व्यास ऋषिको सालिक राख्ने जगतगुरुको घोषणा

627

दार्चुला, फागुन २४ ।
नेपालका प्रथम तथा ऐतिहासिक जगतगुरु वालसन्त मोहनशरण देवाचार्यले दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा व्यास ऋषिको सालिक स्थापना गर्ने घोषणा गर्नुभएको छ । दार्चुलाका महत्वपूर्ण तिर्थधामहरुको यात्रा गर्नेक्रममा मंगलवार सदरमुकाम खलंगामा जगतगुरुले यस्तो घोषणा गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महाकाली नगरपालिकाले आयोजना गरेको कार्यक्रममा जगतगुरु मोहनशरण देवाचार्यले व्यास ऋषिको तपोभूमिमा सालिक राख्ने घोषणा गर्नुभएको छ । ‘सुदूरपश्चिम पवित्रस्थल हो, वेदव्यासले यसैक्षेत्रमा वेद, पुराणको रचना गरेका थिए’ जगतगुरुले भन्नुभएको छ । वेदव्यासको तपस्थलीमा उहाँको सालिक राखेर व्यासक्षेत्रको महत्वबारे उजागर गरिने जगतगुरुले घोषणा गर्नुभयो ।

संसारभरीका देवताहरुको प्राण सञ्चार गर्ने पवित्र भूमि नेपाल भएको बताउदै जगतगुरुले नेपाली भूमि र प्राकृतिक सम्पदाको पहिचान र प्रचारप्रसार जुट्न सबैलाई आग्रह गर्नुभयो । ‘नेपाल भूमि सुख र आनन्दको स्रोत हो, विश्वको शिर हो’ जगतगुरु मोहनशरण देवाचार्यले भन्नुभयो । विश्वकै प्रसिद्ध तिर्थस्थल व्यास क्षेत्र भए पनि यसको उजागर हुन नसकेको उहाँको भनाई छ । व्यासक्षेत्रको महत्वबोध गराउने र व्यास ऋषिको योगदानलाई सम्मान गर्न सालिक निर्माण गरिने जगतगुरुको घोषणा छ ।

सनातन संस्कृतिमा भगवान शिवका १२ ज्योतिर्लिङ्गमध्ये ६ वटा ज्योतिर्लिङ्ग सुदूरपश्चिममा मात्रै रहेको जगतगुरुको भनाई छ । दार्चुलाको मालिकार्जुन र नागेश्वर धाम १२ ज्योतिर्लिङ्गमध्ये प्रमुख छन् । बैतडीस्थित राहुलाकेदार, विश्वनाथ र रामेश्वर धाम पनि १२ ज्योतिर्लिङ्गमध्ये रहेको जगतगुरुले बताउनुभयो । यसैगरी, अछामको वैद्यनाथ सुदूरपश्चिममा रहेको अर्को ज्योतिर्लिङ्ग रहेको उहाँको भनाई छ ।

नेपालका प्रथम तथा ऐतिहासिक जगतगुरु मोहनशरण देवाचार्यकै पहलमा केही वर्षअघि मालिकार्जुन धाम र नौगाड गाउँपालिकाको वडा नम्बर १ नागेश्वर धाममा ज्योतिर्लिङ्ग स्थापना गरी नियमित पूजापाठ हुँदैआएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ स्थित प्रसिद्ध मालिकार्जुन मन्दिरमा हरेक सोमबार रुद्राभिषेक गरिदैआएको मालिकार्जुन विकास समितिका सचिव जनक सिंह धामीले बताउनुभयो ।

यसपालीको शिवरात्री पर्वमा जगतगुरुले मालिकार्जुन धामको भ्रमण गर्नुभएको छ । मालिकार्जुन धामको यात्रापछि शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर, देथला हुँदै नागेश्वर धामको यात्रा भएको जगतगुरुका प्रवक्ता विक्रम सिंह धामीले बताउनुभयो । नागेश्वर धामबाट सिद्धटोपी–ब्रह्मदह क्षेत्र हुँदै व्यास गाउँपालिकाको सिना, सुन्सेरा, दुहुँ गाउँपालिकाको हिकिला, धारी, ब्रह्मदेव क्षेत्रका तिर्थक्षेत्रको भ्रमण गरिएको प्रवक्ता धामीले जानकारी दिनुभयो । बुधवार शैल्यशिखर नगरपालिका वडा नम्बर ७ स्थित बन्तोलीस्थित लटिनाथ मन्दिरमा जगतगुरुको कार्यक्रम रहेको छ ।

महाकाली नगरपालिकाले गर्यो जगतगुरुको अभिनन्दन

महाकाली नगरपालिकाले जगतगुरु मोहनशरण देवाचार्यको मंगलवार अभिनन्दन गरेको छ । नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख हंसराज भट्टले जगतगुरुलाई अभिनन्दन पत्र र दोसल्ला ओढाएर अभिनन्दन गरेका हुन् ।
नेपालका पवित्र तिर्थस्थलहरुबारे उजागर गर्दै विशिष्ट योगदान पुर्याउनुभएको भन्दै नगरपालिकाले जगतगुरुको अभिनन्दन गरेको हो । जगतगुरुको अभिनन्दन कार्यक्रममा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, जिल्लास्थित सुरक्षा निकाय र कार्यालयका प्रमुखहरु तथा सयौं नागरिकहरुको सहभागिता रहेको थियो ।

‘महाकाली गंगाको महिमा ठूलो’

नेपालका प्रथम जगतगुरु वालसन्त मोहनशरण देवाचार्यले महाकाली नदीको पवित्रता र महिमा अनन्त भएको बताउनुभएको छ । भगवान शिवको जटाबाट महाकाली गंगाको उत्पत्ति भएको पौराणिक तथ्य बताउदै उहाँले महाकाली नदीको पवित्रता जोगाउन र संरक्षण गर्न सबैलाई आग्रह गर्नुभएको छ ।
महाकाली नदीमा स्नान, दान, पूजापाठ गर्नाले अनन्त गुना फल प्राप्ति हुने जगतगुरुको भनाई छ ।

पवित्र भूमिको महत्वबोध गराउन पत्रकारलाई आग्रह

जगतगुरु मोहनशरण देवाचार्यले नेपालमा रहेका दर्जनौ पवित्र तिर्थस्थलहरुको महत्वबोध गराउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । मंगलवार खलंगामा आयोजित पत्रकार सम्मेलनमा तिर्थस्थलहरुको महत्वबोध गराउन र प्रचारप्रसारमा मिडियाक्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
राज्यको चौथो अंग मानिए पनि नेपालभरीका पवित्र तिर्थस्थलहरुको प्रचारप्रसारको नेतृत्वदायी भूमिका पत्रकारहरुको रहेको उहाँको भनाई छ । ‘राज्यको चौथो अंग भनिए पनि मेरो नजरमा मिडिया क्षेत्र पहिलो अंग हो, सबैले आ–आफ्नो ठाउँमा योगदान गरौं’ जगतगुरुले पत्रकार सम्मेलनमा भन्नुभयो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस् !