विद्यार्थीहरुको स्वास्थ्य परिक्षणका लागि विद्यालयमै शिविर

0
396
फाइल फोटो

दार्चुला, फागुन १८ गते ।

विद्यार्थीहरुको स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य कार्यालय दार्चुलाले विद्यालयमै शिविर सञ्चालन गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको कान, दाँत र आँखाको चेकजाँच तथा उपचारका लागि दार्चुला जिल्लाभरिका १८ विद्यालयमा स्वास्थ्य शिविर सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।

दार्चुला जिल्लाका ९ वटा स्थानिय तहहरुका दुई/दुई वटा विद्यालयहरुमा यो शिविर शिविर सञ्चालन गरिने छ । सम्बन्धित स्थानिय तह संगको समन्वयमा बढी विद्यार्थी संख्या भएका विद्यालयहरु छनोट गरि स्वास्थ्य शिविर सञ्चालन गरिने कार्कीले बताउनुभयो ।

हाल ब्यास गाउँपालिका र दुँहु गाउँपालिकाको विद्यालयहरुमा स्वास्थ्य शिविर सम्पन्न भएको छ भने अन्य स्थानिय तहका विद्यालयमा शिविर सञ्चालन हुन बाकि छ । दुँहु गाउँपालिकाको धारीपाटा मावि धारीमा फागुन १२ गते र गौरीलमाण्डौ मावि हिकिलामा १३ गते शिविर सम्पन्न भएको छ । त्यसैगरि ब्यास गाउँपालिकाको हिमालय मावि हुतिमा फागुन १५ गते र सम्पाल मावि सुन्सेरामा १६ गते शिविर सम्पन्न गरिएको कार्कीले बताउनुभयो । यी चार वटा विद्यालयहरुका झण्डै १४ सय विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको छ । जस मध्ये आखा परिक्षण सबैको गरिएको र कान तथा दाँतको परिक्षण समस्या भएका विद्यार्थीहरुमा गरिएको कार्कीले बताउनुभयो

प्रत्येक विद्यालयमा दाँत र कान सम्बन्धि समस्या भएका ३०/४० जना विद्यार्थी भेटिएका छन् । उनीहरुलाई औषधि वितरण गरिएको उहाँले बताउनुभयो । आँखा परिक्षणबाट समस्या देखिएका विद्यार्थीहरुलाई आखाँ उपचार केन्द्र दार्चुलाको समन्वयमा चस्मा वितरण गरिने उहाँले बताउनुभयो ।

विद्यार्थीहरुको आँखा, कान र दाँत परिक्षणका लागि स्वास्थ्य कार्यालय दार्चुलाबाट तथा आखाँ उपचार केन्द्रबाट २ जनाको टोली आवस्यक परिक्षण सामग्री तथा औषधि बोकेर विद्यालयमा पुगेको हो ।

आँखा, दात र कानको सरसफाई र हेरचाह गर्न विद्यार्थीहरुलाई जानकारी दिने तथा समस्या भएकाहरुको उपचार तथा परामर्शका लागि शिविरको सञ्चालन गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी कार्कीले बताउनुभयो ।
विद्यालयमा विद्यार्थीहरु संगै शिक्षक तथा शिविरमा पुगेका स्थानियहरुको समेत स्वास्थ्य परिक्षण गरिएको छ । बाँकी रहेका सात वटा स्थानिय तहका विद्यालयमा केही दिनमा शिविर सञ्चालन गरिने उहाँले बताउनुभएको छ ।