‘विकासमा प्रचार होइन प्रतिस्पर्धा गरौ’— प्रदेशसभा सदस्य बोहरा

0
557
फाइल फोटो

दार्चुला, पुष २५ गते ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य गेल्बु सिंह बोहराले विकास निर्माणमा श्रेय लिने होडबाजी नगरी प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् । आइतवार दार्चुला सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य बोहराले यस्तो बताएका हुन् ।

दार्चुला जिल्लाको विकास निर्माणमा नेता विशेषको पहल र योगदान भइरहेको चर्चा चलिरहेकोमा उहाँले असन्तुष्टि पोखेका छन् । केही दिनदेखि दार्चुला—टिंकर सडकसहित महाकाली कोरिडोरअन्तर्गत ३० किलोमिटर सडक खण्डको कालोपत्रे निर्माणका लागि करिब ४ अर्ब बजेट विनियोजन गरिएकोमा श्रेय लिने होडबाजी भइरहेको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको विदाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य बोहराले विकास निर्माणमा नेता विशेषको प्रचार नगरी सकारात्मक प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् ।
केही दिनअघि मात्रै वर्तमान कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री दिलेन्द्रप्रसाद बडूको पहलमा दार्चुला—टिंकर सडकसहित महाकाली कोरिडोरको सडक कालोपत्रे निर्माण कार्यमा बजेट विनियोजन भएको भन्दै प्रचार गरिएको थियो ।
केपी ओली नेतृत्वको सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका एमाले नेता गणेश सिंह ठगुन्नाले मन्त्री पदमा हुँदा सडक कालोपत्रे निर्माणका लागि बजेट छुट्याउन पहल गरिएको कागजपत्र पनि सार्वजनिक गरिएका छन् ।
सडक कालोपत्रेका लागि बजेट सुनिश्चिता सम्बन्धि भौतिक योजना तथा यातायात मन्त्रालय र राष्ट्रिय योजना आयोगका पत्रहरु सामाजिक सञ्जालमा सार्वजनिक गरिएका छन् । कानुन मन्त्री बडूको पहलमा बजेट सुनिश्चिता भएको प्रचार गरिएपछि एमाले समर्थकहरुले सोही बजेट विनियोजनका लागि केपी ओली सरकारको पाला भएका पहल, पत्राचार र टिप्पणी आदेशहरु सार्वजनिक गरेका छन् ।
राजनीतिक रुपमा श्रेय लिनका लागि मात्रै प्रचार नगरी सकारात्मक योगदान पुर्याउन प्रदेशसभा सदस्य गेल्बु सिंह बोहराले आग्रह गरेका छन् । ‘वर्तमान कानुनमन्त्री ज्यूले चाँडो सडक निर्माणका लागि पहल गरी योगदान गर्नुपर्छ’ उहाँले भन्नुभयो— ‘बजेटको सुनिश्चिता गर्न अघिल्लो सरकारको पालादेखि नै गृहकार्य भएको हो, बजेट आयो, खुशीको कुरा । अब चाँडो सडक निर्माणका लागि पहल र योगदान गरौं ।’
रमेश लेखक भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका बेला २०७४ सालमा आफुले दार्चुला उद्योग वाणिज्य संघको प्रतिनिधिको रुपमा दार्चुला—टिंकर सडकलाई महाकाली कोरिडोरमा नगाभ्न आग्रह गरेको बोहराले बताउनुभयो । ‘महाकाली कोरिडोरमा दार्चुला—टिंकर सडक गाभिदा खलंगाभन्दा माथिको सडक निर्माण अलपत्र परेको छ, यसलाई सुधार गरेर छुट्टै योजना बनाउनुपर्छ’ व्यासक्षेत्रका स्थायी वासिन्दा समेत रहनुभएका प्रदेशसभा बोहराले भन्नुभयो ।
वर्तमान कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले पनि केपी ओली सरकारको समयदेखि दार्चुला—टिंकर सडकलाई महाकाली कोरिडोरबाट अलग गर्नुपर्ने आवाज उठाउदै आएका छन् । अहिले सरकारमै आफु सहभागी भएकाले दार्चुला—टिंकर सडकलाई महाकाली कोरिडोरबाट अलग गर्न कानुनमन्त्री बडूलाई प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराले आग्रह गरेका छन् ।
प्रदेशसभा सदस्य बोहराले नेपाली सेनाद्वारा निर्माण गरिन लागेको दार्चुला—टिंकर सडक निर्माणको अवस्थाबारे गम्भीर रुपमा छलफल गर्नुपर्ने बताएका छन् । प्रचारका लागि नभई परिणामका लागि राजनीतिक प्रतिस्पर्धा हुन सकेमा दार्चुलाको विकास निर्माणमा सकारात्मक योगदान पुग्ने उहाँले भनाई छ ।