सञ्चार विहिन त्रिदेशीय सीमाक्षेत्र

0
621
फाइल फोटोः तिंकर गाउँ

दार्चुला, बैशाख २५ गते ।
चीन र भारत सीमा जोड्ने दार्चुलाको त्रिदेशीय सीमा क्षेत्र सञ्चार विहिन बनेको छ ।

ब्यास गाउँपालिकाको वडा नं १ मा रहेको त्रिदेशीय सीमा क्षेत्रका दुई वटा गाउँहरु छाङरु र तिंकरका स्थानियहरु सदरमुकामबाट बसाईसरि गाउँ पुगेका छन् । तर सञ्चार सेवा सुचारु नहुदाँ वाहिर रहेका आफन्तहरु संग कुराकानी गर्न समेत समस्या भइरहेको छाङरुका स्थानिय योगेश बोहराको भनाई छ । यस बर्ष बैशाखमा हिमपात परेकाले स्थानियहरु कुञ्चा सर्ने वित्तिकै टावर सुचार गर्न सकिएको छैन ।
नेपाल टेलिकमको स्काई टावर रहेको छाङरुको सर्चिकोट डाडामा भारि हिमपात हुदाँ एन्टीना र सोलार हिउले पुरिएको अवस्थामा रहेको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो । टावर रहेको डाडामा हिमपात हुदाँ फोन सेवा सुचारु गर्न सकिएको छैन उहाँले भन्नुभयो । बर्षेनि टेलिकमको सामानमा हिउँले क्षति हुने तथा तोडफोड हुने गरेको टेलिकम दार्चुलाका प्रमुख गुङरुको भनाई छ । ‘बर्षेनि टावरको सामानमा क्षति हुने गरेको छ, यस पटक क्षति भएको यकिन गरि सामान काठमाण्डौबाट ल्याउन समेत बाकि नै छ’ उहाँले भन्नुभयो । छाङरुमा रहेको सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका लागि भने दुई वटा सेटेलाइट ल्याण्डलाइनहरु जडान गरिएको छ ।

छाङरुको सर्चीकोटमा रहेको स्काई फोन सेवाको टावर

छाङरुका स्थानियहरुका लागि निश्चित शुल्कमा लाइन प्रयोग गर्न दिन सशस्त्र प्रहरीलाई अनुरोध गरिएको टेलिकम दार्चुलाका प्रमुख गुरुङको भनाई छ । छाङरुमा विगत बर्ष देखि भायोनेट समेत सञ्चालनमा रहेको छ । भायोनेटबाट भिडियो कल, अडियो कल लगायत गर्न सकिने भएपनि सबैका लागि त्यो प्रवधि पहुँचमा नहुदाँ आम नागरिक सञ्चारबाट बन्चीत छन् । भायोनेट पनि बेला बेला अवरुद्ध हुने गरेको स्थानियहको गुनासो छ । छाङरुका स्थानियहरु संग सशस्त्रको फोन लाइन तथा भायोनेट प्रयोग गर्ने विकल्प रहेपनि तिंकर गाउँका नागरिकहरुका लागि सञ्चार सपना जस्तै छ । छाङरुमा रहेको स्काई फोन सेवाको टावर सुचारु भएमा तिंकरका बासिन्दालाई केहि तल हिडेर फोन लाग्ने गरेको भएपनि हाल स्काई टावर समेत अवरुद्ध हुदाँ सञ्चार विहिन अवस्थामा बस्नु परेको छ ।
स्काई फोन सेवाको टावर रहेको सर्चिकोट डाडामा हिउ पग्लीएपछि टावर सञ्चालनमा ल्याइने नेपाल टेलिकम दार्चुलाका प्रमुख गुरुङले भन्नुभयो । जेठ महिना सम्म हिउ पग्लीएपछि सुचारु गर्ने काम थालिन्छ, तर बन्दाबन्दी लम्बिए अझै केहि समय लाग्न सक्छ उहाँले भन्नुभयो ।

नमस्ते टावर सञ्चालनमा पनि समय लाग्ने

छाङरुमा निर्माण गरिएको नमस्ते फोन सेवाको टावर सञ्चालन गर्न अझै समय लाग्ने छ । छाङरुको ज्याकी भन्ने ठाउँमा बनाइएको नमस्ते फोन सेवाको एन्टीना जडान, भवन निर्माण लगायतको काम सम्पन्न भएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुङरुले जानकारी दिनुभयो । छाङरुमा नमस्ते फोन सेवा सञ्चालनका लागि सुन्सेराको कैचुलामा रिपिटर टावर राख्नुपर्नेछ । कैचुलामा रिपिटर टावरका लागि भवन निर्माण सम्पन्न भएको छ भने प्रविधि जडान गर्न बाकि छ । कैचुलामा रिपिटर टावर निर्माण भएपनि छाङरुको नमस्ते फोन सेवा सञ्चालन गरि तिंकर गाउँका लागि समेत छुट्टै टावर निर्माण गर्ने योजना रहेको टेलिकम दार्चुलाका प्रमुख गुरुङको भनाई छ । छाङरुमा बन्न लागेको नमस्ते फोन सेवाको टावरमा फोर जी सञ्चालन गरि तिंकरका लागि टु जी को नयाँ टावर तिंकर नजिक बनाइने उहाँको भनाई छ ।