समाजवादीलाई पाखा लगाउदैं दार्चुलामा काङ्ग्रेस र माओवादीले गरे चुनावी भागबन्डा

0
523

दार्चुला, बैशाख ७ गते ।


दार्चुलामा नेकपा एकीकृत समाजवादी पार्टीलाई पाखा लगाउदैं नेपाली काङ्ग्रेस र नेकपा माओवादीले चुनावी भागबन्डा टुङ्ग्याएका छन् । यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि दार्चुलामा सत्ता गठबन्धन दल काङ्ग्रेस र माओवादी बिच भागबन्डामा सहमति बनेको छ । 

दार्चुलाका ९ वटा स्थानीय तहहरु मध्ये पाँच वटामा नेपाली काङ्ग्रेस र चार वटामा माओवादी केन्द्रले प्रमुख पद पाउन सहमति भएको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलामा २ वटै नगरपालिका सहित तीन गाउँपालिकामा नेपाली काङ्ग्रेसले प्रमुख तथा अध्यक्ष पद पाउने छ भने बाकि चार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले पाउने गरि सहमती भएको नेकपा माओबादी केन्द्र दार्चुलाका समन्वय समिति सचिव एबं वार्ता कार्यदल सदस्य प्रेम राज पन्तले जानकारी दिनुभयो ।
नेपाली काङ्ग्रेसले महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, दुहुँ गाउँपालिका, व्याँस गाउँपालिका र मालिकार्जुन गाउँपालिका पाउने र माओवादीले मार्मा गाउँपालिका, अपी हिमाल गाउँपालिका, नौगाड गाउँपालिका र लेकम गाउँपालिकामा प्रमुख पाउने सहमति भएको छ ।
त्यसैगरि उपाध्यक्ष तथा उप प्रमुख पदमा दुई नगरपालिका र पाँच गाउँपालिका सहित सात पदमा नेपाली काङ्ग्रेस र दुई गाउँपालिकामा नेकपा माओवादीले सीट पाउने सहमति भएको पन्तले बताउनुभयो ।  अपी हिमाल, मार्मा, शैल्यशिखर, महाकाली, लेकम, दुहुँ र नौगाडमा उपप्रमुख/उपाध्यक्ष पाएको छ भने माओवादीले व्याँस गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा उपाध्यक्ष पाएको छ ।
दार्चुलाका ६१ वडाहरुमा ४४ वडामा नेपाली काङ्ग्रेस र १७ वडामा नेकपा माओवादीले पाएका छन् । नेकपा एकीकृत समाजबादीलाई वडा सदस्यरुमा आवश्यकताका आधारमा भागबन्डा दिने तय गरिएको उहाँको भनाई छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसले ५ स्थानीय तह, नेकपा एमालेले ३ र नेकपा माओवादीले १ स्थानीय तह जितेको थियो । भने दार्चुला जिल्ला भरि रहेका ६१ वटा वडाहरु मध्ये ३५ वडामा नेपाली काङ्ग्रेस, २० वडामा नेकपा एमाले र ६ वटा वडामा नेकपा माओवादीले जित हासिल गरेको थियो ।
गत निर्वाचनमा एक स्थानीय तहमा मात्रै जित हासिल गरेको माओवादीले यस पटक चार पालिकाको प्रमुख र दुईमा उप प्रमुखका लागि अवसर पाउनु सकारात्मक भएको पन्तले बताउनुभयो ।
नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले भने भागबन्डा प्रति समाजिक सञ्जालमा असन्तुष्टि पोखिरहेका छन् ।
नेकपा माओवादीले चार वटा स्थानीय तहमा अध्यक्ष तथा उपाध्यक्ष दाबी गरेपछि लामो समयदेखि वार्ताले अन्तिम रुप लिन सकेको थिएन । गठबन्धको वार्ता कार्यदलमा काङ्ग्रेसको तर्फबाट जिल्ला पार्टी सभापति ललित सिह बोहरा संयोजक तथा कोषाध्यक्ष हंशराज भट्ट र महाधिवेशन प्रतिनिधि करवीर कार्की सदस्य रहेका थिए भने माओवादीको तर्फबाट नेकपा माओवादी जिल्ला समिति संयोजक मानबहादुर धामी संयोजक र सविव प्रेम राज पन्त तथा मार्मा गाउँपालिका इन्चार्ज जमन सिह धामी सदस्य रहेका थिए ।