सडक निर्माणमा कमसल सामग्री प्रयोग,,गिटी भन्दा माटो बढी

242

दार्चुला,माघ ०६ गते ।
दार्चुलाको शैल्यशिखर नगरपालिका ६ स्थित निर्माणाधीन पनेबाज,ऐरीक्षना,धनथला सडकमा कमसल सामग्री प्रयोग भइरहेको स्थानियले बताएका छन् । अहिले शैल्यशिखर नगरपालिकाको पनेबाज क्षेत्रमा राजधानी कन्सटक्सनले साढे ८ करोडमा ५ किलोमिटर सडक फराकिलो गर्ने काम गरिरहेको छ । इन्जिनियर सहितको टोली नखटिँदा ठेकेदारले कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम गरिरहेको फेला परेको छ । पूर्वाधार विकास कार्यालय बैतडी मार्फत कार्यन्वयन हुने गरि निर्माण भइरहेको ५ किलोमिटर पनेबाज,ऐरीक्षना,धनथला सडकमा पल्प क्रक्रिट वाल निर्माण गर्दा गिटीमा माटोको मात्रा बढी भएको पाइएको हो । केही युवाहरुले सडक अबलोकन गर्दा निर्माण सामग्री कमसल प्रयोग गरि सडकमा पल्प क्रक्रिट वाल निर्माण गरिरहेको पाइएको थियो । यस विषयमा ठेकेदार विरेन्द्र सिंह धामीलाई सोध्दा आफु धनगढीमा रहेको र त्यो जानकारी आफुलाई नभएको बताएका छन् । कमसल सामान प्रयोग गरिएको विषयलाई निर्माणाधिन सडक हेर्ने साइड इन्चाजले चमेलिया नदीको वालुवा प्रयोग गरिरहेको र गिटी सडकबाटै निकालेर प्रयोग गरिरहेकोले माटो जस्तै देखिएको बताएका छन् । उनले गिटीमा माटोको मात्रा सुरुवाती अवस्थामा बढी पाइएको भए पनि अब गिटीको हकमा आफुहरुले सुधार गर्ने बताएका छन् । सडक निर्माण गरि सक्ने समय दुई वर्षको भए पनि आफुले १४ महिनामा सक्ने गरी काम गरिरहेको ठेकेदार धामीले बताएका छन् । साइट हेर्ने इन्जिनियर हर्कराज जोशीले भने आफु काम बिषेशले धनगढीमा रहेको र त्यस्तो सामग्री प्रयोग नगर्न भनेको र त्यसमा सुधार गर्ने बताएका छन् । त्यस्तो सामग्री प्रयोग भइरहेको कुरा मैले पनि थाहा पाएको थिए प्रयोग नगर्न भनेको छु उहाँले भन्नु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !