व्यासको विवाद समाधान

0
2456

दार्चुला, माघ १८ गते ।
व्यास गाँउपालिकामा जनप्रतिनिधिहरुबीच रहेको विवाद शुक्रवार सहमतिमा टुंगिएको छ । माघ १४ गतेको गाँउ कार्यपालिका बैठकमा गाँउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी र वडा नम्बर ४ का वडाअध्यक्ष संग्रामसिह विष्टबीच विवाद भएपछि प्रेस विज्ञप्ति, पत्रकार सम्मेलन र जिल्ला प्रहरी कार्यालयसम्म विवादले स्थान पाएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काग्रेसका नेताहरुको पहलमा गाँउपालिकाका जनप्रतिनिधिबीच सहमति गराई विवाद समाधान गरिएको छ । विहिवार साँझ र शुक्रवार दिउसो भएको छलफलपछि दुबै पक्षले ३ बुँदे लिखित सहमति गरेका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलामा दुई पार्टीका नेताहरुसहित गाँउपालिकाका जनप्रतिनिधिहरुले लिखित सहमति गरेको नेकपाका प्रस्तावित जिल्ला सचिव उदयसिह बडालले बताउनुभयो ।
गाँउपालिका अध्यक्ष र वडाअध्यक्ष दुबैले आ—आफ्ना कमजोरी स्वीकार्दै आपसी सहमतिमा अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् । व्यास गाँउपालिकामा जनप्रतिनिधिबीच विवाद देखिएपछि दुइ पार्टीका नेताहरुले छलफल थालेका थिए । सुरुमा दुइ पार्टीका नेताहरुबीच छलफल गरी दोस्रो चरणमा शुक्रवार व्यास गाँउपालिकाका जनप्रतिनिधिहरुबीच छलफल गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालयमा शुक्रवार अपरान्ह गरिएको लिखित सहमति निर्माणमा नेकपा दार्चुलाका प्रस्तावित जिल्ला अध्यक्ष गणेशसिह खत्री, सचिव उदयसिह बडाल, नेता नगेन्द्र तिंकरी तथा नेपाली काग्रेसका जिल्ला सभापति ललितसिह बोहरा, नेता विक्रमसिह धामी र धिरेन्द्र साउदले भूमिका खेलेका छन् ।
गाँउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी तथा वडा अध्यक्षहरु अशोकसिह बोहरा, उपेन्द्रसिह धामी, संग्रामसिह विष्ट र मंगलसिह धामीले लिखित सहमतिमा हस्ताक्षर गरेका छन् । जनप्रतिनिधिबीचको लिखित सहमतिसंगै व्यास गाँउपालिकामा लगाइएको तालाबन्दी समाप्त भएको वडाअध्यक्ष संग्रामसिह विष्टले बताउनुभयो ।