सम्पूर्ण नेपाल याे (कविता)

399

तिर्थ राज घिमिरे ।

माटो बेच्न र किन्न तत्पर सबै, वैरी हुदैछन् अरे
खानी धातु अनन्त वैभवहरू, विक्री हुनेछन् अरे ।
खन्नैपर्छ चिहान शीघ्र गतिले, निर्लज्ज कंकालको
हाम्रा निम्ति अपूर्व स्वर्गसरि छ, सम्पूर्ण नेपाल यो ।।
हाम्रो संस्कृति शुद्ध वुद्ध सरिको, बन्दैछ धुलो पीठो
भाषा भेष कला बचाउनुपर्यो, लम्केर लाग छिटो ।
नेपाली अब जाग्नुपर्छ अति भो, निम्तो छ है कालको
हाम्रा निम्ति अपूर्व स्वर्गसरि हो, सम्पूर्ण नेपाल यो ।।
मेचीमाथि चढेर चन्द्र रविको, संगित घन्काउला
कालीका तटमा सगर्जन परे, यो रक्त रन्काउला ।
जागौं वेग बनी अभेद्ध भनिने, तोडेर जंजाल त्यो
हाम्रा निम्ति अपूर्व स्वर्गसरि यो, सम्पूर्ण नेपाल यो ।।
पूर्खाको वलिदान यो जमिनमा, सर्वत्र भइ व्याप्त छ
हामी मा गुण वीरता रगतमा, धेरै छ पर्याप्त छ ।
कोटी बाल मसाल क्रान्ति युगको, सम्झेर बेहाल यो
हाम्रा निम्ति अपूर्व स्वर्गसरि हो, सम्पूर्ण नेपाल यो ।।
बाधौं केतक माथमा र मनमा, साझा प्रतिज्ञा गरौं
आफ्नो जीवन जन्म अर्पण गरि, सीमा सुरक्षा गरौं ।
भागून दुश्मन तर्सिएर दृढता, सम्झेर दुस्काल को
हाम्रा निम्ति अपूर्व स्वर्गसरि हो, सम्पूर्ण नेपाल यो ।।
जय मातृभूमि !!

 

तपाईको प्रतिक्रिया दिनुहोस् !