व्याँसको थीमा बेश क्याम्प निर्माण गर्दै सेना,,निर्माण सामग्री ढुवानी

265

दार्चुला,पुष १९ गते ।
दार्चुलाको व्याँस गाउँपालिका वडानम्बर २ को थीमा सेनाको बेश क्याम्प निर्माण गर्न हेलिकप्टर मार्फत समान ढुवानी गरिएको छ । मंगलबार काठमाण्डौँबाट आएको नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरले थिमा बेश क्याम्प निर्माणका लागि निर्माण सामग्री झारेको नेपाली सेनाको विकास निर्माण कार्यदलले जनाएको छ । नेपाली सेनाले विगत २ वर्ष देखी दार्चुला–तिंकर सडक निर्माणको कार्य गर्दै आइरहेको छ । नेपाली सेनाको निर्माण कार्यदल आयोजनाको कार्यालय सुन्सेराबाट सडक निर्माण हुने विभिन्न ठाउँमा कम्प्रेसर मेसिन लगायत अन्य निर्माण सामग्री हेलिकप्टरले ढुवानी गरेको नेपाली सैनिक स्रोतले जनाएको छ । दार्चुला–तिंकर सडकको कुल लम्बाई १३२ किलोमिटर मध्ये ८७ किलोमिटर क्षेत्रमा नेपाली सेनाको विकास निर्माण कार्यदलले निर्माणको काम गरिरहेको छ । सेनाले ब्याँस गाउँपालिका वडा नम्वर ३ तुसरपानी देखी तिंकर सम्मको ८७ किलोमिटर सडकखण्डको निर्माण कार्य गरिरहेको छ । नेपाली सेनाले गत आर्थिक वर्षमा ८ दशमलव ५ किलोमिटर सडकको ट्याक खोली सकेको छ, भने चालु आर्थिक वर्षमा ३ किलोमिटर ट्याक खोल्ने लक्ष्य अनुसार कार्य भइरहेको स्रोतले बताएको छ । यसवर्ष बजेट न्युन भएका कारण कम काम हुने बताइएको छ । चालु आर्थिक वर्ष सडक निर्माणका लागि ९ करोड मात्रै बजेट आएको आयोजनाले जनाएको छ । त्यसैगरि नेपाली सेनाका प्राविधिक सहायक रथी विकास पोखरेल विकास निर्माण निर्देशक भएपछि पहिलो पटक नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–तिंकर सडकको अनुगमन तथा थी क्षेत्रमा निर्माण हुने बेश क्याम्पको स्थलगत निरिक्षण गरेको छ । विकास निर्माण निर्देशक तथा प्राविधिक सहायक रथी पाखरेलले नेपाली सेनाले निर्माण गरिहेको समारिक महत्व बोकेको दार्चुला–तिंकर सडकको स्थलगत अनुगमन निरिक्षण गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !