विद्यार्थीहरुका लागि घोषणा गरिएको राहत ब्यास र शैल्यशिखरमा वितरणमा ढिलाई

0
1145

बिरा दत्त भट्ट, दार्चुला ।
कोरोनाकहर र लकडाउनका कारण समस्यामा परेका जिल्ला बाहिर रहेका विद्यार्थीहरुलाई राहत दिने घोषणा गरेका दार्चुलाका ५ स्थानियतहहरु मध्ये ब्यास गाउँपालिका र शैल्यशिखर नगरपालिकाले राहत वितरणमा ढिलाई गरेका छन् ।
जिल्ला बाहिर रहेका विद्यार्थीहरुलाई शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका,अपीहिमाल गाउँपालिका र ब्यास गाउँपालिकाले नगद राहत दिने घोषणा गरेका थिए ।
जेठको पहिलो साता नै राहत दिने निर्णय गरि जिल्ला बाहिर रहेका विद्यार्थीहरुको तथ्याङ्क संकलन गरेका शैल्यशिखर नगरपालिका र ब्यास गाउँपालिकले हाल सम्म राहत वितरण गर्न सकेका छैन्न ।
मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र अपीहिमाल गाउँपालिकाले भने राहत वितरण गरिसकेको छ ।
ब्यास गाउँपालिकाले राहतका लागी विद्यार्थीहरुलाई फारम भर्न गत जेठ ८ गते नै सुचना प्रकाशन गरेको थियो ।
६० जना भन्दा बढि विद्यार्थीहरुको तथ्याङ्क संकलन भएको भएपनि विचमा विद्यार्थीहरु काठमाण्डौबाट गाउँघर आएकाले डाटा पुनः अद्यावधीक गरि वितरण गरिने ब्यास गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेखर चन्द्र ओझाले जानाकरी दिएका छन् । शैल्यशिखर नगरपालिकामा पनि २ सय भन्दा बढि जिल्ला बाहिर रहेका विद्यार्थीहरुको तथ्याङ्क संकलन भएको भएपनि विचमा केहि विद्यार्थी जिल्ला भित्रीएकाले राहत वितरणमा ढिलाई भएको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र बहादुर विष्टको भनाई छ ।
जिल्ला भित्रीएका र जिल्ला बाहिर रहेका विद्यार्थीहरु पहिचान गरि एक हप्ता भित्र राहत वितरण गर्ने नगरपालिकाको तयारी रहेको उहाँको भनाई छ ।
घोषणा गरेको राहत समयमै दिन नसकेकोले आफुहरु समस्यामा परेको ब्यास गाउँपालिका वडा नं ४ घर भई हाल काठमाण्डौमा रहेका विद्यार्थी नविन भट्टको भनाई छ ।
‘फारम भरेको केहि दिनमा दिन्छु भनेका थिए, अहिले सम्म ब्यास गाउँपालिकाले राहत दिन सकेको छैन, आफुले घोषणा गरेर दिन्छु भन्दा पनि हाल नदिनुले घोषणमा मात्रै राहत सिमीत रहन्छ जस्तो छ, ’ विद्यार्थी नविन भट्टले भने ।
फोन गरेमा भोली दिन्छौ पर्सी दिन्छौ भनेर विगत १५ दिनदेखि टारिरहेको उहाँको गुनासो छ ।

मार्मा, अपीहिमाल र नौगाडले वितरण गरिसके राहत

मार्मा गाउँपालिका, अपीहिमाल गाउँपालिका र नौगाड गाउँपालिकाले भने विद्यार्थीहरुका लागी घोषणा गरको राहत वितरण गरिसकेका छन् ।
प्रति विद्यार्थी ३ हजारका दरले राहत वितरण गरिसकेको सम्बन्धीत गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरुले जानकारी दिएका छन् ।