व्यासको बाटो निर्माणमा भारतीय अवरोध

0
1023

दार्चुला, असार १८ गते ।
नेपाली सेनाले व्यास गाउँपालिकाको वडा नम्बर २ घाटिबगड क्षेत्रमा पैदल बाटो निर्माण गरिरहदा भारतीय पक्षबाट अवरोध भइरहेको छ । महाकाली नदीको किनारक्षेत्रमा नेपाली सेनाले जेठ ९ गतेदेखि बाटो निर्माण सुरु गरेको हो ।
भारतले महाकाली नदी किनारको क्षेत्रमा हालै मात्र सडकको ट्रयाक खोलेको छ । सडकलाई चौडा बनाउने क्रममा जिलेटिन पडकाउदा नेपालतर्फ क्षति भइरहेको छ । भारतीय सडक निर्माणले ठूल्ठूला ढुंगा महाकाली नदीमा पुरिएपछि नदीको सतह बढेको छ । नेपाली सेनाले घाटिबगड क्षेत्रको मौराभेलमा निर्माण गरेको ५० मिटर लामो पैदल बाटो नदी कटानले क्षतिग्रस्त बनाएको सुरक्षा स्रोतले बतायो ।
नदी किनारको छेउमा २० मिटर बाटो बगाएको छ भने ५० मिटर लामो क्षेत्रमा बनिसकेको बाटोमा क्षति पुगेको छ । भारतीय सडक निर्माणले ढुंगा र माटो नदीमा पुरिदा नेपालतर्फ पानीको वहाव बढेको छ । यसबारे जिल्लास्थित सुरक्षा निकायले केन्द्रस्तरमा पनि रिपोर्टिङ गरिसकेको स्रोतको भनाइ छ ।
भारततर्फको जिलेटिन पडकाउदा घाटिबगड क्षेत्रमा राखिएका नेपाली सेनाको टेन्टमा समेत क्षति पुगेको छ । सेनाको अस्थायी क्याम्पमा जोडिएको खानेपानीको पाइपमा समेत क्षति पुगेको स्रोतले बताएको छ ।
महाकालीको सतह बढेर बाटोमा क्षति पुगेपछि नेपाली सेनाले ८÷१० मिटर उचाईबाट बाटो निर्माण गरिरहेको छ । ‘नदी किनारको क्षेत्र भएर बनाइसकेको ५० मिटर लामो बाटोमा क्षति भएपछि केही मिटर माथिबाट बाटो निर्माण थालिएको छ’ जिल्लास्थित एक सुरक्षा अधिकारीले भन्नुभयो ।
करिब ४ सय ५० मिटर लामो चट्टान फुटाएर पैदल बाटो निर्माण गर्न सेनाले जिम्मेवारी पाएको थियो । मौराभेल क्षेत्रमा हालसम्म २ सय ५० मिटर लामो बाटो बनाइसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।
दार्चुलाबाट सरुवा भइ जानेक्रममा यसअघिका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पनि भारतीय प्रशासनसंग यसबारे समन्वय गरेका थिए । तर भारतीय सडक निर्माणले निरन्तर नेपालतर्फको बाटो निर्माणमा अवरोध पुगिरहेको छ ।
घाटिबगड क्षेत्रको ठिक पारी भारतको मालपा क्षेत्र पर्दछ । मालपा क्षेत्रमा तत्काल विस्फोटक पदार्थ प्रयोग नगर्न नेपालको प्रशासनले भारतीय पक्षलाई आग्रह गरेको थियो । ‘मालपा क्षेत्रमा केही समय विस्फोटक पदार्थ प्रयोग नगरी अन्य क्षेत्रमा काम गर्न हामीले आग्रह गरेका थियौ, तर त्यसक्षेत्रमा भारतको सडक निर्माणले निरन्तरता पाएको छ’ एक सुरक्षा अधिकारीले भन्नुभयो ।
सेनाले निर्माण गरिरहेको बाटोमा भारतीय पक्षबाट समस्या आएपछि भारतीय प्रशासनसंग समन्वय भइरहेको प्रजिअ शरदकुमार पोखरेलको भनाई छ । धारचुलास्थित एसडिएमलाई टेलिफोन सम्पर्क गरी समन्वय भइरहेको उहाँले बताउनुभयो ।