समस्यामा परेका नेपाली भित्रिन खलंगा स्थित नाका खुल्ने

0
1369
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, भाद्र ३० गते ।
भारतमा समस्यामा परेका नेपालीहरुका लागि अब दार्चुलाको खलंगा स्थित नेपाल–भारत जोड्ने नाका खुल्ने भएको छ । गत साउन २६ गते सोमबार बसेको मन्त्री परिषदको बैठकले नेपाल–भारत जोड्ने नाका भारतबाट प्रबेशका लागि बन्द गरेको थियो । तर सोमबार बसेको मन्त्री परिषदको बैठकले भारतमा समस्या परेका नागरिकहरुका लागि दार्चुला सदरमुकाम स्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुल खोल्ने निर्णय गरेको छ ।
सोमबारको मन्त्री परिषदको बैठकको निर्णय सार्वजनिक गर्दै परराष्ट्र मन्त्री एबं नेपाल सरकारका प्रबत्ता प्रदीप ज्ञवालीले समस्यामा परेका नेपालीहरुका लागि थप दार्चुलाको खलंगा र इलामको पशुपतिनगर नाका खोल्ने निर्णय गरेको जानकारी दिनुभयो । विगतमा समस्यामा परेका नेपालीहरु भित्रीनका लागि १० वटा नाकाहरुमात्रै तोकीएका थिए । जसमध्ये सुदुरपश्चिम प्रदेशमा कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका रहेका थिए । दार्चुला खलंगा स्थित नेपाल–भारत जोड्ने नाकालाई पनि खोल्ने निर्णय गरेसंगै भारतबाट भित्रीने दार्चुला र बैतडी क्षेत्रका नागरिकहरुलाई सहज हुनेछ । सरकारले अन्र्तराष्ट्रिय सिमानाका भने असोज ३० गते सम्म बन्द कायम गर्ने निर्णय गरेको छ ।