शैक्षिक विडम्बनाको अध्याय

2551

पछिल्लो समय शिक्षा पद्धति, शिक्षा नीति र अध्ययन अध्यापनलाई समेत परिवर्तन गर्ने कुरा जोडदार रुपमा उठेको छ । राज्यले नै अब साधारण शिक्षाभन्दा प्राविधिक शिक्षालाई, आधुनिक पद्धति, स्वरोजगारमुखी शिक्षा नीति तथा गहन अध्ययनलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने नीति लिएको छ । माध्यमिक तहदेखि उच्च तहसम्मको अध्ययन अध्यापनमा अब साधारणभन्दा प्राविधिक शिक्षाले विशेष प्राथमिकता पाउने देखिन्छ । शिक्षक, राजनीतिक नेता, सामाजिक अभियन्ता, शिक्षाविद् र प्रशासकहरु जो शिक्षासम्बद्ध सरोकारवालाहरु हुने उनीहरु सबैले अब प्राविधिक शिक्षामा जोड दिनु पर्दछ, प्राथमिकता दिनु पर्दछ भन्ने गरेका छन् । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले प्राविधिक शिक्षामा जोड दिने कार्यनीति नै तय गरेका छन् । यसरी सबैतिर प्राविधिक शिक्षाको चर्चा परिचर्चा, राज्यको प्राथमिकता चलेको बेला प्राविधिक शिक्षाका विविध आयामका वारेमा चर्चा गर्नु अनिवार्य छ ।
बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि विद्यालय खोल्नु पर्दछ, शिक्षाबाट कसैलाई पनि बञ्चित गर्नु हुँदैन, कम्तिमा पनि (तत्कालीन एक गाउँ विकासमा) एक माध्यमिक तह र वडाहरुमा एक प्राथमिक विद्यालय अनिवार्य हुनु पर्ने अलिखित मान्यताले काम गर्यो । गाउँ गाउँमा विद्यालयहरु खुले । अहिले तिनै विद्यालयहरु घाडो भएको छ । विद्यालय खोल्न अनुमति मात्रै दिने । त्यो विद्यालयका लागि आवश्यक भौतिक पूर्वाधार अन्तर्गत विद्यालय भवन, शौचालय, पुस्तकालय, खेलमैदान, घेरपर्खाल, जनशक्तितर्फ पर्याप्त शिक्षक, कर्मचारीका साथै आवश्यक शैक्षिक सामग्रीहरु, शिक्षकहरुलाई तालिमको खाँचो देखेन सरकारले फलस्वरुप अहिले विद्यालयहरु मर्ज गर्नु पर्ने, शिक्षक व्यवस्थापन गर्न समस्या पर्ने, विद्यार्थी शिक्षक अनुपात मिल्दै नमिल्ने, सिकाई उपलब्धी बढ्दै नबढ्ने, गुणस्तर उकास्नै नसकिने समस्याले शिक्षा क्षेत्र ग्रस्त छ । बिगतको कमजोरीले शिक्षाको विद्यामान अवस्था कन्तविजोग भएको कुरालाई गम्भीरताका साथ लिइनु पर्दछ । हचुवाका भरमा विद्यालय खोल्ने अनुमति दिने, आवश्यक भएको ठाउँमा न भौतिक निर्माण, न जनशक्ति, न शैक्षिक सामग्री उपलब्ध गराउने सक्ने सरकारको नीतिले शैक्षिक विडम्बना सुरु भएको तीतो कुरालाई बिर्सन हुँदैन ।
विद्यमान शिक्षामा यस्तो बिडम्बना ल्याउने काम सुरु भएको अढाई दशकपछि पुनः प्राविधिक शिक्षाका नाममा भविष्यमा अर्को बिडम्बना निम्त्याउने काम त गर्दै छैनौं ? यो प्रश्नमा गम्भीर हुनु जरुरी छ । पहिला विद्यालय आवश्यक थिए । विद्यालय खोल्यौं । ‘अहिले प्राविधिक शिक्षा आवश्यक छ । प्राविधिक विषय अध्यापन सुरु गरौं ।’ भन्ने मात्रै धेयले यदि प्राविधिक शिक्षालयहरु खोल्ने अनुमति सरकारले दिने काम सुरु गरेको हो भने शैक्षिक बिडम्बनाको अर्को अध्याय सुरु हुँदैछ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !