व्यास जोड्ने पैदल बाटो मर्मत गरिदै

0
837

सेनाले २५० मिटर चट्टान फुटायो, प्रदेशले ३० लाख र गाउँपालिकाले २४ लाख खर्च गर्दै
दार्चुला, असार १७ गते ।
दार्चुला सदरमुकामदेखि व्यासक्षेत्र जोड्ने पैदल बाटोको मर्मत कार्य चलिरहेको छ । बाटो सञ्चालनमा ल्याउन नेपाली सेनाले व्यास गाउँपालिकाको वडा नम्बर २ घाटिबगड क्षेत्रमा काम गरिरहेको छ ।
एक महिनादेखि घाटिबगड क्षेत्रको मौराभिर चट्टानमा काम थालेको सेनाले २ सय ५० मिटर बाटो खोलिसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । मौराभिर चट्टानमा ४ सय ५० मिटर लामो बाटो बनाउन नेपाली सेनाको टोली खटाइएको छ । सेनाले असारभित्रै बाटो निर्माण गरिसक्ने जनाएको छ ।
राप्लाको दुम्लिङदेखि घाटिबगडसम्मको क्षेत्रमा दुइटा उपभोक्ता समितिमार्फत व्यास गाउँपालिकाले बाटो मर्मतको काम गरिरहेको गाउँपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार व्यासक्षेत्रको कुञ्चा सर्नुअघिदेखि गजेन्द्र सिंह विष्टको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी बाटो मर्मतको कार्य भइरहेको छ । विष्ट नेतृत्वको उपभोक्ता समितिसंग गाउँपालिकाले २४ लाख रुपैयाँको सम्झौता गरेको छ ।
व्यासक्षेत्रका वासिन्दाको कुञ्चा सर्नुअघि वैशाख महिना र जेठको पहिलो हप्तासम्म बाटो मर्मतको कार्य भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको बजेटबाट बाटो मर्मतको कार्य अहिले पनि भइरहेको प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले बताउनुभयो । ‘उपभोक्ता समितिले ७ लाख रुपैयाँ पेश्की लगेको छ, काम सम्पन्न भइसकेको छैन, काम सम्पन्न भएपछि प्राविधिक मूल्यांकन र अनुगमन गरेर भुक्तानी गरिनेछ’ उहाँले भन्नुभयो ।
उपभोक्ता समितिले ठाउँठाउँमा भत्किएको बाटो मर्मत गरेको र व्यासक्षेत्रको कुञ्चा सार्दा महाकालीमा अस्थायी काठेपुल पनि लगाएको गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीले बताउनुभयो । कुञ्चा सरेकै दिन भाँचिएर महाकालीको काठेपुल भत्किएको तिंकरका स्थानीय वासिन्दा निरञ्जन बुढाथोकीले बताउनुभयो ।
व्यासको बाटो मर्मतका लागि सुदूरपश्चिम प्रदेश सरकारले गाउँपालिकालाई ३० लाख बजेट उपलब्ध गराएको छ । प्रदेश सरकारको बजेटबाट वडा नम्बर २ र वडा नम्बर १ को क्षेत्रमा बाटो मर्मतको कार्य भइरहेको प्रमुख प्रशासकीय अधिकृत ओझाले बताउनुभयो । दुम्लिङदेखि बयलीधारसम्मको क्षेत्रमा १५ लाख र बयलीधारदेखि छाङरुसम्मको क्षेत्रमा १५ लाख रुपैयाँ बजेटको सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।
दुम्लिङदेखि बयलीधारसम्मको बाटो मर्मतको उपभोक्ता समिति अध्यक्ष मुकेश सिंह बुढाथोकी र वडा नम्बर १ को क्षेत्रमा मर्मत गरिने बाटोको उपभोक्ता समिति अध्यक्ष मनवीर ऐतवाल रहेका छन् । दुबै उपभोक्ता समितिलाई बाटो निर्माणका लागि ३० प्रतिशत रकम पेश्की दिइएको गाउँपालिकाले जनाएको छ । जेठ पहिलो साता सम्झौता गरिएकोमा हाल दुबै समितिले बाटो मर्मतको कार्य गरिरहेको गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीले बताउनुभयो ।
