“नेपाल सरकारले दार्चुला जिल्ला अस्पतालमा आइसीयु बेड स्थापना गरेको छ, यता धार्चुलामा छैन, हामीलाई समस्या परे हामी पनि उपचारका लागि नेपाल आउन सक्थ्यौ, त्यसैगरि नेपालमा नभएको स्वास्थ्य सेवा नेपाली नागरिकहरुले पिथौरागढबाट सजिलै लिन सक्छन्, त्यो जनताको सहजताका लागि पनि सिमापुल खोलिनुपर्छ” धार्चुला ब्यापार मण्डल संयोजक कोहलीले भन्नुभयो ।
ब्यापार मण्डल धार्चुलाका उपाध्यक्ष भगवति नवियालले दुबै देशको सीमा क्षेत्रका नागरिक एक अर्काको पुरक भएको बताउनुभएको छ । “नेपालमा भएको सामान हामी नेपालबाट ल्याउछौ, भारतमा राम्रो भएको सामान नेपालीहरुले धार्चुलाबाट लग्छन्, त्यसैले सीमा पुल खोलिनुपर्छ, हामी एक अर्काका पुरक छौ” उहाँले भन्नुभयो ।
दुबै देशका ब्यापारीहरु सीमा पुल खोल्ने विषयमा एक मत रहेको उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगल सिह ठगुन्नाको भनाई छ । नेपालमा फलेको सुन्तला बजार अभावका कारण सडिरहेको अवस्थामा सीमापुल खुलेमा किसानहरुलाई पनि सहज हुने उहाँको भनाई छ ।
विगतमा सीमा पुल खोल्दा नेपाली पक्षले विचमै पुल बन्द गर्दा नागरिकहरु समस्यामा पर्ने गरेको भारतको धार्चुलाका ब्यापारी प्रकाश गुञ्ज्यालको गुनासो छ । साथै पुल खोलिएमा दैनिक तथा नियमित खोलिनुपर्ने र कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षामा मापदण्डहरुको पनि पालना गरिनुपर्ने उहाँको भनाई छ ।
धार्चुला स्थित सीमापुललाई सिमित समयका लागि खोल्दा भिडभाड बढीरहेकाले कोरोना संक्रमणको जोखिम पनि बढीरहेको उद्योग बाणिज्य संघ दार्चुलाका कार्यकारी निर्देशक अमर सिह महराको भनाई छ । दैनिक पुल खोलीदाँ भिडभाड कम हुनेभएकाले पुललाई दैनिक खोल्नुपर्ने उहाँले बताउनुभएको छ ।
ब्यापारी तथा स्थानिय जनताको सीमापुल खोल्नुपर्ने मागलाई दुबै देशका अधिकारीहरुले सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने दुबै देशका ब्यापारीहरुको भनाई रहेको छ ।
भारतको धार्चुलामा शनिबार बसेको दुबै देशका ब्यापारीहरुको बैठकमा नेपालबाट उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगल सिह ठगुन्ना सहित अन्य पदाधिकारी र कार्यकारी निर्देशक अमर महराको सहभागिता रहेको थियो भने भारतबाट ब्यापार मण्डल संघ धार्चुलाका अध्यक्ष भुपेन्द्र थापा, उपाध्यक्ष प्रकाश गुंज्याल, महासचिव नविन खर्कवाल, जिल्ला उपाध्यक्ष हरीश गुंज्याल, संरक्षक अशोक नवियाल, बरिष्ट ब्यापारीहरु ओम प्रकास कापडी, ब्यापारीहरु अशोक नवियाल, राजीव कोहली, कलम कौशल, अनिल खनाल, करन बराल, संजु दानु, सन्नी साहनी, लक्ष्मी परियार, भगवति नवियाल लगायत नेपाली तथा भारतीय पत्रकारहरुको सहभागिता रहेको थियो ।

विगतमा सीमा पुल खोल्न भारतले नै मानेको थिएन

गत मंसिर ९ गते जिल्ला प्रशासन कार्यालय दार्चुलामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले दार्चुला खलंगा स्थित सीमा पुल प्रत्येक हप्ताको बुधबार र शनिबार खोल्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्ला अधिकारीलाई सीमा पुल हप्तामा दुई दिन खोलिनुपर्ने विषयमा पत्राचार गरेको थियो । दुबै देशको सहमती पश्चात गत मंसीर १० गते बुधबार सीमा पुल विहान १० बजे देखि दिउसो तीन बजे सम्म खुला गरिएको थियो । त्यसै हप्ताको शनिबार पनि दुबै देशको प्रशासनको सहमती अनुसार पुल विहान १० बजे देखि तीन बजे सम्म ६ घण्टा सम्म सिमा पुल खोलिनुपर्ने थियो तर भारतले पुलमा स्वास्थ्यकर्मी तैनाथ नभएको भन्दै शनिबार सीमा पुल विहान १० बजे देखि ११ बजे र बेलुका २ बजे देखि ३ बजे सम्म एक÷एक घण्टा खोलेको थियो । सहमती अनुसार फेरि अर्काे हप्ताको बुधबार पुल खोलीनुपर्ने थियो तर भारतको धार्चुला प्रशासनले आफ्ना अधिकारीहरुलाई पुल नखोल्न निर्देशन दिएको थियो ।
भारतको पिथौरागढ जिल्ला अधिकारीले हप्तामा दुई दिन पुल नखोल्न भनेपछि धार्चुला तहशिलले आवस्क निवेदन बाहेक पुल खोल्न नसकिने जिल्ला प्रशासन कार्यालय दार्चुलालाई जानकारी दिएको थियो । नेपाली प्रशासन हप्तामा दुई दिन पुल खोल्न तयार भएपनि भारतीय स्थानिय प्रशासनले पुल खोल्न नसकिने बताएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्टले जानकारी दिएका थिए ।
दार्चुला प्र्रशासन र दार्चुलाका ब्यापारी तथा नागरिक पुल खोल्ने विषयमा एकमत रहेका बेला भारतको पिथौरागढ जिल्ला अधिकारीले सीमा खोल्ने विषयमा केन्द्रमा अनुमति मागेका कारण सीमा खुल्न नसकेको ब्यापार मण्डल धार्चुलाका अध्यक्ष भुपेन्द्र थापाको भनाई छ । अब भने दार्चुलाका तथा धार्चुलाका ब्यापारीहरु पुल खोल्ने विषयमा एक मत रहेकाले सीमा नाका खोल्न दुबै देशका अधिकारीहरुलाई दबाद दिइने उहाँको भनाई छ ।