विद्यार्थीलाई निशुल्क प्रश्नपत्र र उत्तरपुस्तिका

0
294

दार्चुला, चैत्र १० गते ।
दुहुँ गाउँपालिकाले गाउँपालिकाभरीका सबै सामुदायिक विद्यालयमा निशुल्क प्रश्नपत्र र उत्तरपुस्तिका उपलब्ध गराएको छ । कक्षा १० सम्मको विद्यालय शिक्षालाई पूर्णरुपमा निशुल्क बनाउने गाउँपालिकाले घोषणाअनुसार परीक्षा सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
चैत्र ७ देखि सुरु भएको वार्षिक परीक्षामा सबै विद्यालयमा गाउँपालिकाले प्रश्नपत्र र उत्तरपुस्तिका उपलब्ध गराएको शिक्षा तथा खेलकुद शाखा संयोजक लोकेन्द्रवहादुर बमले बताउनुभयो । ‘गाउँपालिकाभरीको परीक्षा प्रणालीमा एकरुपता ल्याउने प्रयास गरिएको छ’ उहाँले भन्नुभयो ।
‘वालविकास कक्षादेखि कक्षा ५ का विद्यार्थीका लागि पेन्सिल, इरेजर र कटरसमेत उपलब्ध गराएका छौ’ शिक्षा संयोजक बमले भन्नुभयो । कक्षा ९ सम्मका सबै कक्षाहरुको प्रश्नपत्रहरु पालिकास्तरमा निर्माण गरी वितरण गरिएको उहाँले बताउनुभयो ।
गाउपालिकाले यसै शैक्षिक सत्रदेखि कक्षा १० सम्मको विद्यालय शिक्षामा सबै प्रकारको शुल्क उठाउन रोक लगाएको छ । विद्यार्थी र तिनका अभिभावकबाट मासिक शुल्क, परीक्षा शुल्क लगायत अन्य सबै प्रकारका शुल्क उठाउन रोक लगाइएको शिक्षा तथा खेलकुद शाखाले जनाएको छ ।
कक्षा ४ देखि ९ सम्मको परीक्षा सञ्चालन, उत्तरपुस्तिका जाँच र नतिजा प्रकाशनको कार्य गाउँपालिका शिक्षा शाखाको संयोजनमा भइरहेको छ । ‘गाउँपालिकाभरीका सबै विद्यालयको परीक्षा सञ्चालन, व्यवस्थापनमा नयाँ अभ्यासको थालनी गरेका छौ’ शिक्षा संयोजक बमले भन्नुभयो ।
दुहुँ गाउँपालिकामा कक्षा १२ सम्म सञ्चालित दुइटा मावि, कक्षा १० सम्म सञ्चालित ३ मावि र कक्षा ८ सम्म सञ्चालित दुइटा आधारभूत विद्यालय छन् । कक्षा ५ सम्म सञ्चालित आधारभूत विद्यालयको संख्या १२ छ ।
सबै कक्षा र विद्यालयमा परीक्षा व्यवस्थापनका लागि गाउँपालिकाबाट बजेट विनियोजन गरिएको छ । गाउँपालिकाभरी कक्षा ५ सम्मको आधारभूतमा ११ जना, कक्षा ८ सम्मको आधारभूत तहमा १३ जना र माध्यमिक तहमा ८ जना शिक्षक सहजकर्ता गाउँपालिकाले नियुक्त गरेको छ । निशुल्क र गुणस्तरीय शिक्षाका लागि चालू वर्ष गाउँपालिकाले १ करोड ५२ लाख रुपैयाँ बजेट विनियोजन गरेको शिक्षा शाखाले जनाएको छ ।
गत मंसिरमा सञ्चालित अद्र्ध वार्षिक परीक्षामा पनि गाउँपालिकाले सबै विद्यालयमा निशुल्क प्रश्नपत्र र उत्तरपुस्तिका उपलब्ध गराएको शिक्षा शाखा संयोजक लोकेन्द्र वहादुर बमले बताउनुभयो । वालवालिका कक्षादेखि कक्षा ९ सम्मको वार्षिक परीक्षामा २ हजार ९९ विद्यार्थी सहभागी भइरहेका छन् ।