अत्यावश्यक ठाउँमा बाटो निर्माण र मर्मत गर्ने कार्य भइरहेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताउनुभयो । ‘दुम्लिङदेखि घाटिबगडसम्मको क्षेत्रमा दुइटा उपभोक्ता समितिबाट काम भइरहेको छ । गाउँपालिका अध्यक्ष बुढाथोकी २४ लाखको उपभोक्ता समितिले अधिकांश काम सम्पन्न गरेको बताउनुहुन्छ । ‘तम्बाकु क्षेत्रमा चट्टान फुटाएर बाटो बनाउनुपर्नेछ, विष्ट नेतृत्वको उपभोक्ता समितिले यो काम गर्न बाँकी छ’ उहाँले भन्नुभयो ।
तम्बाकुक्षेत्रमा चट्टान फुटाएर बाटो बनाउने वा आरसिसि पुल बनाउनेबारे छलफल भइरहेको गाउँपालिका अध्यक्ष बुढाथोकीले बताउनुभयो । महाकाली नदी किनार छेउ र भिरालो चट्टान भएकाले तम्बाकुक्षेत्रमा बाटोको ट्रयाक खोल्न असजिलो भएको उहाँको भनाई छ । ‘यो समितिलाई तम्बाकु क्षेत्रमै बाटो निर्माण गर्ने जिम्मेवारी दिइएको छ, केही दिनमा बाटो बनाउछ’ बुढाथोकीले भन्नुभयो ।
वडा नम्बर १ को उपभोक्ता समितिले छाङरुबाट तल ठाउँठाउँमा बाटो मर्मत गर्दैआएको छ । हाल तीन दर्जन कामदारको टोलीले दोपाखे क्षेत्रमा काम गरिरहेका छन् । दोपाखे नजिकको गिरगिरसिन र बुँदीक्षेत्र बाटो मर्मत गरिसकेको व्यासबाट मंगलवार खलंगा पुगेका तिंकरका स्थानीय ईश्वर सिंह तिंकरीले बताउनुभयो ।
बाटो मर्मतमा खवरदारी
व्यास जोड्ने पैदल बाटोमा विगतदेखि ठूलो रकम खर्च भए पनि नियमित सञ्चालनमा आउन सकेको छैन । खर्च भएको रकमबाट राम्रो र गुणस्तरीय काम नभएको व्यासवासीको गुनासो छ ।
‘व्यासको बाटोमा हरेक वर्ष लाखौं बजेट खर्च हुँदैआएको छ तर बाटो सञ्चालनमा छैन’ व्यासको छाङरुका वासिन्दा योगेश सिंह बोहराले भन्नुभयो, ‘यसपटक पनि विगतकै जस्तो लापरवाही देखिए व्यासका जनता चुप लागेर बस्दैनन् ।’
पैदल बाटो दीगो र गुणस्तरीय बनाउनुपर्ने स्थानीयको माग छ । लाखौं खर्च गरेर मर्मत गरिएको बाटो सञ्चालनमा नआए व्यासवासीले संघर्ष गर्ने छाङरुका अर्का स्थानीय युवा विमल बोहराको भनाई छ । ‘धेरै वर्षदेखि बाटोमा बजेट खर्च हुने तर सञ्चालन नहुने रोग नै छ, अब यस्तो अवस्था सहिदैन’ उहाँले भन्नुभयो ।
व्यासको बाटो निर्माणमा भइरहेको बजेट खर्चअनुसारको काम गराइने प्रमुख प्रशासकीय अधिकृत शेखरचन्द्र ओझाले बताउनुभयो । ‘प्राविधिक मुल्यांकन र स्थलगत अनुगमन गरेर मात्रै भुक्तानी गर्छौ, बाटोको काम गुणस्तरीय बनाउन जनप्रतिनिधि र स्थानीयले पनि अनुगमन गर्छन्’ उहाँले भन्नुभयो ।
पेशाले शिक्षक रहेका तिंकरका स्थानीय चमकसिंह तिंकरीलाई विगतको जस्तै बजेट खर्च हुने तर बाटो सञ्चालन नहुने चिन्ता छ । ‘तर यो वर्ष धेरैको ध्यान व्यासको बाटोमा परेकोले केही आश छ’ तिंकरीले भन्नुभयो ।
व्यासको बाटोमा नियमित मर्मतसम्भार नगरिदा समस्या हुँदैआएको तत्कालिन व्यास गाविस अध्यक्ष जहेन्द्रसिह ऐतवालको भनाई छ । ‘एकपटक बाटो निर्माण वा मर्मत गरेर हुँदैन, नियमित रुपमा बाटो मर्मत गर्न सके मात्रै बाटो सञ्चालनमा आउछ’ उहाँले भन्नुभयो । वर्षातको पानी र हिउदको हिमपातले ठाँउठाँउमा बाटो क्षतिग्रस्त हुने गरेकोले बाह्रै महिना नियमित बाटो मर्मत गरिरहनुपर्ने उहाँको भनाई छ ।
