विधानसभाको परिणाम घोषणापछि मात्रै सीमा खुला रहने पुरानो समय कायम हुने 

0
654
नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलंगा स्थित पुल

दार्चुला, फागुन १८ गते । 

भारतको उत्तराखण्डमा हालै सम्पन्न विधानसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छैन । १४ फेब्रुअरीमा भएको विधानसभा निर्वाचनको १० मार्चमा मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको भारतीय निर्वाचन आयोगले गरेको छ ।


मतपरिणाम सार्वजनिक भएपछि दार्चुलामा रहेका नेपाल भारत जोड्ने सीमानाका खुल्ने पुरानो समय कायम गरिने भारतको पिथौरागढका जिल्ला अधिकारी डा। आसिस चौहानले बताएका छन् । व्यापार मण्डल धार्चुलाका अध्यक्ष भुपेन्द्र थापाले सोमबार धार्चुला पुगेका जिल्ला अधिकारी चौहानलाई नेपाल भारत सीमा पुल खुला रहने समय विहान ७ बजे देखि बेलुका ७ बजे सम्म कायम गर्न अनुरोध गरेका थिए । चौहानले विधानसभा निर्वाचनको घोषणा पछि मात्रै पुरानो समय कायम गरिने बताएको भारतीय पत्रिका अमर उजालाले समाचार लेखेको छ ।

दार्चुलाका भारत संग जाडिएका सीमानाका खुल्ने पुरानै समय कायम नहुदाँ सीमापार आवत जावत गर्नेहरु समस्या झेलिरहेका छन् । कोरोनाका कारण सीमानाका बन्द हुनु भन्दा पहिला भारत संग जोडिएका दार्चुलाका सीमापुल प्रत्येक विहान ७ बजे खुल्ने र साँझ ७ बजे बन्द हुने गरेका थिए ।

दार्चुलामा नेपाल र भारत जोड्ने हाल छ वटा सीमापुल सञ्चालनमा रहेका छन् । ब्यास गाउँपालिकाको वडा नं १ सीतापुल, वडा नं ५ को तिग्रम, महाकाली नगरपालिका वडा नं ४ को खलंगा, वडा नं ९ को दत्तु, मालिकार्जुन गाउँपालिका वडा नं ७ को जोलजिवि र लेकम गाउँपालिका वडा नं ३ को लाली सीमापुल सञ्चालनमा रहेका छन् ।