व्यासको बाटोमा चालु वर्ष २० लाख थप बजेट

2442

दार्चुला, भदौ १३ गते ।
व्यास गाँउपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ मा व्यासक्षेत्र जोड्ने घोरेटो बाटो मर्मतका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । गत असारमा सम्पन्न गाँउसभाले व्यास जोड्ने बाटोलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको गाँउपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताउनुभयो ।
पञ्चायतमा निर्माण भएको दार्चुला तिंकर घोरेटो बाटोलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन व्यास गाँउपालिकाले गतवर्ष २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । गतवर्षको बजेटबाट गाँउपालिकाले ठेक्काप्रक्रियामार्फत बाटोको मर्मत गराउन सुरु गरेको छ ।
बाटो मर्मतमा भ्याट र कन्टिन्जेन्सी रकमसहित २५ लाख रुपैयाँ गतवर्षको बजेट रहेको छ । यो वर्ष पनि बाटो मर्मतलाई प्राथमिकता दिएर बजेट छुट्याइएको गाँउपालिकाले जनाएको छ ।
आर्थिक वर्षको अन्तिममा मात्र ठेकेदार कम्पनीले मर्मत कार्य सुरु गरेकाले अपेक्षित प्रगति भने हुन सकेको छैन । चालु वर्षको बजेट ठेक्का प्रक्रिया वा उपभोक्ता समिति कोमार्फत कार्यान्वयन गर्ने भन्ने विषय टुंगो नलागेको गाँउपालिकाका नायव सुब्बा रामदत्त जोशीले बताउनुभयो ।
गतवर्षको बजेटबाट राप्लाको दुम्लिङदेखि दोपाखेसम्मको बाटो मर्मत गर्न सुरु गरिएको छ । यो वर्ष दोपाखेदेखि माथि छाङरुसम्मको बाटो मर्मत गराइने व्यास गाँउपालिकाका इन्जिनियर गोपिचन्द बुढाथोकीले बताउनुभयो ।
आवश्यकताअनुसार बाटो मर्मत गर्नुपर्ने ठाँउमा मात्रै काम गराइने उहाँले जानकारी दिनुभयो । घोरेटोबाटोको स्थलगत भ्रमण गरेर लागत अनुमान र डिजाइन गरिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस् !