शासक प्रशासक सुध्रिऊन्ः संविधान दिवसको शुभकामना

692

सम्पादकीय ।
संविधान जारी भएको छ वर्ष पूरा भएको छ । संविधानले सातौँ वर्ष प्रवेश गर्दा पनि संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने पक्षलाई संविधानभित्र समेट्न सकिएको छैन ।

संविधान जारी भएको दिनलाई लोकतान्त्रिक समाजवादीले कालो दिनका रुपमा मनाउने भएको छ भने जनता समाजवादीले पनि संविधान दिवस नमनाउने भएको छ । उता संघीयताकै बिरोधि चित्रबहादुर केसीको पार्टीले संघीयताबाहेकका विषय संविधानमा स्वीकारयोग्य भएको जनाउँदै आएको छ भने राजा र हिन्दु धर्मको वकालत गर्नेहरुले पनि संविधानका मौजुदा प्रावधानमै आफ्ना राजनीतिक गतिविधिहरु गर्दै आएका छन् । संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने वा संविधान दिवश नमाउने शक्तिहरु पनि यो बिचमा पटक पटक सरकार सञ्चालनको ठाउँमा पुगेका छन् । जनता समाजवादी पार्टी फुटाएरै अहिले सरकारमा छ र उसैका नेताहरुले संविधान दिवस नमनाउने घोषणा गरेका छन् । यसै संविधानका प्रावधानहरुमा टेकेर संसद हुने, सांसदवाफतको सबै सेवासुविधा लिने, सरकारमा सहभागि हुने तर यही संविधान नमान्ने दोहोरो चरित्र प्रदर्शनका पछाडि कयन बाध्यता हुन सक्छन् तर यस्तो रवैयाले उनीहरुको राजनैतिक हैसियत घटाउदै लगेकोमा प्रश्न रहन नसक्ने अवस्था आएको छ । एक मधेस एक प्रदेश बनाउने, मधेसलाई छुट्टै राज्यका रुपमा स्थापना गर्ने यसैबाट मधेसी नागरिकको समृद्धिको यात्रा सुरु हुने जुन सपना मधेसवादी यी राजनीतिक दलहरुले मधेसमा बाँडेका थिए ती सपनाहरु यी नेताहरुको हातबाट पूरा नहुने र उनीहरुका मुद्दा अखण्ड राष्ट्रको पक्षमा नभएको समेत मधेसी जनताले बुझ्न थालेका छन् । एक समय अन्य पार्टीले मधेसमा छिर्नै नसक्ने अवस्था सिर्जना गरेका मधेसवादी दलहरु अहिले मधेस मै प्रतिरक्षाको अवस्थामा पुगेका छन् । केही नेताहरुबाहेक निर्वाचनमा गठबन्धन नहुने हो भने मधेसवादी दलहरुले दोहोरो संख्यामा प्रतिनिधि सभा सदस्य नजित्ने अवस्था सिर्जना भएको मधेसविज्ञहरुले बताउन थालेका छन् । पछिल्लो समय मधेसमा क्रियाशील आइटी आर्मी र डा. राउतको सशक्त उपस्थितिले पुराना मधेसवादी नेताहरुलाई ठूलो चुनौति सिर्जना गर्नेछन् । संविधानतः आफ्ना हक अधिकार सुनिश्चित गर्ने र नागरिकलाई समृद्धिको बाटो लैजाने रणनीति अपनाइएको यो परिदृष्य अलग हुन सक्थ्यो । संविधान जारी भएको दिनलाई कालो दिन मनाएर मात्रै नागरिकले समृद्धिको लक्ष्य भेटाउन सक्दैनन् ।

उसो त संविधान जारी भएको दिनलाई धुमधाम दिपावलीसहित मनाउने उर्दि जारी गर्ने राजनीतिक दलहरुको रवैयामा पनि जनता विश्वस्त छैनन् । नेता केन्द्रित राजनीति, दोहोरिएको संसदीय फोहोरी खेल र बढ्दो अनियमितताले नयाँ संविधानअनुसार देश चलेको अनुभूति नै हुन पाएको छैन । यो अनुभूतिलाई चाँडै सकारात्मक बनाउन शासक प्रशासकहरुले धेरै कुरा सुधार गर्नु पर्ने छ, त्यो सुधार होस् संविधान दिवसको शुभकामना ।

तपाईको प्रतिक्रिया दिनुहोस् !