व्यासमा एक सय ४० क्वीन्टल चामल ढुवानी

0
1037
फाईल फोटो

दार्चुला, असार ३० गते ।
माउन्टेन हेलिकोप्टरले मंगलवारसम्म १ सय ४० क्वीन्टल चामल व्यासको छाङरुमा ढुवानी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले माउन्टेन हेलिकोप्टरमार्फत व्यासको छाङरु र तिंकरमा एक÷एक सय क्वीन्टल चामल ढुवानी गर्न लागेको हो ।
मौसमी प्रतिकुलताले हेलिकोप्टरमार्फत चामल ढुवानीमा ढिलाइ भएको माउन्टेन हेलिकोप्टरका प्रतिनिधि सञ्जीव भण्डारीले बताउनुभयो । आइतवार दुई पटकमा ५ सय ७० किलोग्राम चामल ढुवानी गरिएको थियो ।
सोमबार विहान ६ बजेदेखि नै हेलिकोप्टरले छाङरुमा चामल ढुवानी गरेको भण्डारीले बताउनुभयो । सोमबार दिनभरी १८ पटकमा १ सय १२ क्वीन्टल चामल ढुवानी गरिएको छ । सोमबार बेलुकी ६ः३० बजेसम्म चामल ढुवानी गरिएको थियो ।
मंगलवार विहान मौसम नखुल्दा दिउसो २ः३० बजेपछि मात्रै हेलिकोप्टर उडेको थियो । मंगलवार ४ पटकमा २३ क्वीन्टल चामल ढुवानी गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ‘मकवानपुर’ ब्राण्डको मोटो चामल ढुवानीमा सरकारले अनुदान उपलब्ध गराएको छ । ढुवानी अनुदानपछि व्यासका वासिन्दाले प्रतिकिलो ५१ रुपैयाँमा चामल खरिद गर्न पाउने कम्पनीका सुर्खेतस्थित प्रादेशिक प्रमुख भीमवहादुर थापाले बताउनुभयो ।
कम्पनीले ३० किलोग्रामका कट्टामा चामल उपलब्ध गराएको छ । गाउँपालिकाको व्यवस्थापनमा चामल विक्री वितरण गरिने कम्पनीले जनाएको छ । सुर्खेतबाट सडकमार्ग हुँदै खलंगा पुर्याइएको चामल खलंगाबाट हेलिकोप्टरमार्फत छाङरुमा ढुवानी गरिदैछ ।
निर्धारित २ सय क्वीन्टल चामल छाङरुमा ढुवानी गरिएपछि छाङरुबाट तिंकरमा चामल ढुवानी गरिने माउन्टेन हेलिकोप्टरका प्रतिनिधि सञ्जीव भण्डारीले बताउनुभयो । दुबै गाउँमा एक÷एक सय क्वीन्टल चामल ढुवानी हुन लागेको हो ।