व्यासमा मोबाइल सेवा सुचारु गर्ने प्रयास असफल

0
290

दार्चुला, माघ १३ गते ।
मध्यपुषमा भएको आगलागीसंगै लिंक टावरमा राखिएका ब्याट्री डाउन भएपछि व्यासको मोबाइल सेवा सुचारु गर्न सकिएको छैन । नेपाल टेलिकमले माघ पहिलो साता प्राविधिक पठाएर मोबाइल सेवा सुचारु गर्ने प्रयास गरे पनि मोबाइल सेवा सुचारु हुन सकेको छैन । व्यास गाउँपालिका वडा नम्बर १ छाङरु गाउँ नजिकैको ज्याक्ती भन्ने स्थानमा राखिएको लिंक टावरमा आगलागीबाट क्षति भएको र सोलार ब्याट्री डाउन भएका कारण सेवा अवरुद्ध भएको टेलिकम दार्चुलाले जनाएको छ । व्यासको मोबाइल सेवा सुचारु गर्न दार्चुला सदरमुकामबाट टेलिकमका प्राविधिक कर्मचारी दुर्गा बस्याल माघ ४ गते छाङरु पुगेका थिए । एक हप्ता बसेर टावर सञ्चालनको प्रयास गरिए पनि सफलता नमिलेको उहाँले बताउनुभयो । ‘आगलागीबाट सोलार र ब्याट्री जोड्ने तारहरु जलेका थिए, तारहरु परिवर्तन गर्दा पनि ब्याट्री र सोलार कन्ट्रोलरले काम नगर्दा टावर सञ्चालनमा ल्याउन सकिएन’ व्यासबाट फर्केका टेलिकमका प्राविधिक बस्यालले भन्नुभयो । ज्याक्तीको लिंक टावरमा दुइटा ठूला ब्याट्रीसहित सोलार प्रणालीमार्फत विद्युत व्यवस्थापन गरिएको छ । दुइटै ब्याट्री डाउन भएको र सोलार सिस्टमको कन्ट्रोलरले पनि काम नगर्दा मोबाइल सेवा सुचारु गर्न नसकिएको टेलिकम दार्चुलाले जनाएको छ । छाङरु गाउँबाट ३ घण्टाको पैदल दूरीमा रहेको ज्याक्ती टावरमा तत्काल नयाँ ब्याट्री ढुवानी गर्न सम्भव नभएको टेलिकमका प्राविधिक कर्मचारी दुर्गा बस्यालको भनाई छ । ‘भारतीय बाटो भएर छाङरुसम्म ढुवानी गर्नुपर्ने हुन्छ, छाङरुबाट भरियामार्फत ढुवानी गर्नुपर्ने भएकाले तत्काल नयाँ ब्याट्री ढुवानी गरेर जोड्न सकिने अवस्था छैन’ उहाँले भन्नुभयो । हिमपातले अत्यधिक चिसो भएको र ज्याक्ती टावर उच्चस्थानमा रहेकोले त्यहाँ पुग्न समेत कठिन रहेको उहाँले बताउनुभयो । एक हप्ता छाङरुमा कुरेर माघ ९ गते टेलिकमका प्राविधिक बस्याल ज्याक्ती टावरमा पुगेका थिए । सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुइ—दुइजना सुरक्षाकर्मीसहित ज्याक्ती टावरमा पुगेका बस्यालले विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म टावर सञ्चालनमा ल्याउने प्रयास गरेका थिए । अत्यधिक चिसो, उचाईको क्षेत्र र कठ्याङ्ग्रिदो हावाले ज्याक्ती टावरमा सजिलै पुग्नसक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
व्यासका स्थानीयको कुञ्चा सरेसंगै दुई महिनापछि ज्याक्तीको लिंक टावर मर्मत गरी सञ्चालनमा ल्याइने टेलिकम दार्चुलाले जनाएको छ । अहिले व्यासको छाङरुमा स्काइ फोन र सशस्त्र प्रहरीको गुल्ममा भिस्याट प्रविधिको एनटिस्याट फोन सञ्चालनमा छ । हिमपात बढेपछि स्काई फोनको टावर भने बन्द हुनसक्ने टेलिकमले जनाएको छ । स्काई फोनको टावर राखिएको व्यासको भोलिङक्षेत्रमा ४ फुटसम्म हिमपात हुने गरेकोमा यो वर्ष भने २÷३ पटक धेरै कम मात्रामा हिमपात भएको व्यासमा खटिएका सुरक्षाकर्मी बताउँछन् । हिमपात र चिसो छल्न व्यासका स्थानीय वासिन्दा भने अहिले सदरमुकाम खलंगामा बसाइ सरेका छन् । आउदो चैत्र—वैशाखमा खलंगाबाट व्यासक्षेत्रमा स्थानीयवासीको कुञ्चा सर्ने व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । अहिले व्यासको छाङरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली मात्रै बस्दैआएको छ । वडा कार्यालयको समन्वयमा स्थानीय एक परिवारलाई गाउँको हेरालु समेत राखिएको वडाअध्यक्ष बोहराले बताउनुभयो । व्यासको छाङरु नजिकैको ज्याक्ती भन्नेस्थानमा राखिएको लिंक टावरमा पुष दोस्रो साता आगलागीबाट क्षति भएको थियो । कौवा र बसुन्धरा बनक्षेत्रबाट फैलिएको आगो ज्याक्ती टावरमा पुगेपछि टावरमा क्षति भएको थियो । आगलागीले सोलार प्रणालीको तारहरु जलेर नष्ट भएपछि टावरमा राखिएका दुइवटा ब्याट्री डाउन भएका छन् । कौवा—बसुन्धरा क्षेत्रमा भएको आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । कस्ले र किन आगलागी गर्यो भन्ने जानकारी अहिलेसम्म खुल्न नसकेको वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो ।