शिक्षकलाई कोरोना विरुद्धको खोप नलगाई विद्यालय सञ्चालन गरे आन्दोलन गरिने

0
692
फाइल फोटो

दार्चुला, असार ३ गते ।
शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ दार्चुलाले शिक्षक र विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन माग गरेको छ ।

कोरोनाको जोखिमबाट जोगिन कोरोना विरुद्धको खोप लगाउने गरिएकोमा विद्यालय जस्तो भिडभाड हुने क्षेत्रमा काम गर्ने शिक्षक र विद्यालय कर्मचारी सरकारको प्राथमिकतामा नपरेको महासंघको गुनासो छ । कोरोना संक्रमणको उच्च जोखिमका अवस्थामा पनि शिक्षक र विद्यालय कर्मचारीहरुले खोप विना परिक्षाफल, विद्यार्थी भर्ना लगायतका काम गरिरहेको नेपाल शिक्षक महासंघ दार्चुलाका सह–अध्यक्ष विनोद सिह कुवरको भनाई छ ।
शिक्षक, विद्यालय कर्मचारी तथा अठार बर्ष पुगेका विद्यार्थीहरुका लागि समेत कोरोना खोपको ब्यवस्थापन गर्न नेपाल शिक्षक महासंघ दार्चुलाले दार्चुुलाका प्रमुख जिल्ला अधिकारीलाई विहिबार ध्यानाकर्षण पत्र दिएको छ । जिल्लालाई प्राप्त खोपबाट थयासिघ्र शिक्षक, विद्यालय कर्मचारी तथा विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउने ब्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी सिद्ध राज जोशीलाई ज्ञापन पत्र दिएको नेपाल शिक्षक महासंघ दार्चुलाका सह–अध्यक्ष कुवरले जानकारी दिनुभयो । नियमित विद्यालय सञ्चालन गर्नु पुर्व कोरोना विरुद्धको खोप लगाउने ब्यवस्थापन नभएमा नियमित विद्यालय सञ्चालन गर्न नसकिने उहाँको भनाई छ । कोरोना विरुद्धको खोप नलगाई विद्यालय जबरजस्ती सञ्चालन गर्न खोजिए आन्दोलनका कार्यक्रमहरु गरिने नेपाल शिक्षक महासंघ दार्चुलाका अध्यक्ष राजेश सिह सामन्त र सह–अध्यक्ष विनोद सिह कुवरद्धारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्र हेर्नुहोस ।