सिमाक्षेत्रमा सेनाको सक्रियता बढ्दै

0
2206

दार्चुला, पुष ८ गते ।
नेपाली सेनाले सिमाक्षेत्रमा आफ्नो सक्रियता बढाएको छ । संरचना निर्माण र भूगोलमा उपस्थिति जनाएर सिमाक्षेत्रमा नेपाली सेनाले आफ्नो सक्रियता बढाएको हो । नेपाल सरकारको निर्णयअनुसार सिमाक्षेत्रलाई हेर्ने छुट्टै महानिर्देशनालय निर्माण गरिएको नेपाली सेनाले जनाएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गत फागुन २१ गते सिमाक्षेत्रको अध्ययन, समन्वय, निगरानी र समन्वयका लागि छुट्टै संरचना निर्माण गर्ने मन्त्रिस्तरीय निर्णय गरेका थिए । नेपाली सेनाअन्तर्गत सर्भे तथा सिमा अनुगमन महानिर्देशनालय गठन गर्न गत चैत्र १४ गते रक्षा मन्त्रालयले नेपाली सेनालाई पत्राचार गरेको सैनिक प्रवक्ता रहायक रथी विज्ञानदेव पाण्डेले बताउनुभयो ।
गत साउन महिनादेखि नै महानिर्देशनालयको संरचना निर्माण गरिएको उहाँले बताउनुभयो । महानिर्देशनालयअन्तर्गत सिमा अनुगमन तथा समन्वय महाशाखा, सर्भे महाशाखा र सन्धी सम्झौता अध्ययन तथा अनुगमन महाशाखा रहेका छन् । महानिर्देशनालयको नेतृत्व सहायक रथीले गरिरहेका छन् । ‘महानिर्देशनालयअन्तर्गत छुट्टै दरबन्दी स्वीकृति भइसकेको छैन, यसको प्रक्रियामा छौ’ सैनिक प्रवक्ता पाण्डेले भन्नुभयो ।
सिमा सम्बन्धि अध्ययन, विश्लेषण, समन्वय र निगरानीको काम भइरहेको उहाँको भनाई छ । केन्द्रीयस्तरमा तथ्यांक संकलन, अभिलेखीकरण र अध्ययनको कार्य निरन्तर भइरहेको प्रवक्ता पाण्डेले बताउनुभयो । ‘आवश्यकताअनुसार विज्ञ र सरोकारवाला निकायसंग छलफल र समन्वय गरिरहेका छौ’ उहाँले भन्नुभयो । सिमाक्षेत्रको बारेमा आवश्यकताअनुसार जिल्ला र फिल्डस्तरमा पनि कार्य गरिने उहाँको भनाई छ ।
दुई हप्ताअघि मात्रै सिमाक्षेत्रको वस्तुस्थिति अध्ययनका लागि महासेनानी (कर्णेल)को नेतृत्वमा दार्चुलामा एउटा प्राविधिक टोली पुगेको स्रोतले बतायो । उक्त टोलीले महाकाली नदी किनारको सिमाक्षेत्रको स्थलगत भ्रमण गरेको थियो । दार्चुला सदरमुकामबाट उत्तरतर्फ महाकाली नदी किनारैकिनार दुम्लिङ हुँदै दोपाखेसम्म पुगेर उक्त टोली फर्किएको सुरक्षा स्रोतको भनाई छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दिपालयस्थित पृतनाबाट नियमित भ्रमण गरिएको बताउनुभयो ।
दार्चुला सदरमुकाम खलंगादेखि सुन्सेरासम्म सैनिक गाडीमा गएको उक्त टोलीले राप्लाको दुम्लिङहुँदै दोपाखेसम्म भ्रमण गरेको स्रोतले बतायो । हिमपात र बाटोको असुविधा भएकोले सेनाको टोली दोपाखेबाट फर्किएको थियो । सैनिक टोली दोपाखेबाट हेलिकोप्टरमा फर्किएको थियो । नेपाली सेनाको सानो हेलिकोप्टरले दोपाखेबाट खलंगा ब्यारेक हुँदै कर्णेल नेतृत्वको टोलीलाई काठमाण्डौ लगेको स्रोतले बतायो । खलंगा ब्यारेकमा आधा घण्टा बढी समय हेलिकोप्टर रोकिएको थियो ।
दार्चुला–तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइने खवर सार्वजनिक भएपछि नेपाली सेनाको अर्को टोली पुषको पहिलो हप्ता सुन्सेरा र राप्लाक्षेत्रमा पुगेको छ । दार्चुलास्थित नेपाली सेनाको ब्यारेकबाट गएको टोलीले सिमाक्षेत्रको बाटो र भूगोलको बारेमा अध्ययन गरिरहेको स्रोतले बतायो । जिल्लास्थित नेपाली सेनाको दुर्गादल गुल्मले भने यसको पुष्टि गरेको छैन ।
सुन्सेरा र दुम्लिङका स्थानीय वासिन्दाले ५ जनाको नेपाली सेनाको टोलीले सिमाक्षेत्रको पैदल बाटोको अवस्था र भूबनोटका बारेमा अध्ययन गरेको बताएका छन् । ‘जिल्लाकै ब्यारेकबाट आएका थिए, दुम्लिङभन्दा अगाडि घाटिबगडसम्मको क्षेत्रमा हेरेर फर्किएका छन्’ राप्लाको दुम्लिङमा एक स्थानीयले भन्नुभयो । तिंकर सडक निर्माणका लागि भौगोलिक अवस्थाको अध्ययन गर्न र सिमाक्षेत्रको अवस्था निगरानीका लागि सैनिक टोली परिचालन भएको स्थानीयको अनुमान छ । सेनाको यो टोलीमा उपसेनानी सुशील खनालले नेतृत्व गरेका छन् ।
नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले दार्चुला–तिंकर सडक निर्माणको जिम्मा सेनालाई दिनेबारे औपचारिक जानकारी प्राप्त नभएको बताउनुभयो । ‘नेपाल सरकारबाट निर्णय भई सडक निर्माणको जिम्मेवारी प्राप्त भएमा सेनाले सडक निर्माण गर्ने’ उहाँको भनाई छ । तिंकर सडक निर्माणको जिम्मा सेनालाई दिन पहल र चर्चा भइरहेका बेला नेपाली सेनाले आन्तरिक रुपमा भूगोलको वस्तुस्थिति बुझिरहेको अनुमान छ ।