विना अनुमति आधा दर्जन स्थानबाट मेसिन ढुवानी ।

0
2418

भारत सरकारको सडक निर्माण कम्पनी सिमा सडक संगठनले विना अनुमति नेपालका आधा दर्जन स्थानबाट मेसिन ढुवानी गरेको पाइएको छ । महाकाली नदी किनारको क्षेत्रमा भइरहेको सडक निर्माणमा प्रयोग गर्न स्काइभेटर, जेसिवी, ब्रेकर जस्ता मेसिन ढुवानी गरिएका छन् ।
भारतको धारचुला तहसिलअन्तर्गत लखनपुरदेखि बुदीसम्मको क्षेत्रमा सडक निर्माणलाई तिब्रता दिन भारतीय पक्षले आधा दर्जन स्थानबाट एकसाथ सडक निर्माण गरिरहेको छ । लखनपुरदेखि बुँदीसम्मको १६ किलोमिटर लामो क्षेत्रमा ठूल्ठूला मेसिन सडक निर्माणमा प्रयोग गरिएको राप्ला कल्चुका स्थानीय खडकसिह धामीले बताउनुभयो ।
नेपाल सरकारसंग अनुमति नमागेर माघ–फागुन महिनामा ती मेसिन ढुवानी गरिएका हुन् । महाकाली नदी किनारको भारततर्फको क्षेत्रमा कडा चट्टानी भूभाग भएकाले नेपाली भूमि भएर मेसिन ढुवानी गरिएका हुन् । महाकाली नदीमा पानीको सतह कम भएका समयमा ठाँउठाँउमा वारि र पारी घुमाउदै मेसिनहरु सारिएका छन् ।
भारतीय पक्षले एकतर्फी रुपमा नेपालीको भूमिको प्रयोग गरी मेसिन ढुवानी गरेको विषय गत फागुन १० गते पहिलो पटक नेपाल प्रहरीमार्फत सार्वजनिक भएको थियो । त्यसभन्दा केही हप्ता अगाडि नै भारतीय सडक निर्माण कम्पनीले ठाँउठाँउबाट महाकाली वारिपारी हुँदै मेसिन ढुवानी गरेको राप्लाको घाटिबगडका होटल व्यवसायी जहेन्द्रसिह भण्डारीले बताउनुभयो ।
महाकाली नदीमाथि ठाँउठाँउमा अस्थायी काठेपुल समेत राखेर भारतीय सडक निर्माणमा संलग्न मजदूर, भरिया र प्राविधिकहरुले आवतजावत गरेको तथ्य सार्वजनिक भएपछि नेपाली प्रशासनले सरोकार देखाएको थियो । फागुन तेस्रो हप्ता भारतको पिथौरागढमा सीमा बैठक राखिनुका साथै गृह मन्त्रालयको स्वीकृतिपछि चैत्र १५ गतेदेखि अस्थायी काठेपुल राख्न सहमति समेत गरिएको थियो ।
काठेपुल र नेपाली भूमि भएर मेसिन ढुवानी गरिएको विषय सार्वजनिक भएपछि भारतीय प्रशासनले नेपालको स्थानीय प्रशासनलाई पत्राचार गरी अनुमति मागेको थियो । तर गृह मन्त्रालयले अस्थायी काठेपुल राख्न स्वीकृति दिए पनि मेसिन ढुवानीबारे भने अनुमति दिएन । स्थानीय प्रशासनले मन्त्रालयलाई लिखित पत्राचार गरेको तर माथिबाट डोजर ढुवानीबारे कुनै निर्देशन वा पत्राचार नआएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो ।
गृह मन्त्रालयको अनुमति नआए पनि भारतले नेपाली पक्षलाई पत्राचार गर्नुअघि नै सबै मेसिनहरु ढुवानी गरिसकेको पाइएको छ । अहिले लखनपुर, नजंङ, मालपा, छङकन, बुँदी लगायत आधा दर्जन स्थानमा ठूल्ठूला मेसिनबाट सडक निर्माण भइरहेको छ । मेसिन ढुवानीका क्रममा आधा दर्जनभन्दा बढी स्थानमा नेपालतर्फ नदी किनारमा सडक बनाइएको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामीले बताउनुभयो । केही दिनअघि मात्रै दार्चुला सदरमुकामबाट गएको पत्रकारहरुको टोलीले उक्त क्षेत्रको स्थलगत भ्रमण गरेको उहाँले जानकारी दिनुभयो ।
कडा चट्टानी भूबनोट भएकाले भारतको सडक निर्माण कम्पनी सडक सडक संगठनले अत्याधुनिक मेसिनसमेत प्रयोगमा ल्याएको छ । भारतको सडक निर्माणमा विस्फोटक पदार्थको अत्यधिक प्रयोग भइरहेको दुम्लिङ चौकीका असई वीरवहादुर चन्दले बताउनुभयो ।
जिलेटिन विस्फोटका लागि प्वाल पार्न र चट्टानी भूभागबाट छिटो सडक निर्माण गर्न आधुनिक मेसिन प्रयोग भइरहेको स्थानीय होटल व्यवसायी सावित्री भण्डारीले बताउनुभयो ।
सडक निर्माणका कारण अहिले भारतीय भूमि भएर आवतजावत गर्न पैदलमार्ग समेत अवरुद्ध भएको छ । भारतको लखनपुर र नेपालको तम्बाकुमा राखिएको अस्थायी काठेपुल भएर आवतजावत भइरहेकोमा केही दिनअघि मात्रै महाकालीले यो पुल बगाएको छ । अहिले भारतको नजंङ र नेपालको थिई भीरमा राखिएको अर्को काठेपुलको प्रयोग भइरहेको छ ।
भारतको मालपा र नेपालको घाटिबगड तथा भारतको छंकङ र नेपालको दोपाखेमा काठका वाला राखेर आवतजावत भइरहेको छ । काठका वालामार्फत आवतजावत गर्दा जोखिम रहेकाले घोडाखच्चड, महिला र वालवालिकालाई समेत समस्या छ । बुँदीक्षेत्रमा पनि काठको वाला राखेर महाकाली नदीमा आवतजावत भइरहेको स्थानीयले बताएका छन् ।
भारतले निर्माण गरिरहेको सीमा सडकको यस खण्डमा नीजि निर्माण कम्पनी गर्ग एण्ड गर्ग पनि संलग्न रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here