सर्वाधिक लामो अन्तर्राष्ट्रिय सिमाना दार्चुलामा

0
2033

दार्चुला, पुष ७ गते ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये भारतसंग सिमा जोडिएका ५ र चीनसंग सिमा जोडिएका २ जिल्ला छन् । भारत र चीन दुबैसंग सिमा जोडिएको दार्चुला जिल्ला छ । दुई देशसंग सिमा जोडिएको दार्चुलामै सबैभन्दा लामो अन्तर्राष्ट्रिय सिमाक्षेत्र रहेको छ ।
भारतसंग दार्चुलामा १ सय ९८ किलोमिटर लामो सिमाना जोडिएको सशस्त्र प्रहरी वल ५० नम्बर गुल्मका गुल्मपति डम्बरवहादुर विष्टले बताउनुभयो । दार्चुलामा चीनसंग करिब १८ किलोमिटर सिमाना जोडिएको छ । पश्चिमोत्तर त्रिदेशीय सिमाक्षेत्रमा भूअतिक्रमण भएकोले चीनसंग जोडिएको सिमानाको लम्बाई यकिन छैन । महाकालीको मुहान लिम्पियाधुरा कायम भएपछि भारतीय सिमानाको लम्बाई पनि बढ्नेछ ।
दार्चुलापछि कञ्चनपुरमा लामो सिमाना छ । कञ्चनपुर जिल्लाको १ सय २९ दशमलव ५ किलोमिटर सिमाक्षेत्र भारतसंग जोडिएको सशस्त्र प्रहरीले जनाएको छ । यसैगरी, कैलालीमा १ सय १ किलोमिटर लामो सिमाक्षेत्र भारतसंग जोडिएको छ ।
बैतडीको ६१ किलोमिटर र डडेल्धुराको ४२ किलोमिटर सिमाक्षेत्र भारतसंग जोडिएको छ । दार्चुला, बैतडी, डडेल्धुराको सबै क्षेत्रमा र कञ्चनपुरको पश्चिमी क्षेत्रमा महाकाली नदीले सिमाना छुट्याएको छ । कञ्चनपुर र कैलालीको दक्षिणतर्फ भने सिमा स्तम्भले नेपाल र भारतको सिमाना छुट्याइएको छ ।
उत्तरतर्फ बझाङ जिल्लाको सिमाना चीनसंग जोडिएको छ । बझाङमा चीनसंग सिमा जोडिएको क्षेत्र भने २२ दशमलव ५ किलोमिटर रहेको छ । चीनसंगको सिमाना हिमालय पर्वतले छुट्याएको छ । साथै, चीनसंगको सिमानामा सिमा स्तम्भ पनि राखिएका छन् ।