विद्युत विस्तारका लागि सहजिकरण गरिदिन प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन 

654

दार्चुला, चैत्र १५ गते । 


मालिकार्जुन गाउँपालिका वडानम्बर ४ हुनैनाथ औतालेकका केही बस्तीहरूमा अझै विद्युत विस्तार हुन सकेको छैन । केही बस्तीहरुमा २०७४ सालमा विद्युतिकरण गरिएको भएपनि केही बस्तीहरुमा अझै विद्युतिकरण हुन नसकेको भन्दै वडा सदस्य एबं नेकपा एमालेका जिल्ला कमिटी सदस्य शान्ति धामीले विद्युततिकरणका लागि सहजिकरण गरिदिन भन्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र दिनुभएको छ । 

औतालेकका हाडापानीगडाइजरका आठवटा घरधुरी विद्युत पोल र तारको अभावमा विगत ५ वर्ष देखि अन्धकारमा बस्न बाध्य भएको उहाँको भनाई छ । एउटै गाउँमा पनि कुनै वस्तीलाई ४ वर्ष अगाडि नै विद्युत लाइनमा जोडेर सेवा दिइएको भएपनि गाउँकै केहि घरधुरीले हाल सम्म विद्युत बाल्न नपाउनु चरम लापरवाही भएको जिल्ला कमिटी सदस्य धामीको भनाई छ । विद्युत विस्तारका लागि जनप्रतिनिधिको हैसियतले मालिकार्जुन गाउँपालिका वडानम्बर ४ ले समेत पटक पटक लिखित र मौखिक माग गरेको  भएता पनि त्यसलाई वेवास्ता गरिएको उहाँको गुनासो छ ।
साथै मालिकार्जुन गाउँपालिका वडानम्बर ४ कै ऐरिछानाको तल्लासैन, दुबाचौड ,सिराडमलबाब बस्तीमा समेत विद्युतीकरण नभएकोले तत्काल विद्युत विस्तारका लागि सहजिकरण गरिदिन ज्ञापन पत्रमा भनिएको छ ।
वडानम्बर ४ को उच्च भुभागमा रहेको ऐरिछाना बस्तीमा सोलार पम्पीङबाट खानेपानी सञ्चालनमा रहेकोले घाम नलागेको दिन खानेपानीको समस्या झेलिरहनुपर्नेे हुँदा विद्युतीय मटरबाट खानेपानी सञ्चालन गर्न ऐरिछानामा थप एक विद्युत ट्रान्सफर्मर समेत उपलब्ध गराइदिन सम्बन्धित कार्यालयलाई ताकेता गरिदिन सदस्य धामीले प्रमुख जिल्ला अधिकारी उपाध्यायलाई आग्रह गर्नुभएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी उपाध्यायले यस समस्याका लागि विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलालाई ताकेता गर्ने आश्वासन दिएको सदस्य धामीले जानकारी दिनुभयो । 

तपाईको प्रतिक्रिया दिनुहोस् !