सरकारहरु मौन बस्नु भएन

0
1988

ललितपुर महानगरपालिकाले स्यानिटाइजर र हेलम्बु गाउँपालिकाले माक्स निर्माण कार्य सुरु गरेका छन् । भिमदत्त नगरपालिकाले महेन्द्रनगरलाई लक डाउन गरेको छ र नौगाड गाउँपालिले आफ्नो चारै किल्लामा हेल्थ डेक्स निर्माण गरेर चेकजाँच थालेको छ । बेदकोट नगरपालिकाले आइसोलेन केन्द्र सुरु गरेको छ भने शैल्यशिखर नगरपालिकाले निशुल्क माक्स वितरण गरेको छ । स्थानीय सरकारहरुले गरेका यी केही उदाहरणीय काम हुन्, जसले कोरोनाको संक्रमण बिरुद्ध लड्न सहयोग गर्नेछन् । विश्वका शक्तिशाली, स्रोत साधानले सम्पन्न मुलुकहरुलाई आफ्नो कहरको लहरमा निल्न सफल कोरोना संक्रमणले हामी जस्तो बिकासशील देशलाई आक्रान्त नपार्ला भन्न सकिने कुनै आधार नै छैन । त्यसमाथि खुला सीमानाका कारण हामी उच्च जोखिममा रहेको कुरालाई दोहोर्याउन आवश्यक छैन । कोरोना संक्रमण भएका देशहरुबाट हवाइ यात्रामार्फत नेपाल आउनेहरुले केही मात्रामा स्वास्थ्य चेकजाँच गराएर आउने र उनीहरुको सङ्ख्या समेत निश्चित हुनेहुँदा उनीहरुमार्फत फैलिन सक्ने संक्रमणलाई न्यूनीकरण गर्न सकिने देखिन्छ । खुला सिमाना मार्फत असङ्ख्य रुपमा नेपाल भित्रिने नागरिकहरुको वास्तविक स्वास्थ्य अवस्था र चेकजाँच आफैमा चुनौतिपूर्ण काम हो । आम नागरिक सचेत भएर सतर्कता नअपनाउने हो भने हाम्रो परिवार र समुदाय जुनसुकै बेला कोरोनाको चपेटमा पर्न सक्छ । आफू सतर्कता नअपनाउने र सरकारलाई मात्रै दोष दिने प्रवृत्तिले अब पुनरावृत्ति पाउनुहुन्न ।
लाली, जौलजिवी, दत्तु, खलंगा र तिग्रम पुलबाट सयौं नेपालीहरु भारतका विभिन्न क्षेत्रबाट घर फर्केका छन् । उनीहरुको प्रारम्भिक स्वास्थ्य अवस्था र उनीहरुको घर ठेगानाको प्रारम्भिक विवरण राखिएको हुनु पर्दछ । त्यतिमात्रै नभएर उनीहरुलाई घर परिवार र समाजले पनि प्रत्यक्ष निगरानिमा राख्ने र उनीहरुसँग कम्तिमा पनि दुई हप्तासम्म संसर्ग गर्ने काम गर्नु हुँदैन । यत्ति सजकता अपनाउन सकियो भने संक्रमण फैलिनबाट बच्न सकिन्छ । सकेसम्म उनीहरु आफैले क्वारेन्टाइनमा बस्दा सबैभन्दा उपयुक्त हुनेछ । यति भनेर नागरिकले मात्रै सावधानी अपनाउने र सरकारहरुले केही नगर्ने भन्ने होइन । स्थानीय सरकारहरु यतिबेला गम्भीर हुनु जरुरी छ । मार्मा क्षेत्रमा खाद्यान्न अभाव देखिएको छ । भारतले लक डाउन बढी सयम गर्ने हो र नेपालमा पनि त्यो अवस्था आउने हो भने हामीसँग खाद्यान्न भण्डार र बितरण गर्ने प्रणाली प्रभावकारी र व्यवस्थित हुनु जरुरी छ । यसको व्यवस्थापनमा स्थानीय सरकारहरु अहिलेबाटै लाग्नु पर्दछ । स्यानिटाइजर र माक्स स्थानीय सरकारहरुले उत्पादन गरेर वितरण गर्न सक्ने र प्रत्येक परिवारले सजकता अपनाएको नअपनाएको अनुगमन समेत गरेर संक्रमणलाई न्यूनीकरण गर्न सकिने हुन्छ तर यसतर्फ कमै सरकारहरुको ध्यान गएको देखिन्छ ।