सिमामा सशस्त्र प्रहरीः राती नदी तरेर भारतबाट एकैदिन ३९ जना भित्रिए

0
1602

विरा दत्त भट्ट, दार्चुला ।
सिमा नाका बन्द भएको अवस्थामा अबैध रुपमा भारत बाट नदी तरेर नेपाल भित्रिने क्रम बढेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारत बाट ट्युब र विभिन्न माद्ययमले नेपाल भित्रीने क्रम बढेपछि दार्चुला जिल्लाका विभिन्न ४ सिमानाकामा सोमबार बाट सशस्त्र प्रहरी खटाएको छ भने ४० जना सशस्त्र प्रहरी कैलाली बाट दार्चुला पुगेका छन् ।
तर पनि भारतबाट लुिकछिपी महाकाली नदी तरेर नेपाल भित्रीने क्रम भने रोकिन सकेको छैन। बुधबार विहान १ बजे जौलजिविको क्वारेन्टनबाट भागेर १४ जना मालिकार्जुन गाउँपालिका वडा नं १ बेतमा र उकुबाट २५ जना महाकाली नदी तरेर नेपाल प्रबेश गरेको मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।
भारतको जौलजिवीमा राखिएको क्वारेन्टन बाट भागेर महाकाली नदी तरेर आउनेमा दार्चुलाको अपिहिमाल गाउँपालकाका ६ जना, मार्मा गाउँपालिकाका १ जना, बैतडीको पुरचौडी नगरपालिकाका २ जना, डिलाशैनी गाउँपालिकाका ४ जना र बझाङको बुङल नगरपालिका १ जना रहेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिनुभयो ।
त्यसैगरि मालिकार्जुन गाउँपालकाको वडा नं ६ उकु जडानी बाट २५ जना नेपाल प्रबेश गरेका छन् । जडानी क्षेत्रबाट नेपाल प्रबेश गर्नेमा बैतडीको डिलाशैनी गाउँपालिकाका ११ जना, पुरचौडी नगरपालिकाका ३ जना र बझाङको बुङल नगरपालिकाका ११ जना रहेको गाउँपालिका अध्यक्ष धामीले बताउनुभयो ।
सिमा नाकामा हुने आवत जावतलाई नियन्त्रण गर्नका लागि दार्चुलाका ४ वटा नाकाहरु ब्यास गाउँपालिकाको डोकट र स्याकु ,मालिकार्जुन गाउँपालिकाको बाकु र लेकम गाउँपालिकाको लालीमा सशस्त्र प्रहरीको अस्थाई पोष्ट नै राखेर २४ घण्टा तैनाथ रहने गरि खटाइएको छ भने दत्तु देखी कालागाड क्षेत्र सम्म गुल्म बाट नै निगरानी भइरहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म दार्चुलाका गुल्मपती डिएसपी डम्बर बहादुर विष्टले जानकारी दिएका छन् । सिमामा त्यती ठुलो संख्यामा सुरक्षाकर्मी खटाइए पनि पछिल्लो एक हप्ताको भन्दा ठुलो संख्यामा बुधबार राती भारतबाट अबैध रुपमा महाकाली नदीमा तरेर भित्रिएका छन् ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी यद्धु नाथ पौडेलले चैत्र २३ गते ४ बुदे आदेश जारी गरेका थिए । जसमा लकडाउन अवधिमा अबैध सिमा वारपार पुर्ण रुपमा नियन्त्रण गरिने र उलङ्घन गर्नेलाई कारेवाही गर्ने भनिएको थियो तर अबैध रुपमा भित्रीनेहरुलाई तत्कालका लागी भने कारवाही नगरिने सायहक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरको भनाई छ ।

“भारतबाट महाकाली नदि तरेर आइसकेपछि भारत पठाउनु पनि भएन, आएकाहरुलाई सम्बन्धीत स्थानिय तहको क्वारेन्टाइनमा राख्ने गरि पठाउने तयारी भइरहेको छ”, साहयक प्रमुख जिल्ला अधिकारी टेक सिह कुवरले भन्नुभयो ।
मालिकार्जुन गाउँपालिका पुगेका ३९ जनालाई नै सम्बन्धीत स्थानिय तहसंग समन्वय गरि पठाउने तयारी भइरहे पनि बैतडी र बझाङको प्रशासनले सवारी साधन सञ्चालनका लागी अनुमती नदिएको सम्बन्धीत स्थानियतहहरुले जानकारी दिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले जानकारी दिनुभयो ।
मालिकार्जुन गाउँपालिकाका स्थानियहरु पनि भारतबाट आएकाले आफ्नै गाउँपालिकाका नागरिकहरुलाई ब्यवस्थापन गर्न धौधौ अवस्था भएकोमा बाहिरका नागरिकहरुलाई क्वारेन्टाइनमा राख्न सकिने अवस्था नरहेको अध्यक्ष धामीको भनाई छ । भारतबाट अबैध रुपमा तरेका ३९ जनालाई सम्बन्धित स्थानियतहमा पठाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।