शिक्षक महासंघको नेतृत्वमा सहमति

2325

दार्चुला, पुष २१ गते ।
डेढ वर्षदेखि दार्चुलामा गठन हुन नसकेको नेपाल शिक्षक महासंघ गठनमा शिक्षक संगठनहरुबीच सहमति जुटेको छ । नेतृत्व चयनमा सहमति जुटन नसक्दा डेढ वर्षदेखि दार्चुलामा महासंघ गठन हुन सकेको छैन । एक हप्ताअघि तीन शिक्षक संगठनबीच महासंघको नेतृत्व चयनमा सहमति बनेको हो ।
पुष १४ भएको सहमतिअनुसार दार्चुलामा शिक्षक महासंघको नेतृत्वमा नेपाली काग्रेसनिकट नेपाल शिक्षक संघले गर्ने भएको छ । शिक्षक ट्रेड युनियनहरुको छाता संगठनको रुपमा महासंघ गठन गरिन लागेको नेपाल राष्ट्रिय शिक्षक संगठन दार्चुलाका अध्यक्ष मोहनदत्त भट्टले बताउनुभयो ।
यसअघि नेपाल शिक्षक युनियन छाता संगठनको रुपमा रहेको छ । युनियनमा माओवादीनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको असहमति रहदैआएकोमा पछिल्लो समय नेपाल शिक्षक महासंघ गठनको व्यवस्था गरिएको हो ।
काग्रेस, एमाले र माओवादीनिकट शिक्षक संगठनहरुबीच भएको सहमतिअनुसार शिक्षक महासंघको जिल्ला अध्यक्ष, सहसचिव र ४ जना सदस्य नेपाल शिक्षक संघबाट रहनेछन् । महासंघ गठनको व्यवस्थाअनुसार अध्यक्षसहितका पदाधिकारी चयन हुने एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष जनकसिह धामीले बताउनुभयो ।
एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक संगठनले उपाध्यक्ष, सचिव र ३ सदस्य पाउने भएको छ । माओवादीनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले सह अध्यक्ष, सहसचिव र महिलासहित २ सदस्य पाउनेछ । शिक्षक महासंघको जिल्ला समितिमा नेपाल विद्यालय कर्मचारी परिषद्का प्रतिनिधि, शिक्षक ट्रेड युनियनका जिल्ला अध्यक्षहरु र अन्य पक्षको समेत प्रतिनिधि रहने व्यवस्था छ । महासंघको जिल्ला समिति २५ सदस्यीय हुनेछ ।
माघ पहिलो हप्ताभित्र महासंघको जिल्ला समिति घोषणा गर्ने तयारी छ । तीनवटै संगठनले आफ्नो भाग परेका पदाधिकारीहरु चयनको गृहकार्य समेत अगाडि बढाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस् !