बाटो नहुँदा पाँच दर्जन चौपाया अलपत्र
व्यास जोड्ने बाटो नहुदा तिंकरका वासिन्दा निरञ्जन बुढाथोकीका पाँच दर्जन पशुचौपाया अलपत्र परेका छन् । व्यास गाउँपालिकाको वडा नम्बर २ तम्बाकुनजिकैको थिई भन्ने स्थानमा चौपाया रोकिएका छन् ।
हरेक वर्षको यो सिजनमा तिंकर गाउँ लग्ने गरेकोमा यसपाली बाटो नहुँदा आफ्ना पशुचौपाया अलपत्र परेको बुढाथोकीले बताउनुभयो । थिई क्षेत्रमा गर्मी बढेकोले पशुचौपायालाई समस्या भइरहेको उहाँले बताउनुभयो । चिसो ठाँउमा पालिने पशुचौपायालाई व्यासक्षेत्र पुर्याउन नसक्दा आफुलाई ठूलो मर्का परिरहेको बुढाथोकीको गुनासो छ ।
जेठ ९ गते तम्बाकुक्षेत्रमा महाकाली नदीमा राखिएको काठेपुलबाट व्यासक्षेत्रका वासिन्दाको कुञ्चा गएको थियो । तर त्यही दिन काठेपुल भत्किएपछि निरञ्जन बुढाथोकीले पाँच दर्जन पशुचौपाया तम्बाकु क्षेत्रमै अलपत्र परे । बुढाथोकीका आधा दर्जन घोडा खच्चर भने काठेपुल तरेर व्यास पुगिसकेका छन् ।
‘सबैका गाइवस्तु काठेपुलमा तरेपछि मेरो पालो आयो तर ६ वटा घोडा तरेपछि पुल नै भत्कियो’ उहाँले भन्नुभयो । काठेपुल भत्किएपछि एउटा घोडा महाकाली नदीमा खसेको थियो । केही मिटर तलबाट नदी तरेर घोडा भारततर्फ उत्रिएको थियो । बुढाथोकीले काठेपुल भत्किएपछि पाँच दर्जन पशुचौपाया अलपत्र परेको बताउनुभयो ।
तम्बाकु क्षेत्रमा दोस्रोपटक काठेपुल राख्न भारतीय सुरक्षाकर्मीले नदिएको र नेपालतर्फबाट बाटो नहुँदा समस्या परेको बुढाथोकीको भनाई छ । ‘सेनाले बाटो बनाउदैछ तर सोचअनुसार चाँडो काम भएको छैन, असारसम्म पनि बाटो खुल्ने होइन कि भन्ने चिन्ता छ’ उहाँले भन्नुभयो ।
व्यासको बाटोमा एक करोडभन्दा बढी खर्च
तीन वर्षको अवधिमा व्यासको बाटोमा एक करोडभन्दा बढी बजेट खर्च हुँदैछ । स्थानीय सरकार बनेपछि आर्थिक वर्ष २०७४÷७५ मा पहिलोपटक व्यास गाउँपालिकाले २५ लाख रुपैयाँ खर्च गरिएको थियो । दोस्रो वर्ष गाउँपालिकाले बाटो मर्मतमा २० लाख खर्च गरेको थियो । आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश सरकारले बाटो मर्मतमै २५ लाख विशेष अनुदान दिएको थियो ।
चालु वर्षमा व्यास गाउँपालिकाले २४ लाख र प्रदेश सरकारले ३० लाख बजेट खर्च गर्दैछ । तीन वर्षको अवधिमा १ करोड २४ लाख रुपैयाँ व्यासको बाटो मर्मतमा खर्च हुँदैछ । करोडौं बजेट खर्च गरिएपछि बाटो सञ्चालनमा ल्याउनुपर्ने भन्दै दबाव बढेको छ ।
व्यासको पैदल बाटो सबैको प्राथमिकतामा भएकोले जसरी पनि सञ्चालनमा ल्याइने व्यास गाउँपालिका अध्यक्ष दिलिपसिंह बुढाथोकीको भनाई छ । ‘गाउँपालिकाले उच्च प्राथमिकता दिएको छ र अन्य क्षेत्रबाट पनि चाँसो र प्राथमिकता छ, अब नियमित रुपमा व्यासको बाटो सञ्चालनमा ल्याउछौ’ उहाँले भन्नुभयो ।
विगतमा निर्माण र मर्मत गरिएको बाटो भारतीय क्षेत्रको सडक निर्माणका कारण क्षतिग्रस्त भएको गाउँपालिका अध्यक्षको भनाई छ । धेरैजसो ठाउँमा महाकाली नदी किनारमा नेपालको पैदल बाटो रहेको छ । भारततर्फको सडक निर्माणले महाकाली नदी थुनिदा नेपालको बाटो भत्किएको र पुरिएको छ ।