साउँदलाई न्यायाधीश सिफारिस देखि नेता खत्रीलाई स्पष्टीकरण सम्म–यी हुन् काङ्ग्रेस दार्चुलाका निर्णय

0
600

बिरा दत्त भट्ट, 
दार्चुला, माघ २९ गते । 

नेपाली काङ्ग्रेस दार्चुलाले एक जना पार्टी निकट अधिवक्तालाई न्यायाधीशका लागि सरकारलाई सिफरिश गर्ने निर्णय गरेको छ । दार्चुलामा कार्यरत अधिवक्ता धिरेन्द्र साउँदलाई न्यायाधीश बनाउन पार्टीको तर्फबाट सरकारलाई सिफारिस गर्ने निर्णय गरेको काङग्रेस दार्चुलाका सभापति ललित सिह बोहराले बताउनुभयो ।

दार्चुलाबाट प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडु कानुनमन्त्री भएका बेला पार्टी निकट रहेका साउँलाई न्यायाधीशमा चयनका लागि सिफारिस गर्ने निर्णय भएको छ । न्याय जस्तो स्वतन्त्र र पवित्र संस्थामा पार्टीले यसरी सिफारिस गरेको भन्दै पार्टीकै नेता तथा कार्यकर्ताहरुले आक्रोश पोखिरहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा काङग्रेस दार्चुलाको उपसभापतिको उम्मेद्वार समेत रहेका युवा नेता उमेश खत्रीले लेखेका छन् । ‘न्याय सेवा जस्तो गरिमामय क्षेत्रमा कार्यरत अधिवक्ता धिरेन्द्र साउँदलाई  नेपाली कांग्रेस दार्चुलाले न्यायाधीश को लागि सिफारिस गर्नका लागि न्यायाधीश पद तपाई ले जिल्ला कोषाध्यक्ष मनोनीत गरे जस्तो पद हो रु कांग्रेस दार्चुला मा लोकतन्त्र को समाप्त भएकै होर ?’

बैठकले अधिवक्ता साउँदलाई न्यायाधीशका लागि सिफारिस संगै विभिन्न निर्णय गरेको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति दार्चुलाको दोस्रो बैठकमा प्रस्तुत गरिएका १५ प्रस्तावमा विविध निर्णय गरिएको पत्रकार सम्मेलन गरि काङ्ग्रेस दार्चुलाले जानकारी दिएको छ ।

बैठकमा कार्यसम्पादन समिति, कोषाध्यक्ष मनोनयन, अर्थ समिति, विभागहरु गठन, आचार संहिता, कार्यालय सचिव, कम्प्युटर अपरेटर र कार्यालय सहयोगि, सामाजिक सञ्जाल सम्बन्धी, लेबी, सिफारिस, प्रभारी, आगामी कार्यक्रम, खाता सञ्चालन, विपद् समिती प्रतिनिधि, समवेदना र नेता तथा कार्यकर्ता सम्बन्धी प्रस्तावमा छलफल गरिएको काङ्ग्रेस दार्चुलाका सभापति ललित सिह बोहराले बताउनुभयो ।

मेयर भट्ट कोषाध्यक्षमा चयन

नेपाली काङ्ग्रेस दार्चुलाको कोषाध्यक्षमा हंशराज भट्ट चयन भएका छन् । भट्ट महाकाली नगरपालिका दार्चुलाको मेयर समेत हुन् । काङ्ग्रेसको विधान अनुसार भट्टलाई कोषाध्यक्षमा चयन गरिएको काङग्रेस दार्चुलाका सभापति ललित सिह बोहराले बताउनुभयो । काङ्ग्रेस दार्चुलाको सतौँ जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको थियो । ४२ सदस्यिय कार्यसमितिका लागि कोषध्यक्ष सभापतिले चयन गर्ने विधानको व्यवस्था अनुरूप भट्टलाई चयन गरिएको हो ।

