व्यासको प्रहरी टोली दुम्लिङमा झर्यो

0
2571

दार्चुला, मंसिर १३ गते ।
त्रिदेशीय सीमाक्षेत्र रहेको व्यासको प्रहरी टोली विहिवार राप्लाको दुम्लिङमा झरेको छ । जाडो र हिमपातका कारण हरेक वर्ष व्यासको प्रहरी टोली दुम्लिङ झर्ने गर्छ । प्रहरी नायव निरीक्षक (सई) नेतृत्वको प्रहरी टोली विहिवार दुम्लिङमा सरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
हरेक वर्ष हिउदको समयमा व्यासका स्थानीय वासिन्दासंगै प्रहरी टोली व्यासबाट चिसो र हिमपात छल्न झर्ने गर्छ । व्यासका वासिन्दाको दार्चुला सदरमुकाममा दोहोरो बसोवास रहेकाले कार्तिक÷मंसिरदेखि चैत्र÷वैशाखसम्म खलंगा बस्ने गर्दछन् ।
व्यास गाँउपालिकाको वडा नम्बर १ मा नेपाल प्रहरीको तीनवटा प्रहरी इकाईको दरबन्दी छ । प्रहरी चौकी व्यास, प्रहरी चौकी सितापुल र सीमा प्रहरी चौकी तिंकरको नाममा प्रहरी इकाईको अभिलेख छ । यद्यपि व्यासको छाङरुस्थित नितिकुण्डा र तिंकरमा मात्रै प्रहरी टोली बस्ने गर्दछ । स्थानीयको बसाई व्यास क्षेत्रमा सरेसंगै प्रहरी टोली पनि दुम्लिङबाट व्यास जाने गर्दछ ।
सितापुल भारतसंग सीमा जोडिएको क्षेत्र हो । भारतको गव्र्याङ गाँउ र नेपालको छाङरु गाँउ जोड्ने नाका सितापुल हो । सितापुलमा महाकाली नदीमाथि काठेपुल राखिएको छ । छाङरुदेखि १२ किलोमिटर उत्तरपूर्वमा तिंकर गाँउ रहेको छ । तिंकर उत्तरतर्फको अन्तिम वस्ती हो । तिंकरबाट ५÷६ घण्टा हिमाल चढाईपछि चीनको सिमाक्षेत्र पुगिन्छ ।
तिंकरमा रहेको सीमा प्रहरी चौकी दुई हप्ताअघि नै छाङरुमा झरिसकेको थियो । हिमपात र जाडो बढी हुने भएकाले तिंकरका वासिन्दा पनि यसअघि नै सदरमुकाम झरिसकेका छन् । तिंकर र सितापुल प्रहरी चौकीको संयुक्त टोली विहिवार राप्लाको दुम्लिङमा सरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख हिक्मतसिह बोहराले बताउनुभयो ।
प्रहरी नायव निरीक्षकको नेतृत्वमा १८ जनाको प्रहरी टोली विहिवार साँझ दुम्लिङ पुगिसकेको प्रहरी निरीक्षक बोहराले बताउनुभयो । दुम्लिङमा घरभाडामा प्रहरी चौकी राखिएको छ । गत वर्षदेखि दुम्लिङमा वर्षभरी प्रहरी टोली राखिदैआएको छ । यसअघि हिउदको समयमा मात्रै दुम्लिङमा प्रहरी टोली बस्ने गर्दथ्यो । यार्सागुम्बा संकलनमा सुरक्षा दिनुपर्ने र सिमावर्ती क्षेत्रमा महाकाली नदीमा अस्थायी काठेपुल राखिएकाले त्यसको सुरक्षाका लागि दुम्लिङमा वर्षभरी प्रहरी टोली राखिएको दार्चुलाका प्रहरीका निमित्त प्रमुख बोहराले बताउनुभयो ।
दुम्लिङमा प्रहरी सहायक निरीक्षक (असई) नेतृत्वमा ८ जनाको टोली छ । तिंकर र सितापुलको टोलीसहित हिउदको समयमा दुम्लिङमै रहने दार्चुला प्रहरीले जनाएको छ । उच्च हिमपात र जाडोका कारण दुम्लिङभन्दा माथि हिउदको समयमा वसोवास हुँदैन ।
यो वर्ष एक हप्ता ढिला
व्यासको सितापुलबाट प्रहरी टोली राप्लाको दुम्लिङमा एक हप्ता ढिला झरेको छ । गतवर्ष मंसिर ६ गते र अघिल्लो वर्ष मंसिर २ गते प्रहरी टोली व्यासबाट दुम्लिङमा झरेको दार्चुला प्रहरीले जनाएको छ ।
व्यासक्षेत्रका सबै स्थानीय खलंगा झरिसकेपछि मात्रै प्रहरी टोलीलाई सारिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक हिक्मतवहादुर बोहराले बताउनुभयो ।