विद्यालय खोज्दै व्यासका वडावासी

0
502
फाइल फोटोः तिंकर गाउँ

दार्चुला, साउन २२ गते ।
देशमा संघीय संरचनाअन्तर्गत स्थानीय तहको निर्माण भएसंगै साविकको व्यास गाउँ विकास समितिको सिंगो भूगोल र जनसंख्या व्यास गाउँपालिका वडा नम्बर १ मा परिणत भयो । २०७३ फागुनमा भएको स्थानीय तहको पुनर्संरचनाबाट साविक व्यास गाविसमा रहेका दुइटा विद्यालयहरु भने हराइरहेका छन् । व्यास गाउँपालिका वडा नम्बर १ को सिंगो भूगोल र वडावासी अहिले विद्यालयविहिन भएका छन् ।

व्यास गाउँपालिकाको वडा नम्बर १ मा छाङरु र तिंकर गरी दुइटा मात्रै गाउँ छन् । यी दुबै गाउँका वासिन्दाले सात दशकअघि नै विद्यालय स्थापना गरेका थिए । तर पछिल्लो स्थानीय तहको संरचनाले वडा नम्बर १ को भूगोलबाट विद्यालय नै हराएका छन् ।
हिउँदमा उच्च हिमपातका कारण हरेक वर्ष ६ महिना सदरमुकाम खलंगामा बसाइ सर्दैआएका व्यासवासीको विद्यालय खलंगामै अडकिएको छ । स्थानीय तहको संरचना बनेपछि त व्यासवासीले दुबै विद्यालयको स्वामित्व पनि गुमाउनुपरेको छ ।
आफ्ना पूर्खाहरुले दुःखकष्टले स्थापना गरेको विद्यालयबारे सोधिखोजी गर्न व्यासका वडावासी अहिले जुर्मुराएका छन् । सदरमुकाम खलंगाको बंगाबगरमा सञ्चालन भइरहेको कैलाशपति आधारभूत विद्यालय छाङरु र खलंगाको तिंकरखेडामा सञ्चालनमा रहेको मोती महिला संघ आधारभूत विद्यालय तिंकरको प्रशासनिक एवं व्यवस्थापकीय दायित्व हाल महाकाली नगरपालिकाले बहन गर्दैआएको छ ।
वडाअध्यक्षमा निर्वाचित भएदेखि व्यासका दुबै विद्यालयहरुको स्वामित्व र सञ्चालनमा व्यासवासीको भूमिका खोजिरहेको व्यास गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अशोक सिंह बोहराको भनाई छ । तत्कालिन अवस्थामा महाकाली नगरपालिका र व्यास गाउँपालिकाको नेतृत्वले समन्वय र सहयोग नगर्दा अहिलेसम्म व्यासका दुबै विद्यालय महाकाली नगरपालिकाको प्रशासनिक दायित्वमा रहेको उहाँले बताउनुभयो ।
मंसिर ४ गते वडा अध्यक्ष बोहराकै अगुवाइमा व्यासका वडावासीहरुको बैठक आयोजना गरी विद्यालयको सञ्चालनबारे गम्भीर छलफल गरिएको छ । वडा कार्यालयमा भएको छलफल र बैठकले साविक व्यास गाविसमा सञ्चालन हुँदैआएका कैलाशपति आधारभूत विद्यालय र मोती महिला संघ आधारभूत विद्यालयको स्वामित्व र सञ्चालन व्यास गाउँपालिकाबाट गर्नका लागि ठोस पहल गर्ने निर्णय गरेको छ ।
वडावासीको निर्णयका आधारमा छाङरु र तिंकरका विद्यालय व्यास गाउँपालिकालाई फिर्ता गर्न वडाअध्यक्ष बोहराले साउन १० गते महाकाली नगरपालिकामा निवेदन दिएका छन् । वडाअध्यक्ष बोहराको निवेदनमाथि सुनुवाई गर्दै महाकाली नगरपालिकाले यसबारे प्रक्रिया अघि बढाएको महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिरले बताउनुभयो ।
