व्यासमा तत्काल २ सय क्वीन्टल चामल ढुवानी गरिने

0
965

दार्चुला, असार १४ गते ।
व्यास गाउँपालिकाको वडा नम्बर १ छाङरु र तिंकरमा तत्काल दुइ सय क्वीन्टल चामल ढुवानी गरिने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानीका लागि टेण्डर निकालेको छ ।
असार ३ गते प्रकासित टेण्डरमा सुर्खेतबाट व्यासका लागि चामल ढुवानी गरिने उल्लेख छ । वायुसेवा कम्पनीहरुलाई असार १७ गतेसम्म बोलपत्र पेश गरिसक्न समयसीमा दिइएको छ । स्थानीयवासीले खाद्यान्न ढुवानीको माग गरेपछि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको निर्देशनमा हेलिकोप्टरमार्फत चामल ढुवानीको तयारी भइरहेको छ ।
छाङरु र तिंकर गाउँका लागि एक÷एक सय क्वीन्टल चामल ढुवानी गर्न सुचना निकालिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका स्टोर प्रमुख विनोद पौडेलले बताउनुभयो । उहाँका अनुसार सुर्खेतबाट दार्चुला सदरमुकाम वा नजिकको क्षेत्रसम्म गाडीमार्फत चामल ढुवानी गरिने र त्यहाँबाट हेलिकोप्टरमार्फत ढुवानी गर्ने शर्त राखिएको छ ।
सरकारले पहिलोपटक व्यासक्षेत्रका जनताका लागि हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न लागेको हो । व्यासक्षेत्रमा खाद्य डिपो स्थापना गर्न प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्ना र प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराले गत पुष ७ गते उद्योग मन्त्री लेखराज भट्टसंग लिखित माग गरेका थिए ।
जेठ ९ गते प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले दोस्रोपटक लिखित अनुरोध गर्दै तत्काल व्यासक्षेत्रमा हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गर्न माग गरेका थिए । व्यास गाँउपालिकाको १ नम्बर वडा अध्यक्ष अशोकसिंह बोहराले पनि जेठ ९ गते उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई लिखित अनुरोध गर्दै खाद्य सामग्री ढुवानीको माग राखेका थिए ।
व्यासको वडा कार्यालयले चार सय क्वीन्टल चामल ढुवानीको माग गरेपछि २ सय क्वीन्टल मात्रै चामल ढुवानी हुने भएको छ । वडा अध्यक्ष अशोकसिंह बोहराले ५० क्वीन्टल दाल, ४ सय क्वीन्टल गहुँ, २० क्वीन्टल चिनी, १८ सय लिटर खानेतेल, ५ हजार गोटा साबुन र १८ क्वीन्टल नुन ढुवानी गर्न माग गरेका थिए ।
सरकारले भने तत्काल चामल मात्रै ढुवानी गर्ने भएको छ । अन्य खाद्य सामग्री ढुवानीबारे केही उल्लेख गरिएको छैन । व्यासक्षेत्रमा स्थानीय उत्पादन न्युन हुन्छ । सीमावर्ती भारतीय र चीनिया क्षेत्रबाट व्यासमा खाद्यान्न आपुर्ति हुने गरेकोमा लकडाउनका कारण यसपटक समस्या भएको छ ।
गतवर्ष व्यासको छाङरुमा मोटो चामल ८० रुपैयाँ प्रतिकिलो रहेको वडाअध्यक्ष अशोकसिंह बोहराले बताउनुभयो । तिंकर गाँउमा ढुवानी बढी लाग्ने हुँदा चामलको मूल्य प्रतिकिलो १ सय रुपैयाँ रहेको वडासचिव विनोदसिंह बुढाथोकीले बताउनुभयो ।
गतवर्षको मौज्दात खाद्यान्नबाट अहिले व्यासक्षेत्रका वासिन्दाले दैनिकी चलाइरहेका छन् । खलंगाबाट कुञ्चा सर्नेबेला गाइवस्तुमा पनि केही खाद्यान्न बोकिएको वडासचिव बुढाथोकीले बताउनुभयो । करिब १ हजार जनसंख्या रहेको व्यास गाउँपालिकाको वडा नम्बर १ को छाङरु र तिंकर गाउँमा हाल झण्डै ४ सय स्थानीयवासी बसिरहेका छन् ।
व्यासको छाङरु र तिंकरमा रहेका सुरक्षाकर्मीहरुका लागि भने यसअघि नै हेलिकोप्टरमार्फत खाद्यान्न ढुवानी गरिएको छ । सुरक्षाकर्मीसंगै वैशाख ३१ गते व्यासक्षेत्रमा सुरक्षाकर्मीको बन्दोवस्तीको सामान पनि हेलिकोप्टरमार्फत ढुवानी गरिएको थियो ।