युवा नेता खत्रीलाई स्पष्टीकरण 

बैठकले दार्चुला अधिवेशनमा उपसभापतिमा उम्मेद्वारी दिएका युवा नेता उमेश खत्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सामाजिक सञ्जालमा जथाभावी पार्टी र पार्टीका नेताहरू विरुद्ध अपशब्द लेख्ने, चरित्रहत्या गर्ने लगायतका कार्यहरू गरेकाले पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेको नेपाली काङ्ग्रेस दार्चुलाका सभापति ललित सिह बोहराले बताउनुभयो ।
असन्तुष्टि भएमा पार्टीमा आएर छलफल गर्नुको साटो खत्रीले सामाजिक सञ्जालमा जथाभावी लेख्ने काम गरेकाले तपाइलाई कारवाही किन नगर्ने भनी ७ दिने  स्पष्टीकरण सोध्ने निर्णय गरिएको सभापति बोहराको भनाई छ । चित्त बुझ्दो जवाफ नआएमा पार्टीको विधान अनुसार निश्कासन सम्मको कारवाही गरिने उहाँले बताउनुभयो । यस विषयमा युवा नेता उमेश खत्रीलाई बुझ्दा पार्टीबाट आफुलाई केही नभनिएको बताएका छन् ।

९ वटै पालिकामा प्रभारी र सहायक प्रभारी

काङ्ग्रेस दार्चुलाले जिल्ला भरिका ९ वटै पालिकामा प्रभारी र सहायक प्रभारी तोकेको छ । जसअनुसार व्यास गाउँपालिकाको प्रभारीमा करनसिह धामी तथा सहायक प्रभारीमा धिरनसिह बुढाथोकी र भागरती धामी, दुँहु गाउँपालिकामा प्रभारीमा मदन राम लोहार तथा सहायक प्रभारीमा दिलिप सिह कार्की र स्वरस्वती कार्कीलाई, महाकाली नगरपालिकामा प्रभारीमा महादेब बडु कश्यप तथा सहायक प्रभारीमा राजु अवस्थी र श्याम सिह सिनाललाई तोकिएको छ ।
त्यसैगरि मालिकार्जुन गाउँपालिकाको प्रभारीमा भानसिह धामी तथा सहायक प्रभारीमा दानसिह चैसीर तथा विन्दु अवस्थी, लेकम गाउँपालिकाको प्रभारीमा बहादुर सिह खत्री तथा सहायक प्रभारीमा भागरथी पाल र दिपेन्द्रसिह बोहरा, नौगाड गाउँपालिकाको प्रभारीमा मंगल सिह ठगुन्ना तथा सहायक प्रभारीमा करनसिह डडाल र कर्ण सिह महरलाई तोकिएको छ ।
शैल्यशिखर नगरपालिकाको प्रभारीमा कर्ण बहादुर खडायत तथा सहायक प्रभारीमा गंगा दत्त जोशी र सञ्जा धामी, मार्मा गाउँपालिकाको प्रभारीमा दान बहादुर विष्ट तथा सहायक प्रभारीमा विरसिह धामी र हरिना भट्ट, अपीहिमा गाउँपालिकाको प्रभारीमा तुङ्गेध्योज ठेकरे तथा सहायक प्रभारीमा जयदेब धामी र देउमती लोथ्याल चयन भएको सभापति बोहराले बताउनुभयो ।
त्यसैगरि बैठकले पार्टी प्रवक्तामा माधव प्रसाद भट्ट, सामाजिक विभाग संयोजकमा ललित सिह ठगुन्ना, आर्थिक नीति तथा योजना विभाग संयोजकमा हंशराज भट्ट, कृषि तथा भूमीसुधार संयोजकमा भानसिह धामी, युवा तथा खेलकुद विभाग संयोजकमा श्याम सिनाल, महिला विभागमा राजु अवस्थी तथा भातृ संघ संस्था समन्वय विभागमा दानसिह तिंकरीलाई तोकिएको छ ।

सामाजिक सञ्जालमा उम्मेद्वारी घोषणा गरे कारवाही 

आफु खुसी विभिन्न पदमा उम्मेदवारी घोषणा गर्नेलाई समेत काङ्ग्रेस दार्चुलाले कार्वाही गर्ने भएको छ । आसन्न निर्वाचन लाई लक्षित गरी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले सम्वन्धित निकायमा छलफल र विना परामर्श आफुखुसी विभन्नि पदमा उम्मेदवारी घोषणा गर्ने गराउनेलाई कार्वाही गर्ने बैठकले निर्णय गरेको सभापति ललित सिह बोहराले बताउनुभयो ।  आफ्नो उम्मेदवारीको चाहनालाई नेपाली कांग्रेसको वडा कार्यसमिति, गाउँ, नगरसमिति, क्षेत्रिय कार्य समिति र जिल्ला कार्यसमिति संघ सरसल्लाह नगरी सामाजिक संजाल वा होटेल चिया पसल र चोकमा बसेर उम्मेदवारी घोषणा गरेको पाइएमा कारवाही गरिने उहाँको भनाई छ ।