नगरप्रमुख चैसिर र प्रमुख प्रशासकीय अधिकृत नरवहादुर ठगुन्नाले नगरपालिकाअन्तर्गत शिक्षा तथा खेलकुद शाखालाई यसबारे आवश्यक समन्वय गरी सुझाव पेश गर्न आग्रह गरेका छन् । शिक्षा तथा खेलकुद शाखाले शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रसंग समन्वय गरेर सुझाव तयार गरिसकेको छ ।
महाकाली नगरपालिका र व्यास गाउँपालिका दुबै स्थानीय तहको कार्यपालिका बैठकले निर्णय गरी दुबै विद्यालय व्यास गाउँपालिकाअन्तर्गत रहने गरी सञ्चालन तथा व्यवस्थापन गर्न सकिने व्यहोराको सmुभाव दिइएको छ । दुबै स्थानीय तहको कार्यपालिका बैठकमा आवश्यक छलफल र निर्णय गरी विद्यालय सञ्चालन तथा व्यवस्थापनको विषय टुंग्याइने नगरप्रमुख चैसिरको भनाई छ ।
विद्यालयको सञ्चालन तथा व्यवस्थापनका विषयमा साउन १८ गते व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामी नेतृत्वको टोलीले नगरप्रमुख चैसिरसंग छलफल समेत गरेको छ । छलफलमा आपसी छलफल र समन्वय गरी केही दिनभित्रै विद्यालय सञ्चालन र व्यवस्थापनको विषय टुंग्याउने मौखिक निस्कर्ष निकालिएको व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले बताउनुभयो ।
‘सिंगो वडाको भूगोल र जनसंख्याबाट विद्यालयको संरचनाकै गायव भएको देखिन्छ, अब छिट्टै विद्यालयको सञ्चालन र व्यवस्थापनको जिम्मा व्यास गाउँपालिकाले लिन्छ’ गाउँपालिका अध्यक्ष धामीले भन्नुभयो । सदरमुकाम खलंगामा सञ्चालित यी दुबै विद्यालयको नियमित सञ्चालन भने खलंगाबाटै गरिने उहाँले बताउनुभयो । ‘अहिले सयौं विद्यार्थीहरु अध्ययन गरिरहेका छन्, विद्यालयको प्रशासनिक र व्यवस्थापनको दायित्व हामीले लिन्छौ, तर विद्यालय सञ्चालन खलंगाबाटै हुन्छ’ उहाँले भन्नुभयो ।
व्यासको भूगोलमा आवश्यकता हेरेर वालविकास कक्षा वा नयाँ विद्यालय कक्षा सञ्चालन गरिने गाउँपालिका अध्यक्ष धामीको भनाई छ । ‘वालवालिकाको संख्या हेरेर छाङरु र तिंकर दुबै गाउँमा शिक्षाको केही न केही संरचना हामी सञ्चालनमा ल्याउछौ’ उहाँले भन्नुभयो ।
व्यासको छाङरुमा २००८ सालमा पहिलो पटक विद्यालय स्थापना भएको थियो । सौका समुदायका पूर्खाहरुले धेरै मिहिनेत र पैसा खर्च गरेर विद्यालयको स्थापना तथा सञ्चालन गरेकोले पहिल्यैदेखि सञ्चालन हुँदैआएका दुबै विद्यालयमा व्यासका स्थानीयले आफ्नो स्वामित्व खोजेको साविक व्यास गाविसका पूर्वअध्यक्ष जहेन्द्रसिंह ऐतवालको भनाई छ । तिंकरमा २०१७ सालमा विद्यालय स्थापना गरिएको अभिलेख छ ।
स्थानीय तहको संरचना बनाउदा विद्यालयको संरचनाबारे कसैको पनि ध्यान नगएकोले प्राविधिक कारणले व्यासका विद्यालय महाकाली नगरपालिकामा पर्न गएको नेपाली काग्रेस दार्चुलाका सभापति एवं व्यासका स्थानीय वासिन्दा ललितसिंह बोहराको भनाई छ । व्यासको भूगोल र जनसंख्याको स्वामित्व रहेको विद्यालय व्यासकै जनतामाझ पुर्याउन वडावासीसंगै आफु पनि सक्रिय रहेको उहाँले बताउनुभयो ।
