विधायक धामीको ‘सिमान्त बचाऔं, देश बनाऔं’ पदयात्रा

1988

दार्चुला, मंसिर ३० गते ।
भारतको उत्तराखण्ड विधानसभा सदस्य हरिश धामीले आइतवारदेखि सिमान्त बचाऔं, देश बचाऔं सन्देशसहित पदयात्रा सुरु गरेका छन् । भारतीय काग्रेस पार्टीका तर्फबाट विधायक रहेका धामीले विजेपी नेतृत्वको सरकारको विरोधमा गाउँदेखि पिथौरागढ जिल्ला मुख्यालयसम्मको पदयात्रा सुरु गरेका हुन् ।
विधायक धामीसंगै धारचुला र मुनस्यारी क्षेत्रका ४० भन्दा बढी गाउँका वासिन्दा सहभागी भएका छन् । पदयात्राको शुभारम्भ गर्दै विधायक धामीले डबल इन्जिनको विजेपी सरकारले सिमान्त क्षेत्रलाई उपेक्षा गरेको बताउनुभयो । उत्तराखण्ड राज्य र केन्द्र सरकारको नेतृत्व भारतीय जनता पार्टी (विजेपी)ले गरिरहेको अवस्थालाई विधायक धामीले डबल इन्जिनको संज्ञा दिनुभएको छ ।
वर्तमान सरकारले सिमान्त क्षेत्रलाई सौतेलो व्यवहार गरेको उहाँको आरोप छ । विभिन्न ६ सुत्रिय माग राखेर गरिएको पदयात्रा १८ दिसेम्बरमा पिथौरागढमा समापन गरिनेछ । धारचुलाबाट १ सय १० किलोमिटर लामो पदयात्रामा १० हजारभन्दा बढी नागरिकको सहभागिता हुने विधायक धामीले बताउनुभयो । आइतवार बाजागाजा र झाकीसहित हजारौं स्थानीयले पदयात्रामा सहभागिता जनाएका छन् । दमाहा, ढोलकसहित परम्परागत बाजा र भेषभुसामा स्थानीयवासीले पदयात्रामा ऐक्यवद्धता जनाइरहेका छन् ।
कठिन भौगोलिक अवस्थिति रहेको धारचुला र मुनस्यारी तहसिलको विकास निर्माणले सरकारले प्राथमिकता नदिएको विधायक धामीको आरोप छ । सन् २०१७ मा प्रचण्ड बहुमतसहित उत्तराखण्डमा विजेपीको सरकार बनेदेखि धारचुला र मुनस्यारी तहसिलको विकास निर्माण ठप्प भएको उहाँले बताउनुभयो । विजेपी सरकारले नेतृत्व गरेको ३ वर्षसम्म दुबै तहसिलका जनताले विकासको अनुभूति गर्न नपाएको विधायक धामीको भनाई छ ।
यसअघिको काग्रेस नेतृत्वको सरकारले थालनी गरेका कतिपय विकास योजनाहरु अलपत्र पारिएको विधायक हरिश धामीले बताउनुभयो । विजेपी सरकारको जनविरोधी कदमबारे जनतालाई जागरुक गराउन आफुले पदयात्रा गरेको उहाँको भनाई छ । धारचुला तहसिलको बरम क्षेत्रबाट सुरु गरिएको पदयात्रा बगडीहाट, जागरदेवल हुँदै दिसेम्बर १८ मा पिथौरागढमा पुग्नेछ । जाजरदेवलदेखि पिथौरागढस्थित विकास भवनसम्म मसाल जुलुस निकाल्ने तयारी समेत छ ।

तपाईको प्रतिक्रिया दिनुहोस् !