सशस्त्रका उच्चअधिकारीको प्राथमिकतामा व्यासक्षेत्र

2324

दार्चुला, मंसिर १९ गते ।
पाँच वर्षअघि दार्चुलामा सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म स्थापना भएको थियो । पाँच वर्षको अवधिमा दार्चुलामा सशस्त्र प्रहरीका आधा दर्जन उच्चअधिकारीले निरीक्षण भ्रमण गरेका छन् ।
दार्चुला भ्रमण गर्ने सबै उच्चअधिकारीहरुले व्यासक्षेत्रमा सुरक्षा पोष्ट राख्ने विषयलाई प्राथमिकता दिएका छन् । उच्च अधिकारीहरुको भ्रमणमा गरिने जिल्लाको सुरक्षा ब्रिफिङमा पनि व्यास क्षेत्रमा सुरक्षा उपस्थिति पहिलो प्राथमिकतामा पर्ने गरेको स्रोतको भनाई छ ।
गत असोज ९ गते सशस्त्र प्रहरीका एआइजी नारायणबन्धु थापाले दार्चुला भ्रमण गरेका छन् । दार्चुला भ्रमण गर्ने हालसम्मकै उच्च अधिकारी एआइजी थापा हुन् । एआइजीको भ्रमणमा प्रमुख जिल्ला अधिकारीलगायत जिल्लास्थित सुरक्षा अधिकारीहरुले व्यासक्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट राख्ने विषयलाई प्राथमिकता दिन आग्रह गरेका थिए ।
पाँच वर्षयता सशस्त्र प्रहरीका पाँचजना डिआइजीले पनि दार्चुला भ्रमण गरेका छन् । डिआइजी खडानन्द चौधरी, राजेश श्रेष्ठ, जितवहादुर पुनः, खडकवहादुर राई र नगेन्द्रवहादुर थापाले दार्चुला भ्रमण गरेको अभिलेख सशस्त्र प्रहरीको गुल्ममा छ । सबै उच्चअधिकारीहरुको दार्चुला भ्रमणको क्रममा व्यासक्षेत्रमा सुरक्षा उपस्थिति बढाउने विषयले स्थान पाएको थियो । दार्चुला भ्रमण गरेकामध्ये केही सुरक्षा अधिकारी रिटायर्ड पनि भइसकेका छन् । तर दार्चुलाको व्यासक्षेत्रमा सुरक्षा उपस्थिति हुन नसकेको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामी बताउनुहुन्छ ।
उच्च सुरक्षा अधिकारीको प्राथमिकताले मात्रै काम गर्न नसक्ने अवस्था रहेको धेरैको बुझाई छ । डेढ दशकदेखि दार्चुलाका प्रमुख जिल्ला अधिकारीहरुले पनि गृह मन्त्रालय र गृहमन्त्रीहरुलाई व्यासक्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट राख्न माग गर्दैआएका छन् । तर यो विषय हालसम्म सम्बोधन हुन सकेको छैन । प्रशासनिक नेतृत्व र सुरक्षा अधिकारीका साथै दार्चुलाको राजनीतिक नेतृत्वले पनि व्यासमा सुरक्षा उपस्थिति मजबुद बनाउन पहल गरेको देखिन्छ । तर सरकारको नेतृत्व गर्ने मन्त्रीहरुको प्राथमिकता र इच्छाशक्ति नभएकाले यो विषय सम्बोधन हुन नसकेको स्थानीयको बुझाई छ । छिमेकी भारतको सम्भावित नकारात्मक प्रतिक्रियाको डर र त्रासले सरकारको नेतृत्वले व्यासक्षेत्रमा आखा चिम्लिएको पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीको भनाई छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !