विजयपुरभीरमा सडक खोल्न समय लाग्ने

0
2299

दार्चुला, भदौ १५ गते ।
दार्चुला तिंकर सडक योजनाअन्तर्गत दुहुँ गाँउपालिकाको वडा नम्बर १ विजयपुरभीरमा सडकको ट्र्याक खोल्न समय लाग्ने भएको छ । कठिन भौगोलिक अवस्था र भिरालो चट्टान भएकाले विजयपुरका सडक खोल्न वढी समय र विस्फोटक पदार्थ खर्चिनुपर्ने भएको हो ।
पछिल्लो समय तिंकर सडक निर्माणका लागि जिलेटिनको व्यवस्था गरिए पनि अहिलेसम्म एकपटक मात्रै जिलेटिनको प्रयोग भएको छ । विजयपुरभीरमा जिलेटिनका लागि प्वाल तयार गर्न कठिनाइ भएको निर्माण व्यवसायी जयवहादुर पालले बताउनुभयो । वर्षा भइरहेको र भिरालो चट्टान भएकाले जिलेटिनका लागि प्वाल तयार गर्नमा ढिलाइ भएको उहाँको भनाई छ ।
विजयपुरमा ‘भर्टिकल’ चट्टान भएकाले जिलेटिन प्रयोगमा समस्या भइरहेको दार्चुला तिंकर सडक योजनाका इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो । ‘भर्टिकल चट्टानमा जिलेटिनका लागि प्वाल तयार गर्नु चुनौतिपूर्ण छ’ उहाँले भन्नुभयो । सडक खन्ने मेसिन स्काइभेटरको मुखमा चढेर कम्मरमा रसी बाधी प्वाल तयार गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।
भदौ ३ गते विजयपुरभीरमा पहिलो पटक जिलेटिन प्रयोग गर्दा भिरालो ठाँउमा बनाइएका १६ वटा प्वालमा जिलेटिन पडकाउन नसकिएको इन्जिनियर रैखोलाको भनाई छ ।
नेपाली सेनाको सुरक्षा व्यवस्थापनमा ३६ किलोग्राम जिलेटिन विस्फोटन गर्न लगिएकोमा ३३ किलोग्राममात्रै प्रयोग भएको थियो । विजयपुरभीरमा ६० मिटर लामो सडकको ट्र्याक खोल्न बाँकी रहेको दार्चुला तिंकर सडक योजना प्रमुख रामचन्द्र साहले बताउनुभयो ।
भदौ ३ गतेको विस्फोटनले केही मिटर चट्टान फुटेको छ । जिलेटिनले फुटाइएका ढुंगाहरु सफा भइरहेको निर्माण व्यवसायी जयवहादुर पालले बताउनुभयो । कठिन भूगोल भएकाले जिलेटिनका लागि प्वाल तयार गर्न र जिलेटिन प्रयोग गर्न ढिलाइ भइरहेको पालको भनाई छ ।
एक किलोग्राम जिलेटिन विस्फोट गर्दा बढीमा ४ घनमिटर क्षेत्रको चट्टान फुट्ने इन्जिनियर दिनेश रैखोलाले बताउनुभयो । विजयपुरमा कडा र भिरालो चटन भएकाले धेरैपटक जिलेटिन पडकाउनुपर्ने उहाँको बुझाई छ । ‘कम्तिमा ७÷८ पटक जिलेटिन पडकाएपछि मात्रै विजयपुरभीरमा ट्र्याक खुल्छ’ इन्जिनियर रैखोलाले भन्नुभयो ।
ठेकेदारमार्फत जिलेटिन प्रयोग गरेर सडकको ट्र्याक खोल्नुको विकल्प नभएको दार्चुला तिंकर सडक योजना प्रमुख रामचन्द्र साह बताउनुहुन्छ । तिंकर सडकमा ७ मिटर चौडाई चाहिने भए पनि चटन भएको उक्त क्षेत्रमा ४–५ मिटर चौडा सडकको ट्र्याक खोलिने उहाँले बताउनुभयो । सडकको स्तरवृद्धि गरिदा भने सडकको चौडाई ७ मिटर पुर्याइने उहाँको भनाई छ ।
पिपलचौरीको विजयपुर भीरमा ट्र्याक नखोलिएसम्म अगाडिको सडक निर्माणले पनि गति पाउने अवस्था छैन । विजयपुर भीरभन्दा अगाडिको सडक निर्माणका लागि मेसिन र जिलेटिन प्रयोगमा ल्याउन समस्या रहेको आयोजना प्रमुख रामचन्द्र साहले बताउनुभयो । जिलेटिन प्रयोगको अहिलेकै गति दोहरिदा विजयपुरभीरमा सडक खोल्न महिनौ लाग्नसक्ने अनुमान छ ।