सशस्त्र प्रहरीलाई कालापानी पुग्न अवरोध

0
1113

दार्चुला, असार २५ गते ।
भारतीय सशस्त्र सीमा वल (एसएसवी)ले नेपालको सशस्त्र प्रहरीलाई कालापानी पुग्नमा अवरोध गरेको छ । व्यासको छाङरुमा वैशाख ३१ गते विओपी स्थापना भएपछि सशस्त्र प्रहरीको गस्ती टोलीले कालापानी पुग्ने प्रयास गरेको छ ।
सशस्त्र प्रहरीको हेडक्वाटरकै निर्देशनमा गस्ती टोलीले जेठ १८ गते कालापानी पुग्ने प्रयास गरेको सुरक्षा स्रोतले बतायो । तर, एसएसवीको टोलीले कालापानीभन्दा १२ सय मिटर दक्षिणबाटै सशस्त्र प्रहरीको टोलीलाई फर्काएको छ ।
‘हेडक्वाटरको सम्पर्कमा रही कालापानीसम्म पेट्रोलिङ (गस्ती) पुग्ने योजना थियो, तर एसएसवीको इन्सपेन्टर नेतृत्वको टोलीले कालापानी पुग्नमा अवरोध गर्यो’ सुरक्षा स्रोतले बतायो । वैशाख ३१ गते विओपी स्थापना भएपछि दुइ पटकसम्म कौवाक्षेत्रमा गस्ती गरिएको थियो । तेस्रो पटक जेठ १८ गते कालापानीसम्म पुग्ने सशस्त्र प्रहरीको योजना थियो ।
कालापानी क्षेत्रमा भारतले एकतर्फी बनाएको महाकाली नदीको नक्कली मुहान र नक्कली सीमासम्म पुगेर वस्तुस्थितिबारे जानकारी लिने सशस्त्र प्रहरीको योजना थियो । छाङरुबाट सशस्त्र प्रहरीको गस्ती टोली हिडेको जानकारी पाएपछि एसएसवीको टोली कालापानीभन्दा १२ सय मिटर दक्षिणतर्फ पुगेको थियो । सुरक्षा स्रोतका अनुसार एसएसवीका इन्सपेन्टर मान सिंह नेतृत्वको ५ जनाको टोलीले माथिल्लो कौवाभन्दा केही माथिको क्षेत्रमा सशस्त्र प्रहरीको टोलीसंग भेटेको थियो ।
‘कालापानी क्षेत्रमा प्रवेश गर्न नदिने माथिको आदेश छ’ भन्दै एसएसवीले सशस्त्र प्रहरीको टोलीलाई फर्काइदिएको स्रोतले बतायो । ‘हामी दुबै तर्फका सुरक्षाकर्मी माथिको आदेशमा चल्छौ, कसैलाई पनि कालापानी क्षेत्रमा प्रवेश गर्न नदिने माथिको आदेश भएकाले तपाइहरु यतैबाट फिर्ता गइदिनोस्’ भारतीय सुरक्षाकर्मीको भनाई थियो ।
सशस्त्र प्रहरीको गस्ती टोलीको नेतृत्व इन्सपेक्टर लिलिवहादुर चन्दले गर्नुभएको थियो । हतियारसहित एक दर्जन सुरक्षाकर्मीको टोली रहेको स्रोतले बतायो । सशस्त्र प्रहरीको टोलीले ‘महाकाली नदीको मुहान कहाँनिर हो त ?’ भन्दै एसएसवीलाई प्रश्न गरेको थियो । ‘एसएसवीको टोलीले जवाफ दिन सकेन’ सुरक्षा स्रोतले भन्यो, ‘विवादित विषय भएको र यसबारे केन्द्रीयस्तरबाटै टुंगो लाग्छ’ भन्दैै एसएसवीको टोलीले प्रतिक्रिया दियो ।
भूमि अतिक्रमण र सिमानाबारे विवाद भए पनि दुबै देशका सुरक्षाकर्मीबीच आपसी समन्वय बढाउनेबारे कुराकानी गरिएको छ । स्रोतका अनुसार दुबै टोलीले केहीबेर छलफल गरेको थियो र संगै नास्ता खाएको थियो ।
विगतमा नेपालका सुरक्षाकर्मी र स्थानीय वासिन्दा कालापानी क्षेत्रको दक्षिणी किनारासम्म पुग्ने गर्दथे । कालापानीमा निर्माण गरिएको काली मन्दिर र महाकालीको नक्कली मुहानसम्म विगतमा छाङरुको प्रहरी टोली पुग्ने गरेको थियो । गतवर्ष छाङरुका केही स्थानीय पनि बाटो निर्माणको क्रममा कालापानीसम्म पुगेका थिए ।
नयाँ नक्सा जारी गरिएको र छाङरुमा सशस्त्र प्रहरीको विओपी स्थापना गरिएपछि पछिल्लो समय भने भारतीय पक्षले कालापानी क्षेत्रमा नेपाली पक्षलाई प्रवेश गर्न नदिने रणनीति बनाएको छ । कालापानी क्षेत्रसम्म पुग्नमा भारतीय पक्षबाट अवरोध आएपछि यसबारे केन्द्रस्तरमै रिपोर्टिङ भइसकेको जिल्लास्थित सुरक्षा स्रोतले बतायो ।
कालापानी क्षेत्रको भूगोल र भारतीय सुरक्षा उपस्थितिबारे नेपाली पक्षलाई जानकारी हुन्छ भनेर अवरोध गरिएको बुझाइ छ । ‘कालापानी क्षेत्रको फोटो र भिडियो बनाउँछन् भन्ने डर भारतीय सुरक्षाकर्मीमा देखियो’ सुरक्षा स्रोतको भनाई छ ।
असार ३ गते व्यासक्षेत्रको निरीक्षण भ्रमण गरेका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पनि यसबारे जानकारी गराइएको स्रोतको भनाई छ । सशस्त्रका आइजिपीसंगै व्यासक्षेत्र पुगेका नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापा पनि यसबारे जानकार रहेको स्रोतले बतायो ।
छाङरुभन्दा उत्तरतर्फको महाकाली किनारमा सशस्त्र प्रहरीले नियमित गस्ती गर्दैआएको छ । स्रोतका अनुसार दुई महिनाको अवधिमा एक दर्जन पटक कौवाक्षेत्रमा गस्ती भएको छ । सशस्त्र प्रहरीले कौवाक्षेत्रमा विओपी स्थापना गर्ने तयारी पनि गरेको छ । सीमाक्षेत्रको निगरानीका लागि व्यासको कौवाक्षेत्र र तिंकरमा विओपी स्थापना गर्ने तथा छाङरुमा गुल्म राख्ने गृहकार्य भइरहेको छ ।