सबैलाई जोगाउन खोजेका थिए जीपचालकले

2260

दार्चुला, फागुन २२ गते ।
फागुन १७ गते राती दुहुँ गाँउपालिकाको वडा नम्बर ३ राताकाठा क्षेत्रमा भएको जीप दुर्घटनामा चालकले सबैलाई जोगाउने प्रयास गर्दा आफु गम्भीर घाइते भएका छन् । दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । गाडीचालक दिपकसिह धामीलाई दुर्घटनाग्रस्त जीपभित्रबाटै उद्धार गरिएको थियो ।
राताकाठाको चट्टानी क्षेत्रमा बनाइएको सडक भिरालो छ । सडकको ग्रेडिङ मिलाउने र सडक चौडा बनाउने काम ठेकेदारमार्फत भइरहेको छ । सडक निर्माणको काम भइरहेको बेला गाडी चलाउदा दुर्घटना भएको धेरैको बुझाइ छ ।
राताकाठाको उकालो सडकमा नचढेपछि जीप करिब २० फिट पछाडि तानिएको प्रहरी निरीक्षक रविन्द्र कठायतले बताउनुभयो । जीप पछाडि तानिएपछि जीपचालकले ब्रेक लगाएका थिए, तर भिरालो सडकमा जीपको ब्रेकले काम नगरेको प्रहरी अनुमान छ ।
चालकले स्टेरिङ घुमाएर गाडीलाई केही मोड्न खोजेको घटनास्थलको अवलोकनपछि प्रहरी टोलीको बुझाइ छ । “उकालोमा गाडी नचढेपछि हाम फालेर पनि चालकले आफ्नो ज्यान जोगाउन सक्थे तर सबैलाई बचाउने प्रयास गरेको देखिन्छ” दुहुँ गाँउपालिका वडा नम्बर २ हिकिलाका स्थानीय प्रेमसिह काकीको भनाई छ । घाइते जीपचालक धामी दुहुँ गाँउपालिका वडा नम्बर २ हिकिलाका वासिन्दा हुन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !