वातानुकूलित कोठामा रोपाइँ उद्घाटन नहोस्

0
772

सम्पादकीय

धान दिवशको अवसरमा गमलामा रोपाइँ गर्ने, सहयोगि लिएर सुटबुटमा ठाँटिएर खेतमा जाने र एकदुई तुना रोपेर फोटो खिचाउने, ब्यानर पढेर धान दिवशको उद्घाटन गर्ने जस्ता अशोभनीय कामदेखि यसै अवसरमा महिलामाथि हातपात गर्ने, हिलो छ्याप्ने निउमा सम्वेनशील अङ्ग छुने जस्ता अपराधजन्य घटनाहरु पनि धान दिवसको अवसरमा दोहोरिने गरेका छन् ।

बिगतमा कृषिमन्त्री समेत यस्तो कार्यमा संलग्न भएका उदाहरणहरु छन् । धान दिवशको अवसरमा कलाकार र मोडेलहरुको चर्तिकला अझ सतही बनेको देख्न सकिन्छ । धान दिवसको अवसरमा अस्वभाविक लुगाकपडामा हिलो छ्याप्दै अङ्ग प्रदर्शन गर्ने होड नै हुन्छ । हामी ‘यो वर्ष यस्ता अशोभनीयदेखि अपराधजन्य घटनाहरु नदोहोरिऊन्’ मात्रै भन्न सक्छौं । समाजलाई सहज पाच्य नहुने कला प्रदर्शन गर्नु पनि एककिसिमले अपराधजन्य कार्य नै हो । गमलामा रोपाइँ गर्ने जस्ता काम गर्ने नेता तथा कर्मचारीहरुले समग्र कृषि क्षेत्रकै उपहास गरेका छन् । यस्ता कार्यक्रमहरु सरकारी आयोजनामा हुने भएकाले सरकारले यस्ता अवाञ्छित कामहरुलाई तत्काल रोक्नु पर्दछ । नेता कर्मचारीहरुले गमलामा रोपाइँ नगरे, ब्यान पढेर उद्घाटन नगरे, सुटबुटमा सहयोगी लिएर रोपाइँको ढोङ नगरे कृषकहरुको रोपाइँ रोकिने होइन बरु यस्ता कार्यले कृषकहरुको दुःखमा नुनचुक छर्कने काम गर्दछ । कृषि कार्यलाई उपहास गर्ने यस्ता कार्यहरु गर्न पूर्ण प्रतिबन्ध लगाईनु पर्दछ । नेता र कर्मचारीहरुले उद्घाटन नगरी नहुने हो भने कुलो नभएका खेतमा कुलो बनाएर त्यसको उद्घाटन गरियोस्, मल नपुगेको ठाउँमा कृषकहरुले बेलैमा मल पाउने गरी मल भण्डारण गरेर त्यसको उद्घाटन गरियोस्, कृषकहरुलाई आधुनिक कृषि औजारहरु अनुदान दिएर उद्घाटन गरियोस्, कृषकहरुले लिएको ऋण मिनाहा गरेर रोपाइँको उद्घाटन गरियोस्, धानको उचित मूल्य निर्धारण गरेर कृषिकको धान खरिद गर्ने धान खरिद केन्द्रको स्थापना गरी यसको उद्घाटन गरियोस्, गतबिगतमा धान बेचेको रकम नपाएका कृषकहरुलाई उक्त रकम उपलब्ध गराएर उद्घाटन गरियोस् तर वातानुकूलित कोठाहरुमा ब्यानर अनावरण गरेर, गमलामा रोपाइँ गरेर धान दिवशको उद्घाटन नगरियोस् ।
कृषकहरुलाई हौस्याउने र उनीहरुका दुःखमा थोरै भए पनि मलहम लगाउने गरेर स्थानीय सरकारहरुले केही कार्यक्रम ल्याएको देखिन्छ । कृषकहरुलाई सहज निब्र्याजी ऋण उपलब्ध गराउने, सस्तो व्याजदरमा स्थानीय कृषि सहकारीमार्फत ऋण उपलब्ध गराउने, स्थानीय स्तरमा भण्डारण कक्ष निर्माण गर्ने, कृषकको उत्पादन सोझै स्थानीय तहले खरिद गरेर बिक्रि गर्ने, बजार व्यवस्थापन गर्ने जस्ता कामहरु सुरु गरिएको छ । महाकाली नगरपालिकाको कृषक पेन्सन कार्यक्रम र शैल्यशिखर नगरपालिकाको सुनको कोदालो कार्यक्रमलाई पनि चाँसोका साथ हेरिएको छ । यस्ता कार्यक्रमहरुले वास्तविक कृषकहरुलाई प्रोत्साहन गर्ने हुन् भने यी कार्यक्रमहरुलाई प्रचारबाजीका रुपमा मात्रै हेरिनु हुँदैन ।