शवयात्राको गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु, छोराको मृत्युको पीडाले बुवाको ज्यान गयो

0
2869

दार्चुला, माघ १५ गते ।
भारतको चम्पावत जिल्लामा आइतवार शवयात्राको गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । चम्पावत जिल्लाको मिर्तोली गाँउमा घटना भएको हो । मिर्तोली गाँउदेखि रामेश्वर घाटको शवयात्रा भइरहदा टनकपुर–पिथौरागढ राष्ट्रिय राजमार्गमा शववाहन गाडी दुर्घटना भएको हो ।
शवयात्रामा रहेको पिकअप गाडी अनियन्त्रित भएर सडकबाट ३ सय मिटर तल खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलमै ८ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।
गाडी दुर्घटनामा ज्यान गुमाएका ८ जनामध्ये मिर्तोली गाँउका कृष्णचन्द्र जोशी एक थिए । कृष्णचन्द्रको शव आइतवार राती १२ बजे घटनास्थलबाट घरमा ल्याइएको थियो । छोराको मृत्युको पीडाले कृष्णचन्द्रका बुवा हेतराम जोशीको आइतवार राती मृत्यु भएको छ । बुवा हेतरामको हृदयघातबाट मृत्यु भएको जनाइएको छ ।
गाडी दुर्घटना र हृदयघातबाट मृत्यु भएका सबैको सोमबार सामूहिक दाहसंस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रामेश्वर घाटमा भएको सामूहिक दाहसंस्कारमा सहभागी सबै शवयात्री भावुक बनेका थिए ।
गाडी दुर्घटनामा घाइते १२ जनाको चम्पावत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिह रावतले मृतकका परिवारजनलाई एक–एक लाख भारु आर्थिक सहयोगको घोषणा गरेका छन् ।