वैध कागजात नभएका गाडी चल्न नदिइने

0
2272

दार्चुला प्रहरीले वैध कागजपत्र नभएका गाडीहरु सञ्चालनमा रोक लगाइने बताएको छ । दार्चुला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले रुट इजाजत नभएका, नविकरण नभएका र आवश्यक कागजपत्र नभएका गाडी सञ्चालन गर्न नदिने बताएका हुन् ।
विहिवार जिल्ला प्रहरी कार्यालय दार्चुलाले आयोजना गरेको यातायात व्यवसायी र चालक, सहचालकसंगको छलफल कार्यक्रममा डिएसपी अधिकारीले यस्तो बताएका हुन् । यातायात क्षेत्रलाई नियमन र व्यवस्थापन गर्न पछिल्लो भएको सरकारी निर्णयअनुसार प्रहरीले सक्रियता देखाउने उहाँले बताउनुभयो ।
सवारीसाधनको नविकरण, रुट इजाजत लगायत आवश्यक कागजपत्र नभएका कुनै पनि गाडीलाई सडकमा गुड्न नदिने डिएसपी अधिकारीको भनाई छ । हालसम्म यस्ता सवारीसाधनलाई ट्राफिक प्रहरीले कारवाहीस्वरुप आर्थिक जरिवाना गर्दैआएको छ । यातायात क्षेत्रको सुधारका लागि पछिल्लो समय सरकारले गरेको निर्णयअनुसार सबै कागजपत्र पूरा भएका गाडीमात्रै सडकमा सञ्चालन गर्न दिने प्रहरीको भनाई छ ।
सार्वजनिक यातायातका साधनमा क्षमताभन्दा बढी यात्रु बोक्ने, गाडी चलाउदा मोबाइलको प्रयोग गर्ने, तिब्र गतिमा गाडी चलाउने जस्तो समस्या दार्चुलामा रहेको डिएसपी अधिकारीले बताउनुभयो ।
विहिवारको छलफलमा यातायात व्यवसायी, सवारी चालक र सहचालकहरुले ट्राफिक नियमको पूर्ण पालना गर्ने लिखित प्रतिवद्धता गरेका छन् । नागरिकको सुरक्षित यात्रालाई पहिलो प्राथमिकता राखेर प्रहरीले यातायात क्षेत्रको व्यवस्थापनमा क्रियासिलता देखाउने दार्चुला प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीको भनाई छ ।
छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले यात्रीहरुको सुविधा र सुरक्षित यात्रालाई ध्यानमा राखेर गाडी सञ्चालन गर्न व्यवसायी र गाडी चालकहरुलाई सुझाव दिनुभयो ।
मासिक रुपमा यातायात व्यवसायी र सवारीचालकहरुसंग छलफल गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लोकमार्ग क्षेत्रमा प्रहरी चौकीहरुमा अनिवार्य सवारीसाधनको इन्ट्री गर्ने, नियमित चेकजाँच गर्ने र ट्राफिक नियम पालनाको प्रभावकारी अनुगमन गरिने दार्चुला प्रहरीले जनाएको छ ।
वर्षातको समयमा सडकको अवस्था हेरेर गाडी सञ्चालन गर्न प्रहरीले अनुरोध गरेको छ । कच्ची सडकहरु सावधानीपूर्वक गाडी चलाउन र मादकपदार्थ तथा नसाजन्य पदार्थको सेवनबाट टाढा रहन समेत सवारीचालकलाई भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here