खलंगाको बंगाबगरमा सञ्चालन भइरहेको कैलाशपति आधारभूत विद्यालय छाङरुमा हाल शिशुकक्षादेखि ८ कक्षासम्म पढाई हुन्छ । यहाँ एक सय ८० विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक डम्मरवहादुर सिंहले बताउनुभयो । मोती महिला संघ आधारभूत विद्यालय तिंकरमा शिशुकक्षादेखि ५ कक्षासम्मको अध्यापन गराइन्छ । तिंकरको विद्यालयमा विद्यार्थी संख्या २ सय ७९ रहेको प्रधानाध्यापक चमक सिंह तिंकरीले बताउनुभयो ।
व्यासका स्थानीय वासिन्दाको कुन्चा सरेसंगै छाङरु र तिंकरको स्कुल पनि ६ महिना खलंगा र ६ महिना व्यासमा सञ्चालन हुँदैआएका थिए । पछिल्लो समय २०६० सालदेखि तिंकर र २०६२ सालदेखि छाङरुको विद्यालय वर्षैभरी खलंगाबाट सञ्चालन हुँदैआएको छ । विद्यालय जाने उमेरका वालवालिकाहरु व्यासमा नजाने र खलंगामै बस्ने भएकोले वर्षैभरी खलंगाबाट विद्यालय सञ्चालन भइरहेको मोती महिला संघ आधारभूत विद्यालयका प्रअ चमक सिंह तिंकरीले बताउनुभयो ।
व्यासको सिंगो वडा विद्यालयविहिन रहेको विषयमा दुई वर्षअघि पनि जिल्लास्तरमा छलफल भएको थियो । नेपालको नयाँ नक्सा जारी भएको बेला केपी ओली नेतृत्वको सरकारले व्यासमा विद्यालय सञ्चालनको अवस्थाबारे चाँसो राखेको थियो । त्यतिबेला शिक्षा मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्राचार गरेर साविकका विद्यालय व्यासमा सञ्चालन नसक्नुको कारण र अवस्थाबारे जानकारी मागेको थियो । साथै, व्यासमा विद्यालय सञ्चालन गर्नका लागि आवश्यक समन्वय र पहल गर्न भनिएको थियो ।
आर्थिक वर्ष २०७७÷७८ मा सुदूरपश्चिम प्रदेश सरकारले छाङरुमा दुई कोठे पक्की विद्यालय भवन समेत निर्माण गरिदिएको छ । साविकको कैलाशपति आधारभूत विद्यालय भवन परिसरमै नयाँ भवन बनाइएको छ । छाङरुमा दुइ कोठे विद्यालय भवन निर्माण गरिए पनि विद्यालय सञ्चालन भने हुन सकेको छैन ।
तिंकरमा विद्यालय भवन जीर्ण छ । विद्यार्थी संख्या न्युन हुने भएकोले छाङरु र तिंकरमा विद्यालय सञ्चालन गर्न नसकिएको वडाअध्यक्ष अशोक सिंह बोहरा बताउनुहुन्छ । तर, अब दुबै ठाउँमा शिशुकक्षा सञ्चालनका लागि वालवालिकाको संख्या उपलब्ध हुने उहाँको भनाई छ ।
कैलाशपति आधारभूत विद्यालय र मोती महिला संघ आधारभूत विद्यालयको स्वामित्व व्यास गाउँपालिकामा रहे पनि खलंगाबाटै विद्यालय सञ्चालन गर्नुको विकल्प नभएको गाउँपालिका अध्यक्ष मंगल सिंह धामीको भनाई छ । ‘खलंगामा विद्यालय सञ्चालन गरिदा अन्य भूगोल, समुदाय र क्षेत्रका वालवालिकाले पनि विद्यालय शिक्षा अध्ययनको सुविधा पाएका छन्’ गाउँपालिका अध्यक्ष धामीले भन्नुभयो ।