वस दुर्घटनाका धेरै कारण

0
2473

दार्चुला, मंसिर ७ गते ।
शुक्रवार मालिकार्जुन गाँउपालिकाको वडा नम्बर ३ तेर्छालेकमा भएको वस दुर्घटनाका कारण धेरै देखिएका छन् । मालिकार्जुन मन्दिरको जात्राबाट फर्किदै गरेको म १ ख ४३६ नम्बर मिनिवस दुर्घटना हुनुमा आधा दर्जनभन्दा बढी कारण देखिएका छन् ।
करिब दुई दशकसम्म महेन्द्रनगरदेखि धनगढीसम्मको रुपमा सञ्चालन गरेको मिनिवस केही महिनाअघि दार्चुला ल्याइएको थियो । पवनदूत यातायातमा आवद्ध वसलाई करिब एक वर्षअघि नै समितिबाट हटाइएको छ । पुरानो भएका कारण हटाइएको मिनिवसलाई दार्चुला ल्याएर सञ्चालन गरिएको थियो । महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुका हरिशसिह चैसिरले खलंगादेखि मेलखेतसम्मको सडक खण्डमा वस सञ्चालन गरेका थिए ।
करिब एक महिनाअघि प्रहरीले मिनिवसको रुट इजाजत नभएको र गाडीको अवस्था ठिक नभएको भन्दै नियन्त्रणमा लिएको थियो । वस सञ्चालक हरिशसिह चैसिरले रुट इजाजत बनाएर ल्याएपछि प्रहरीले वस छोडेको डिएसपी नवराज अधिकारीले बताउनुभयो ।
शुक्रवार विहानको दुर्घटनाको प्रकृति हेर्दा पुरानो र थोत्रो वस दुर्घटनाको प्रमुख कारण देखिन्छ । सडक छेउको ढुंगामा वस ठोकिएको र गति नियन्त्रक (एक्सलेटर) धेरै दबाएका कारण वस पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । पुरानो र थोत्रो वस भएकाले सडक छेउमै वसका नटबोल्ड र सिटहरु खुसेका थिए । वसभित्रका यात्रुहरु सडक नजिकै पल्टिएकाले ठूलो मानवीय क्षति टरेको घटनास्थल पुगेका प्रत्यक्षदर्शी बताउँछन् ।
मिनिवस दुर्घटनाको अर्को कारण वसमालिकको लापरवाही देखिएको छ । वसचालकसंग वसको चावी थियो तर वसमालिक चैसिरले पेचकसले नै गाडी स्टार्ट गरी आफैले चलाएका थिए । वसचालक दुर्घटना हुँदा गाडीमा नभएको घटनास्थल पुगेका व्यक्तिहरुले बताएका छन् । चैसिरले रात्री जात्राको बेला रक्सी र गाजासेवन गरेको समेत चर्चा छ ।
अर्को ट्रिप लगाएर थप यात्रु ओसार्ने लोभमा उच्चगतिमा वस चलाएको अनुमान पनि छ । वसभित्र यात्रुको संख्या पनि धेरै थियो । वसको ग्यालरीमै मान्छे भरिएपछि आफुहरुले उक्त वस नचढेको केही यात्रुले बताएका छन् ।
वस चलाइरहेका वसमालिक चैसिर निदाएको हुनसक्ने अनुमान पनि छ । घटनास्थल रहेको सडकक्षेत्रमा तुषारो पर्ने भएकाले चिप्लो सडकका कारण पनि दुर्घटना भएको अनुमान छ । घटनालगत्तै वसका मालिक हरिशसिह चैसिर फरार भएका छन् ।